पूर्वी चीनमा आगलागी: कम्तीमा १५ जनाको मृत्यु

प्रारम्भिक अनुसन्धानमा उक्त भवनको पहिलो तलामा आगलागी भएको र उक्त स्थानमा विद्युतीय साइकल राखिएको पाइएको छ।

पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङस्थित भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको छ। 

शनिबार भएको आगलागीमा ४४ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। 

दमकल विभागलाई युहुताई जिल्लाको एक आवासीय भवनमा आगलागी भएको सूचनापछि घटनास्थलमा पुगेका अग्नि नियन्त्रकले आगलागीलाई करीब दुई घण्टामा नियन्त्रणमा लिएको जनाएका छन्। 

प्रारम्भिक अनुसन्धानमा उक्त भवनको पहिलो तलामा आगलागी भएको र उक्त स्थानमा विद्युतीय साइकल राखिएको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।