इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिबाना

इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय र एक अर्ब ७२ करोड रुपैयाँ जरिबाना भएको छ भने उनकी श्रीमती सिर्जना शाक्यलाई एक अर्ब तीन करोड जरिबाना र एक वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ।

काठमाडौँ– पूर्वसांसद एवं सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय र एक अर्ब ७२ करोड रुपैयाँ जरिबाना भएको छ। 

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले माघ ७ गते उनीसहित तीन जनालाई दोषी ठहर गरेको थियो भने आइतबार सजाय तथा जरिबाना निर्धारण भएको हो।

विशेष अदालतका उपरजिस्ट्रार तथा प्रवक्ता धनबहादुर कार्कीले तामाङसहित तीन जनाको सजाय तथा जरिबाना निर्धारण गरिएको बताए। उनका अनुसार इच्छाराजलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिबाना गरिएको हो। 

इच्छाराजकी श्रीमती सिर्जना शाक्यलाई एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगोसहित जरिबाना र एक वर्ष ६ महिना कैद सजाय हुने ठहर भएको छ। त्यस्तै, सिभिल सहकारीका अध्यक्ष रहेका केशवलाल श्रेष्ठबाट डेढ वर्ष कैद सजाय र २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ बिगोसहित जरिबाना भराउन भनिएको छ।

विशेष अदालतले यही प्रकरणमा प्रतिवादी बनाइएका प्रतीक्षा तामाङ, प्रतिष्ठा तामाङ र मीना श्रेष्ठलाई सफाइ दिएको थियो। तर उनीहरूको सम्पत्ति जफत हुने फैसला भएको छ। उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ भदौ १६ मा मुद्दा दायर गरेको थियो। 

इच्छाराजविरुद्धको ठगी कसुरसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। उनी अहिले पुर्पक्षका लागि थुनामा छन्।काठमाडौँ जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा उनीहरू दोषी ठहर भएमा मात्र पीडितहरूले सम्पत्ति शुद्धीकरणको मुद्दामा जफत भएको सम्पत्तिबाट पाउने फैसलामा उल्लेख रहेको उनले बताए।