बागमतीस्तरीय यू१६ छनोट खेल्न प्रादेशिक क्रिकेट संघले शनिबार साँझ मात्र जिल्लाहरूलाई टिम पठाउन मेल गरेको थियो। जिल्लाहरूले उपलब्ध खेलाडी बटुलेर आइतबार तयार पारेको टिम सोमबार काठमाडौँ पठाएका छन्।
काठमाडौँ– मनमोहन मेमोरियल क्रिकेट सेन्टरले आयोजना गर्ने मनमोहन मेमोरियल यू१६ प्रतियोगिता शुरू हुन ६ दिन बाँकी छ। निजी क्षेत्रले गर्ने यो प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो क्यालेन्डरमा पनि राखेको छ। तर क्यान सचिव पारस खड्का नै अध्यक्ष रहेको बागमती प्रादेशिक क्रिकेट संघले प्रदेशको टोली बनाउन लापरबाही गरेको छ।
पोखरामा आयोजना हुने यू१६ प्रतियोगितामा सहभागिता जनाउन बागमती प्रादेशिक क्रिकेट संघले बल्ल तयारी शुरू गरेको छ। तर जिल्लालाई टिम बनाउन पर्याप्त समय र बजेट दिइएको छैन। त्यही कारण प्रतियोगितामा बागमतीको प्रदर्शन कमजोर हुनसक्ने भन्दै जिल्ला क्रिकेट संघहरूले असन्तुष्टि जनाएका छन्।
चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाका अनुसार जिल्लाको टिम बनाएर काठमाडौँ पठाउन दुई दिनअघि मात्र प्रादेशिक संघको मेल आएको थियो। उनी भन्छन्, “अस्ति मेल आइपुगेको थियो। हिजो एक दिनमा खेलाडी बटुल्यौँ। सारै चित्त दुखाएर आज टिम काठमाडौँ पठाएका छौँ। यसरी छनोटबिना हतासमा पठाएका खेलाडीले कस्तो प्रदर्शन गर्लान् खै!”
पोखरामा माघ २८ देखि फागुन ६ गतेसम्म आयोजना हुने प्रतियोगितामा सात वटै प्रदेशका टिमले भाग लिने क्यान सचिव खड्काले गत पुस १९ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वार्षिक क्यालेन्डर सार्वजनिक कार्यक्रममै बताएका थिए। उक्त प्रतियोगिताको प्राविधिक र अन्य व्यवस्थापन क्यानले नै गर्दिने समेत उनले बताएका थिए। तर खड्का नै अध्यक्ष रहेको प्रदेशले प्रतियोगिता आउन एक साता मात्र बाँकी रहँदा खेलाडी छनोट थालेको हो।
चितवन अध्यक्ष पियाका अनुसार बागमतीको छनोट प्रतियोगिता मंगलबारबाट तल्लो मूलपानी क्रिकेट मैदानमा आयोजना हुँदैछ। दुई दिन हुने प्रतियोगिताको लागि बागमती प्रादेशिक क्रिकेट संघमा आबद्द ६ जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र नुवाकोटले सहभागिता जनाउने छन्। राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन बलियो तयारी गर्नुपर्ने भए पनि त्यसअनुसार खेलाडी छान्न नपाएको उनले बताए।
“यू१६ राष्ट्रिय प्रतियोगिता चारपाँच दिनपछि छ। त्यो प्रतियोगिताका लागि दुईतीन दिन क्याम्प लगाएर पठाउने योजना थियो तर विफल भइयो,” उनी भन्छन्, “क्यानको फोकस खालि अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्रै छ। नर्सरीमा बोट उमार्ने त भन्छन्, मलजल गर्दैनन्। मलजल गरे, गोडमेल गरे पो बोट ठूलो हुने हो।”
तयारीका लागि ३५ हजार!
बागमती प्रादेशिक क्रिकेट संघले टिम तयार गरेर काठमाडौँ पठाउन उपत्यकाबाहिरका जिल्लालाई ३५ हजार रुपैयाँ उपलब्ध गराएको छ। खेलाडीलाई चाहिने जर्सीसमेत जिल्ला आफैँले व्यवस्थापन गर्न भनिएको चितवन अध्यक्ष पिया बताउँछन्। तर जिल्लासँग बजेट अभाव भएको कारण त्यही ३५ हजारमा थपथाप गरेर खेलाडीलाई काठमाडौँ पठाइएको उनको भनाइ छ।
पियाका अनुसार चितवनको टोली बिनाजर्सी काठमाडौँ आएको छ। जर्सी सिलाउने समय नभएको उनले बताए।
मकवानपुर जिल्ला क्रिकेट संघका सचिव विनोदकुमार बानियाँ आफूहरू छनोट प्रतियोगितामा जाने कि नजाने भनेर अन्तिम समयसम्म अन्योलमा रहेको बताउँछन्। तर क्यानले पत्र पठाएपछि सहभागिता नजनाउँदा जिल्लाको नाम खराब हुने भयले खेलाडी काठमाडौँ पठाउन बाध्य भएको उनको भनाइ छ।
जिल्लासँग यू१६ खेलाडी भएका कारण संघको मेल आएपछि १२ जना भेला पारेर मंगलबार काठमाडौँ पठाउने तयारी गरेको बानियाँ बताउँछन्। तर ३५ हजार बजेटले दुई दिनको प्रतियोगितामा सहभागिता जनाउन गाह्रो हुने उनले बताए।
“हेटौँडाबाट काठमाडौँ जाने भाडा नै एक जनाको ६५० रुपैयाँ छ। १४ जना जाँदा पनि काठमाडौँ जाऊआऊ गर्दा २० हजार लाग्छ। काठमाडौँजस्तो ठाउँमा खान, बस्न दिनको २ हजारको दरले २८ हजार हुन्छ,” उनी भन्छन्, “कहाँ बसिन्छ भन्ने कुरा हो, त्यहाँबाट मूलपानी जाँदाको ट्राभल खर्च छुट्टै हुन्छ। ६०/७० हजार रुपैयाँ त खर्चै लाग्छ।”
‘झारो टार्ने काम भयो’
नुवाकोट जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा पाठक बागमती प्रादेशिक क्रिकेट संघले झारा टार्ने गरी छनोट प्रतियोगिता गर्न खोजेको बताउँछन्। ३५ हजारले खान र बस्न पर्ने, जर्सी पनि किन्नुपर्ने र यातायातदेखि सबै खर्च पुर्याउन पर्ने भएको कारण रनभुल्लमा परेको उनी बताउँछन्।
“एकदमै गाह्रो छ। भोलिबाट गेम भनेपछि आज छनोट गरेर आजै खेलाडी पठाउनुपर्ने छ। त्यसमाथि जाडो महिना छ। कहाँ राख्ने? एकदमै टफ छ। यो झारो टार्ने काम मात्रै भइरहेको छ,” उनी भन्छन्।
जिल्ला संघसँग बजेट नहुने भएको कारण प्रादेशिक क्रिकेट संघले यस्ता प्रतियोगितामा लाग्ने सबै खर्च बेहोर्नुपर्ने उनी बताउँछन्। आफूले बागमती प्रादेशिक क्रिकेट संघ छाड्दा ८ लाखभन्दा बढी रकम खातामा भएको उनको दाबी छ। उनी संघको निवर्तमान सचिव हुन्।
कुनै पनि प्रदेशका लागि त्यो रकम ठूलो भएको पाठक बताउँछन्। त्यतिखेर कार्यालय पनि नभएको कारण खर्च कटौती गर्न सहज भएको उनको बुझाइ छ। “सबैभन्दा ठूलो लगानी गर्ने भनेकै यू१६ मा हो। यो उमेरका केटाहरूसँग पैसासमेत हुँदैन, खर्च गर्न सक्दैनन्। कतिलाई त सामानसम्म दिनुपर्ने अवस्था छ। तर सबैभन्दा ठूलो कमजोरी यहीँ भइरहेको छ,” उनी भन्छन्।
उपत्यकाका तीन टोलीलाई सहज देखिए पनि बाहिरका टोलीलाई यस्ता किसिमको प्रतियोगिता खेल्न निक्कै असहज हुने पाठकको भनाइ छ। यद्यपि, प्रदेशले गर्न सकेन भनेर जिल्लाले पनि प्रतिभा मार्न नहुने हुँदा सरसापट गरेर खेलाडी काठमाडौँ पठाएको उनको भनाइ छ। “जर्सीदेखि सबै किन्नुपर्ने अवस्था छ। अलिकलि पैसा जिल्लासँग छ। केही जोडजाम गर्छौँ। सोचेजस्तो नहोला तर हामी सहभागी चाहिँ हुन्छौँ,” उनले भने।
‘जिल्लामा उमेर समूहको छनोट आवश्यक छैन’
बागमती प्रादेशिक क्रिकेट संघ सचिव प्रशन्न शाक्य संघको बजेट निजी क्षेत्रले आयोजना गर्ने प्रतियोगिताका लागि ‘फ्याँक्न नमिल्ने’ बताउँछन्। आफूहरूले वार्षिक क्यालेन्डर बनाएको कारण त्यहीअनुसार मात्र प्रतियोगिता गर्न लागेको उनको भनाइ छ।
आयोजकले भनेको जति बजेट उपलब्ध नगराइदिँदा आफूहरूलाई गाह्रो भएको उनको तर्क छ। शुरूमा आयोजकले ५० हजार मात्रै बजेट उपलब्ध गराइदिने भनेपछि आफूले क्यानमा चिठ्ठी नै लेखेर ध्यानकर्षण गराएको उनले दाबी गरे। त्यसपछि मात्रै आयोजकले बजेट बढाएर १ लाख ५० हजार पुर्याएको उनी बताउँछन्।
काठमाडौँ उपत्यकाबाहिरका तीन जिल्लालाई ३५ हजारका दरले तयारी खर्च दिएको र उपत्यकाका तीन जिल्लालाई एक रुपैयाँ पनि नदिएको शाक्यको भनाइ छ। दुई दिनमै प्रतियोगिता सकिने भएको कारण ३५ हजार पर्याप्त हुने उनी बताउँछन्। “३५ हजारले गाह्रो नपरोस् भनेर सेड्युल त्यसरी नै मिलाएका छौँ। चार टिमले भोलि र पर्सी खेल्छ। विजेता पनि नहुने भएको कारण ती टोली पर्सी बेलुका नै घर फर्किन्छन्। मलाई लाग्छ ३५ हजारबाट कभर हुन्छ,” उनी भन्छन्।
उमेर समूहको घरेलु प्रतियोगिताका लागि जिल्लाको टिम बनाउन छनोट खेलाउनु नपर्ने शाक्यको दाबी छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र एशियाली क्रिकेट काउन्सिल (एसीसी)को प्रतियोगितामा सहभागी हुन मात्र छनोट खेलाउनुपर्ने उनले बताए। प्रतियोगिताको तयारी राम्रोसँग गर्ने हो भने एउटा प्रदेशलाई १० लाखको बजेट चाहिने उनको दाबी छ।
यद्यपि, प्रादेशिक संघलाई बजेटभन्दा मैदानको अभाव भएको कारण पैसा लगानी गर्न सक्ने अवस्था नरहेको उनले बताए। भरतपुरस्थित गौतमबुद्ध क्रिकेट मैदानलाई चितवन जिल्ला क्रिकेट संघले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर प्रतियोगिता गर्दा होडिङ बोर्ड राखेर पनि आम्दानी गर्दै आएको सचिव शाक्य बताउँछन्। तर काठमाडौँका माथिल्लो मूलपानी र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्वामित्व क्यान र तल्लो मूलपानीको स्वामित्व राष्ट्रिय खेलकुद परिषद्को हुँदा चितवनले जस्तो आम्दानी गर्न नसकेको उनको भनाइ छ।
यद्यपि, प्रदेश अध्यक्षसमेत रहेका पारस खड्काको अनुहार देखाएर बागमतीले केही आम्दानी गरिरहेको शाक्य बताउँछन्। “स्पोन्सर एकदमै लिमिटेड छ। हाम्रो अध्यक्ष पारस भएको कारण उसको मुख हेरेर भए पनि सहयोग गरिरहेका छन्। त्यो कारणले मात्रै हामीले सबै इभेन्टहरू गर्न सकिरहेका छौँ। नत्र हामीलाई क्रिकेट चलाउन गाह्रो छ,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
