स्वतन्त्र उम्मेदवार बन्न पोलिटब्युरो सदस्य हेमराज भण्डारीले छाडे माओवादी केन्द्र

धनकुटाबाट प्रतिनिधिसभामा स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका हेमराज भण्डारीको समर्थन गर्दै नेकपा माओवादी केन्द्रको जिल्ला कमिटीले सामूहिक राजीनामा दिएको छ।

काठमाडौं- नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा भण्डारीले धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिने आइतबार घोषणा गरेका हुन्।



उनलाई समर्थन गर्दै धनकुटाका माओवादी नेताहरूले सामूहिक राजीनामा दिएका छन्। जिल्लाका निवर्तमान संयोजक डिल्लीराम राई (कमल)ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्। माओवादी केन्द्रको जिल्ला कमिटीले नै सामूहिक राजीनामा दिएको यो पहिलो घटना हो। 



शनिबार बसेको जिल्ला समन्वय समितिको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको राईले बताए। जिल्लास्थित पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित समन्वय समितिमा रहेका सबैले आफ्नो पदीय जिम्मेवारीबाट सामूहिक राजीनामा दिएको उनले बताए।



आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्ने आधारसहित प्रतिनिधिसभामा स्वतन्त्र उमम्मेदवारको रूपमा भण्डारीलाई प्रस्तावलाई पूर्ण रूपमा समर्थन गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले भण्डारीको नेतृत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गर्ने निर्णय गरेको छ।



माओवादीले धनकुटाको प्रतिनिधिसभामा सिट नपाउने आकलन गर्दै भण्डारीले स्वतन्त्र उम्मेदवारी दिने भएका हुन्। एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा कांग्रेसले पाउने मोटामोटी सहमति भएको बताइएको छ।