परदेश पुगेका लाहुरेले कोरेका पत्र हुलाकीले घरबुना झोलामा बोकेर गाउँ पुग्थे। ती चिठीहरू लाहुरेनी पढ्न सक्दैनथे। चिठी जसको हो उसलाई हुलाकीले नै पढेर सुनाउँथे। सुजनाका तस्वीरहरूले यही कथा बोलिरहेका छन्।
पोखरा– माथितिर छ घरबुना झोला। भुईंमा चिठीको खात। भित्तामा लाहुरेको पर्खाइमा खस्रा भइसकेका आँखा बोकेर बूढी लाहुरेनीका तस्वीर लस्करै छन्।
पोखराको लेकसाइडमा चलिरहेको लिटरेचर फेस्टिभलको भूपी कक्षको आडैमा ‘एट द भिजुअल आर्ट एक्जिबेसन– गोर्खा वुमन एन इको इन द स्टोरी’ फोटो प्रदर्शनीको दृश्य हो यो। साहित्य मेलामा आएका पाहुनाहरू लाहुरेनीका तस्वीर–कथा हेर्छन्। मनमा लागेका जिज्ञासा छेवैमा उभिएकी सुजना श्रीसलाई सोध्छन्। उनलाई धेरैले गर्ने प्रश्न हो, “तपाईँले देखाउन खोज्नु भएको कथा कस्तो हो?”
सुजना मुसुक्क हाँस्छिन् र जवाफ दिन्छिन्, “यसलाई सिम्बोलिक हिसाबले राखेको हो। रिसर्चको क्रममा जाँदा मैले चिठीपत्र खोजिरहेकी थिएँ। तर, धेरैले चिठी पढ्न नसक्ने हुँदा फालिदिने गरे। धेरैले चाहिँ गाउँबाट शहर आउँदा चिठीहरू फाले। हुन त चिठी पर्सनल चिज हो, त्यो पाइएन पनि।”
त्यसैले मान्छेको जीवनबाट टाढा पुगेका चिठीलाई प्रतीकात्मक तरिकाले देखाउन घरबुना झोलाबाट खसिरहेको कल्पना गरिन्। उनले राखेको त्यो घर बुना झोला उनकै बज्यैले बुनेकी हुन्। उनका बाजे पल्टनमा छँदा बज्यै पनि सँगै कलकत्ता गएकी थिइन्। बज्यैले त्यही बेला बुनेको झोलालाई टपक्कै टिपेर सुजनाले कलामा उतारेकी छन्।

सुजनाले कथा सुनेकी थिइन्– परदेश पुगेका लाहुरेले कोरेका पत्र हुलाकीले हुलाकघरबाट यस्तै झोलामा बोकेर गाउँ पुग्थे। लाहुरेले लेखका ती चिठीहरू लाहुरेनीले पढ्न सक्दैनथे। चिठी जसको हो उसलाई हुलाकीले नै पढेर सुनाउँथे। “कसैले चिठी लेखे, कसैले लेख्छु भन्दा पनि लेख्न पाएनन् होला। ती चिठीहरू कति थियो होला! त्यही चिठीहरू झोलाबाट पोखिएको पोखियै छन्,” उनी भन्छिन्।
प्रदर्शनीको अघिल्लो भागमा लाहुरेनीका तस्वीर छन्। पट्पटी फुटेका हत्केलाका नशा प्रस्ट देखिएका छन्। लाहुरेका पर्खाइमा जिन्दगी सकाएका लाहुरेनीको कथा ती तस्वीरले प्रस्टै बोल्छन्। भित्तामा झुन्डिएका श्यामश्वेत तस्वीर लाहुरेनीका रंगहीन जीवनको बिम्ब हुन्। “यी तस्वीर हामीले फिल्ड रिसर्चको बेलामा खिचेका हौँ। हातको मुभमेन्ट, हातको रेखाहरू, लुंगी पनि कथामा जोड्न खोजेको छु। गुरुङ, मगर समुदायमा लुंगी लगाउने चलन छ, त्यसले स्थानीयपन देखाउँछ,” उनी भन्छिन्।
लाहुरेनीको कथा उन्ने सुजनाको प्रयत्नमा गोर्खा वेलफेयर ट्रस्ट पोखराले सघाएको थियो। उनलाई कलामा डोहोर्याउने काम भने घरबाटै भयो। विद्यालय पढ्दैदेखि उनले कलालाई आफ्नो रुचिको विषय बनाएकी थिइन्। त्यसपछि उनी कला क्षेत्रमा नै भिज्न थालिन्। “सन् २०१५ मा काष्ठमण्डप आर्ट स्टुडियोबाट काम गर्न थालेँ। त्यहाँ म सिक्न गएको थिएँ,” उनी भन्छिन्, “म नियमित आर्ट गर्दिनँ। एउटा प्रोजेक्टको लागि एक वर्ष समय छुट्याउँछु।”
यसअघि सन् २०१८ मा सुजनाले गुल्मी भार्सेका गोर्खाहरूको पोट्रेट बनाएकी थिइन्। गुल्मीको भार्से उनको पुर्ख्यौली गाउँ पनि हो। पहिलो र दोस्रो विश्वयुद्ध लडेका भार्सेका लाहुरेको पोट्रेट यसअघि नै प्रदर्शनी भइसकेको छ। “पहिलो र दोस्रो विश्वयुद्ध लड्नुभएका बाजेहरूको २५ वटा जति फोटो बनाएर प्रदर्शनी गरेको थिएँ। त्यति बेला एक जना मात्रै बज्यैको फोटो बनाएको थिएँ,” उनी भन्छिन्, “त्यति बेला महिलाहरूको पहिचानको कुरा गर्दागर्दै पनि बज्यैहरूको जीवनमा के भयो भन्ने लागिरहेको थियो। त्यसपछि मलाई लाहुरेनीहरूको कथा खोज्ने हुटहुटी चल्यो।”

लाहुरेहरूको इतिहास २०० वर्ष पुरानो छ। तर लाहुरेनीहरूको इतिहास नलेखिएको भन्दै उनले खिन्नता प्रकट गरिन्। लाहुरेको कथा पुरुषको कोणबाट लेखिएको र महिलाको योगदानलाई बिर्सिएको उनी बताउँछिन्। नेपाल बसेर परिवार धान्ने, सामाजिक योगदान गर्ने र लाहुरेलाई विदेश जाने र काम गर्ने वातावरण बनाउने महिलाले नै मिलाइदिएको उनको भनाइ छ। “मेरो मुख्य विषय र थिम नै महिलाको पहिचान र योगदान बाहिर ल्याउने हो,” उनले सुनाइन्।
सन् २०१८ मा दिमागमा खेल्न थालेको कथाले २०२० मा बल्ल मूर्त रूप पाएको उनी बताउँछिन्। मस्तष्कमा बोकेर हिँडेको कथाको वास्तविकता खोज्दै उनी पहाड र तराईंका जिल्लाहरू पुगिन्। त्यसरी बटुलेको सपना उनले पोखराको साहित्य महोत्सवमा सजाएकी छन्।
यसअघि काठमाडौँमा पनि उनले फोटो प्रदर्शनी गरिसकेकी छन्। यो उनको दोस्रो प्रदर्शनी हो।
सुजनाका बाजे पूर्व भारतीय सैनिक हुन्। उनको मामाघरका बाजे पूर्व ब्रिटिस सेना हुन्। सानैदेखि लाहुरको कथा सुन्दै हुर्किएकी उनलाई अहिले पनि ती कथाको छाप छ। “सानोमा म बाजेसँग एकदम निकट थिएँ। बुटवलमा जन्मिएँ, काठमाडौँमा हुर्किएँ। फेरि बुटवलमा दुई तीन वर्ष बसेँ,” उनी भन्छिन्, “त्यतिबेला बाजेले लडाइँको कथा एकदम धेरै सुनाउनुहुन्थ्यो। इन्डिया–चाइना वारमा पनि पर्नु भएको थियो,” उनले भनिन्।
प्रदर्शनीमा उनले राम्रो प्रतिक्रिया पाइरहेकी छन्। आफूले छानेको विषयलाई सरल ढंगले प्रस्तुत गरेको र तस्वीरले भन्ने कथाहरू दर्शकले सजिलै बुझ्न सक्ने उनी बताउँछिन्।
यसअघि काठमाडौँमा भएको फोटो प्रदर्शनीमा नेपाल लिटरेचर फेस्टिभलको टिम पनि पुगेको थियो। अरू लेखकहरू पनि पुगेका थिए। उनीहरूले सुजनाको विषय मन पराएर लिटरेचर फेस्टिभलमा लैजाने बताए। अहिले फेस्टिभलको ११औँ संस्करणमा उनका तस्वीरले ठाउँ पाए।
फोटो प्रदर्शनीको उद्घाटनमा पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले गरेकी हुन्। “मेरा फोटो देखेर खुशी हुनु भयो। हौसला दिनुभयो। उहाँ (उपमेयर) पनि गुरुङ समुदायकी हुनुहुन्छ र लाहुरे परिवारकै हुनुहुन्छ,” उनी भन्छिन्, “महिलाको कुरा यसरी आउँदैन। पुरुषकै कथा आउँछन्। त्यसैले उहाँ पनि खुशी हुनुभयो। महिलाको कुरा आउनुपर्थ्यो भन्नुभयो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
