नेपाली बैंकलाई कुनै हालतमा डुब्न दिँदैनौँ : गभर्नर

गभर्नर अधिकारीले राष्ट्र बैंकले लिएका नीति बैंकिङ क्षेत्रलाई बलियो बनाउने किसिमका रहेको भन्दै पारदर्शी रूपमा काम गरिरहेका बैंक तथा वित्तीय संस्थालाई डुब्न नदिने बताए।

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंकहरू डुब्ने अवस्थामा नरहेको दाबी गरेका छन्। 

सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तरक्रियामा गभर्नर अधिकारीले राष्ट्र बैंकले आफूले नियमन र अनुगमन गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई कुनै हालतमा पनि डुब्न नदिने बताएका हुन्।

गभर्नर अधिकारीले राष्ट्र बैंकले लिएका नीति बैंकिङ क्षेत्रलाई बलियो बनाउने किसिमका रहेको भन्दै पारदर्शी रूपमा काम गरिरहेका बैंक तथा वित्तीय संस्थालाई डुब्न नदिने बताए। “साना–साना संस्था त्यो अवस्थामा आए भने पनि तिनको नियमन गरी सुधार गर्ने राष्ट्र बैंकसँग मेकानिजम छ। बैंक डुब्ने अवस्थामा पुगे पनि बचतकर्तालाई सुरक्षित गर्ने मेकानिजम पनि छ,” उनले भने, “राष्ट्र बैंकले नियमन र अनुगमन गरेका बैंक वित्तीय संस्थाको बचत कुनै पनि हालतमा डुब्ने अवस्था आउने दिने छैनौँ।”

फरक प्रसंगमा गभर्नर अधिकारीले अर्थतन्त्र संकुचनका कारण बजारमा मागमा कमी आएको बताए। ठूला ऋणीले ऋण माग्न सक्ने अवस्था नरहेको, मुलुकको निर्माण क्षेत्रसमेत सुस्तता रहेको गभर्नर अधिकारीको भनाइ छ। उनले निर्माण क्षेत्रलाई चलायमान बनाउन सके आर्थिक गतिविधिसमेत वृद्धि हुने विश्वास व्यक्त गरे।

“समाजमा धेरै आममानिसको गुनासो आर्थिक शिथिलता भयो। आर्थिक गतिविधिहरू भएन। समग्रमा माग घटेको अवस्था छ। उद्योगहरू क्षमताअनुसार चल्न सकिराखेको अवस्था छैन। त्यसको असर धेरैमा परिरहेको छ,” उनले भने।

गभर्नर अधिकारीले १४ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति मुलुकको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको बताए। उनले विदेशी मुद्रा सञ्चितिले बैंकको तरलतामा सहजता ल्याएको र राज्यले चाहेको कुरा आयात गर्न सक्ने अवस्था सिर्जना भएको उल्लेख गरे। 

गभर्नर अधिकारीले विगतमा बैंकहरूबाट ग्राहकहरूले ऋण लिनेले क्षमताभन्दा बढी ऋण लिएका कारण हालको समस्या निम्तिएको धारणा राखे। उनले ऋणहरूले आफ्नो क्षमता भन्दा बढी ऋण लिँदा समयमा तिर्न नसकेको र बैंकले पनि क्षमता हेरेर ऋण नदिँदा वर्तमान समस्या उत्पन्न भएको बताए। 

गभर्नर अधिकारीले यस वर्ष खराब कर्जा बढेको भन्दा पनि बैंकिङ क्षेत्रको वास्तविकता बाहिर आएको बताए। उनले अहिले कुनै एक बैंक डुब्न लाग्यो भनेर अर्को बैंक खुशी हुँदा त्यसले अरूलाई पनि असर गर्ने अवस्था रहेको बताए।

गभर्नर अधिकारीले राजनीतिक पार्टीका नेतृत्वदेखि बैंक बुझ्ने धेरैले बैंक अराजक, सामन्ती र मिटरब्याजी भए भनेर गाली गरिरहेको बताए। ३२ खर्ब बैंकको पुँजी बढेर ५० खर्ब पुग्दा पनि ७० अर्ब नाफा पुग्न नसक्ने अवस्थामा कसरी बैंक साहु महाजन भए? भन्दै प्रश्न गरे। उनले बैंकहरूलाई गाली गर्नेहरूले बैंकहरूको तथ्यांक नहेरेको बताए। राष्ट्र बैंकले लिने नीतिहरू तत्कालभन्दा पनि भविष्यमा आउने समस्या समाधानका लागि सहयोगी बन्ने उनको भनाइ छ।