पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा विद्यालय नै बन्द भएपछि बालबालिकालाई पढाउन अभिभावक भारत गएर बस्न बाध्य छन्।
इलाम– सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छिन्। “भारतको माने भञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु,” उनले भनिन्।
सामुदायिक विद्यालय बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन्। भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ।
पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट पढाउन भारतीय क्षेत्रमा अभिभावक गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताए।
जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको आठ वर्ष भयो। कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको उक्त विद्यालय विद्यार्थी अभावका नाममा २०७२ सालमा बन्द भएको थियो। “सीमा क्षेत्रका धेरै बालबालिकालाई भारतीय विद्यालयमा पढ्न पठाउन थालेपछि यहाँका विद्यालयमा विद्यार्थी अभाव भयो, उक्त विद्यालय ८० जनासम्म बालबालिका अध्ययन गर्न आउने गर्थे। त्यसपछि उक्त विद्यालय स्थापनाको कुनै पहल भएको छैन”, उनले भने।
अहिले यस क्षेत्रबाट मात्रै करिब १५ जना बालबालिका माने भञ्ज्याङको रिब्स विद्यालयमा पढ्छन्। महिनाको १५ देखि १८ हजार भारु खर्च हुने गरेको माने भञ्ज्याङमा कोठा लिएर नानी पढाउन बसेकी डोमा शेर्पाले बताइन्। “आफ्नै देशमा बच्चा पढाउन पाएको भए सहज हुन्थ्यो। विद्यालय छैन। त्यसैले यता आउन बाध्य भएँ,” उनले भनिन्।
जौबारीको मात्रै होइन, माइजोगमाई–२ को मेग्मामा रहेको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, सन्दकपुर–५ को मजुवामा रहेको अर्को प्राथमिक विद्यालय बन्द भइसकेको राष्ट्रिय प्रावि जौबारीका पूर्वप्रधानाध्यापक पासाङछिरिङ शेर्पाले जानकारी दिए। जसका कारण उक्त क्षेत्रका नानीबाबुलाई अध्ययनका लागि नजिकैका भारतीय बजार लैजानुपरेको उनले सुनाए।
लेकाली क्षेत्रमा विद्यालय नहुँदा जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला, गैरीबासलगायत गाउँका सबै बालबालिका भारतीय विद्यालय लैजानुपरेको छ। सीमाक्षेत्रका कतिपय बालबालिका घरबाटै धाएर विद्यालय जाने गरेका हुन्। कतिपयको भने पढ्नका लागि महँगो शुल्क र अभिभावकसहित भारतीय बजारमा बास हुने गरेको छ। यहाँ लेकाली क्षेत्र भएका कारण पातलो बस्ती र जनघनत्व पनि कम छ। इलामको जौबारी, मेग्मा, कालपोखरीलगायत धेरै स्थानका सामुदायिक विद्यालय विद्यार्थी अभावमा बन्द भइसकेका छन्।
जौबारीका थुक्तेन लामा भन्छन्– “नेपालतर्फ विद्यालय छैन, नानीहरूलाई जति महँगो भए पनि पढाउनु त पर्छ नि, यो सीमावासीको रहरभन्दा पनि बाध्यता हो।”
यसरी विद्यार्थी भारत लैजाँदा पैसा त खर्च हुन्छ नै नेपालको राष्ट्रियता, स्वाभिमानजस्ता विषयसमेत बालबालिकाले थाहा नपाउने गरेको शेर्पाको भनाइ छ। बन्द भएका विद्यालय जीर्ण बनिसकेका छन्। जौबारीको राष्ट्रिय प्राविमा भने केही समयअघि सशस्त्र प्रहरी बसेको थियो।
उक्त विद्यालयमा बसेर सशस्त्रले विद्यालय नजिकै आफ्नो भवन निर्माण गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
