उपकुलपति प्राडा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्य सञ्चालनमा पनि असहजता थपेको बताए।
कीर्तिपुर– त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने जानकारी दिएका छन्। त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन संकायतर्फ चारवर्षे स्नातक कार्यक्रम शुरूआत गरेको थियो।
विश्वविद्यालयको केन्द्रीय कार्यालयमा शुक्रबार पदबहाली गरेपछि उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरूलाई सम्बोधन गर्दै उपकुलपति प्राडा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्य सञ्चालनमा पनि असहजता थपेको बताए।
“बाहिरको शिक्षा प्रणाली अनुकूल बनाउन जनाउँदै चारवर्षे गरियो तर छिमेकी भारत, युरोपेली मुलुकलगायत थुप्रै ठाउँमा अहिले पनि तीनवर्षे स्नातक कार्यक्रम नै चलिरहेको छ,” उनले भने।
अमेरिकालगायत केही देशमा चारवर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उपकुलपति बरालले भने, “त्यस्ता देश वा त्यस्तै चारवर्षे विषय पढ्न जान चाहने विद्यार्थीका लागि तीनवर्षे कोर्स सकेपछि थप एक वर्षको छुट्टै मानार्थ उपाधिका कार्यक्रम चलाउन सकिन्छ।”
साथै उनले विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चारवर्षे वा पाँचवर्षे हुनसक्ने बताए। विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी संख्या अत्यन्त न्यून र केहीमा शून्य रहेकातर्फ औँल्याउँदै उनले अहिले मानविकी संकायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताए।
यसको समाधानका लागि मानविकीलाई सबै संकाय र कार्यक्रमबाट आउन मिल्ने (मल्टी डिसिप्लिनरी लिबरल आर्ट) का रूपमा पुनर्संरचना गरिने जानकारी पनि उनले दिए। शिक्षा संकायका कार्यक्रमलाई पनि सबै विषयबाट प्रवेश गर्न मिल्ने बनाइन उनले बताए।
केही वर्षयता त्रिविको संरचना ठूलो र भद्दा भएको चर्चा गरिने उल्लेख गर्दै उपकुलपति बरालले यसको पुनर्संरचनाका लागि आफू तयार रहेको बताए। “त्रिविलाई अब विस्तार होइन पुनर्संरचनाको खाँचो छ”, उनले भने।
उपकुलपति प्राडा बरालले त्रिविका शैक्षिक कार्यक्रमहरूलाई उत्पादन र बजारसँग जोड्न आफू लागिपर्ने बताए। देशको मौलिक र रैथाने ज्ञानलाई विश्वविद्यालयको प्राज्ञिक अध्ययन–अनुसन्धानसँग जोड्नका लागि दीर्घकालीन योजना बनाइने जानकारी पनि उनले दिए।
“तराईका राजवंशी र पहाडका मगरले उत्पादन गर्ने कासवा होस् वा चिउरीका उत्पादनको विकास, विश्वविद्यालयले त्यसतर्फको अध्ययन–अनुसन्धानमा जोड दिनेछ,” उनले भने। साथै हिमाली उपचार पद्धति आम्ची र आयुर्वेदिक अध्ययन–अनुसन्धानका कार्यक्रममा पनि विशेष जोड दिएर उठाइने उनले बताए।
यसैगरी, देशको विशिष्टताअनुरूप पर्वतारोहणको उच्चशिक्षाका लागि विशेष योजना ल्याइने र विदेशी विश्वविद्यालयसँग ज्ञान आदानप्रदानका कार्यक्रममार्फत अघि बढाइने पनि उपकुलपति प्राडा बरालले बताए। होटल व्यवस्थापनमा अध्ययनसँगै कमाइको अवधारणालाई त्रिवि कार्यक्रमभित्रै समेटेर अघि बढाइने पनि उनले बताए।
प्राडा बराललाई निवर्तमान कार्यवाहक उपकुलपति शिवलाल भुसाललगायत त्रिविका वरिष्ठ कर्मचारी तथा प्राध्यापकहरूले स्वागत गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
