टीआरसी विधेयक पीडितमैत्री हुनुपर्ने अडानका कारण राष्ट्रियसभा निर्वाचनमा एक्लिनुपर्‍यो: ओली

एमाले अध्यक्ष ओलीले पीडितलाई मन्जुर हुनेबित्तिकै टीआरसी विधेयक पारित गराउन आफ्नो पार्टी तयार रहेको बताए।

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) पीडितमैत्री हुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रियसभा निर्वाचनमा एक्लिनुपरेको बताएका छन्।

मंगलबारबाट पार्टी मुख्यालय च्यासलमा शुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले राष्ट्रियसभा निर्वाचनअघि नै टीआरसी विधेयक पारित गरौँ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको पटक–पटकको प्रस्तावमा सो विधेयक पीडितमैत्री हुनुपर्ने आफूहरूको अडानका कारण अघि बढ्न नसकेको दाबीसमेत गरे। 

अध्यक्ष ओलीले पीडितलाई मन्जुर हुनेबित्तिकै टीआरसी विधेयक पारित गराउन आफ्नो पार्टी तयार रहेको बताए। उनले सो विधेयक दाहाल र देउवाकै कारण १८ वर्षसम्म टुंगोमा पुग्न नसकेको जिकिरसमेत गरे। उनले सधैँका लागि अन्त्य हुने गरी आफ्नो पार्टीले टीआरसी विधेयक टुंगो लगाउनुपर्छ भन्ने मान्यता लिएको बताए।

“एक पटकका लागि र सधैँका लागि यसको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो। म यो प्रसंग राष्ट्रियसभाको सदस्यका केही पदहरूसँग साँटने होइन, देखाउने त्यो पदहरू र हामीलाई यो कामचाहिँ गराइहाल्ने, हामी केही पदका लागि आफ्नो अडान छोडौँ। दृष्टिकोण छोडौँ, नीति छोडौँ। र, पछि उही हो– सम्झाउन सकिएन साथीहरूलाई, मानेन के गर्ने?” उनले भने। 

अध्यक्ष ओलीले कोशी प्रदेशमा राप्रपासँग मिलेर चुनावमा जाँदा आफ्नो पार्टीले राष्ट्रियसभा निर्वाचनमा एक सिट जितेको पनि स्मरण गराए।