७ महिनामा झण्डै ९ खर्ब रुपैयाँ बराबरको आयात

७ महिनाको अवधिमा सरकारले भन्सारतर्फ २ खर्ब ३६ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ।

काठमाडाैँ– चालु आर्थिक वर्षको ७ महिनामा झण्डै ९ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सामाग्री आयात भएको छ। गत साउनदेखि  माघमसान्तसम्म ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको आयात भएको भन्सार विभागले जनाएको छ।

यो गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा २.३१ प्रतिशतले कम हो। गत आर्थिक वर्षमा ९ खर्ब १९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो।

सात महिनाको अवधिमा ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.०७ प्रतिशतले कम हो। २०७९/८० मा ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको उत्पादन मुलुकबाट निर्यात भएको थियो।

आयात घट्दा व्यापार घाटा पनि गत वर्षको ७ महिनाको भन्दा १.७७ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको साउनदेखि माघसम्म ८ खर्ब २५ अर्ब रुपैयाँ व्यापार घाटा हुँदा यो वर्ष उक्त अवधिमा ८ खर्ब ११ अर्ब रुपैयाँ व्यापार घाटा देखिएको भन्सार विभागको तथ्याकं छ। ७ महिनाको अवधिमा सरकारले भन्सारतर्फ २ खर्ब ३६ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ।