विद्रोही थवाङमा अचेल ‘कुरा मिल्दैन’

थवाङले एउटै पार्टी वा उम्मेदवारमा सबै मत खसाएको वा शून्य मतदान गरेको इतिहास २०१५ सालदेखिकै हो। तर, २०७४ सालयता भने थवाङबासी विभाजित हुन थालेका छन्।

रोल्पा– देशैभरि आमनिर्वाचनको प्रारम्भिक नतिजाले कसैलाई उत्साह र कसैलाई निराश बनाइरहेको बेला रोल्पाको थवाङमा फरक दृश्य छ। त्यहाँ सोमबार ‘धन्यवाद सभा’ भइरहेको थियो। उक्त सभा चुनावमा विजयी कोही उम्मेदवारले राखेका थिएनन्।

धेरै कम थवाङबासी मात्र मंसिर ४ गते मतदानमा सहभागी भए। धेरैजसोले बहिस्कार गरे। त्यहाँ करिब २२ प्रतिशत मतदान भयो। थवाङ गाउँको नाममा परिचित थवाङ गाउँपालिका वडा नं. १ र २ मा कुल मतदाता २८ सय ८७ मध्ये ६४९ जनाले मात्र मतदान गरे। 

वडा नं. १ मा रहेको जनचक्षु प्रावि मतदान केन्द्रमा २३० मत खसेको छ। त्यहाँ एक हजार ३१४ मतदाता छन्।  वडा नं. २ थवाङमा रहेको साविक गाविस भवन मतदान केन्द्रमा ४१९ मत खसेको छ। त्यहाँ एक हजार ५७७ मतदाता छन्।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले निर्वाचन बहिस्कारको आह्वान गरेपछि थवाङमा कम मतदान भएको हो। त्यसैले नेकपा थवाङ गाउँ कमिटीले मंसिर ५ गते थवाङमा ‘धन्यवाद सभा’ राखेको थियो। 

माओवादी फुटले विभाजित थवाङ
थवाङमा २०१५ सालको निर्वाचनदेखि नै कम्युनिष्ट पार्टीको एकल वर्चश्व थियो। थवाङले हरेक निर्वाचनमा ‘विद्रोह’ गर्ने गरेको छ। तर, तत्कालीन नेकपा माओवादीको फुटपछि थवाङ विभाजित छ। 

यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका समर्थक पनि छन्, तर निकै सीमित। माओवादी फुटपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ का फरक पार्टी भए। थवाङले भने प्रचण्ड र विप्लवलाई साथ दिएको थियो। ‘थवाङ’ नै भनेर चिनिने गाउँपालिकाको वडा नं. १ र २ मा यी दुईको प्रतिस्पर्धा हुँदा थवाङ गाउँबाहिर पर्ने वडा नं. ३, ४ र ५ मा भने कांग्रेस र एमालेको पनि प्रभाव छ। गएको स्थानीय तह निर्वाचनमा थवाङ गाउँपालिकाका पाँच वडामध्ये चार वटामा माओवादी केन्द्र र एउटामा एमालेले जितेका छन्।

यसपटक पनि विप्लव नेतृत्वको नेकपाले निर्वाचन बहिस्कार गर्ने निर्णय गरेसँगै थवाङले के गर्छ भन्ने धेरैलाई चासो थियो। प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुनलाई मत हाल्न सक्ने धेरैको अड्कल थियो। पुनले थवाङमा पुगेर द्वन्द्वकालमा हत्या गरिएका तत्कालीन माओवादी सल्लाहकार तेजमान घर्तीमगरको सालिकमा माल्यार्पण गरेर प्रचार अभियान थालेका थिए। प्रदेशसभाका लागी अर्का उम्मेदवार अमरसिंह पुनले समेत थवाङको समर्थन पाउन धेरै मेहनत गरेका थिए।

प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता वर्षमान पुनको जित सुनिश्चित जस्तै छ। प्रदेशसभा २ मा भने‍ गठबन्धनका साझा उम्मेदवार कांग्रेसका अमरसिंह पुन, स्वतन्त्र उम्मेदवार दीपेन्द्र  पुन र एमालेका उम्मेदवार प्रेम घर्तीमगरबीच त्रिपक्षीय प्रतिस्पर्धा भएकाले थवाङलाई तान्न सबैले प्रयास गरेका थिए।

मतदानको दुई दिनअघि देखि निर्वाचन बहिस्कारका लागि नेकपा कार्यकर्ताले निरन्तर मसाल जुलुस गरेका थिए। मतदानको दिन पनि बिहानै नेकपाका स्थानीय नेता मतदानस्थल पुगेर आफूहरूले निर्वाचन बहिस्कार गरेको जनाउ दिएका थिए। नेकपा रोल्पाका पूर्वईन्चार्ज जयप्रकाश रोकाले आफूहरूको बहिस्कार भौतिक नभइ वैचारिक भएको बताएका थिए।

यस्तो छ थवाङको विगत
थवाङलाई कम्युनिष्ट किल्ला मानिन्छ। २०१२ सालमै अखिल नेपाल किसान संगठनको नाममा थवाङबासीहरू संगठित भएका थिए। थवाङबासीले २०१५ सालमा भएको निर्वाचनमा मतदान गरेका थिए। त्यतिबेला पनि सबै भोट कम्युनिष्ट पार्टीका उम्मेदवार खगुलाल गुरुङलाई दिएका थिए।

त्यसपछि २०१८ सालमा भएको गाउँ पन्चायत निर्वाचनमा प्रधानपन्चका उम्मेदवार बनेका धर्मबहादुर रोकामगरलाई सबै मत दिएका थिए। कम्युनिष्ट पार्टीका सदस्य रहेका रोकालाई थवाङबासीले नै उम्मेदवार बनाएका थिए।

२०१९ सालको राष्ट्रिय पन्चायत निर्वाचनमा थवाङले भोट नै हालेन। तत्कालीन कम्युनिष्ट पार्टीले सो निर्वाचन बहिष्कार गरेपछि थवाङबासीहरूले साथ दिएका थिए। २०२४ सालमा भएको गाउँ पन्चायत निर्वाचनमा भने कम्युनिस्ट नेता बर्मन बुढामगरलाई प्रधानपन्चको उम्मेदवार बनाएका थिए। बुढा त्यो र त्यसपछि भएका अरू दुई निर्वाचनमा निर्विरोध भएका थिए। 

२०३७ सालमा भएको जनमत संग्रहमा थवाङले सबै मत वहुदलको पक्षमा परेको थियो। २०३८ सालको राष्ट्रिय पन्चायत निर्वाचन बहिस्कार गर्दा शून्य मतदान भएको थियो। त्यसपछि पन्चायती सरकारले थवाङमा ‘सैन्य अपरेसन’ नै गरेको स्थानीय बताउँछन्।

२०३९ सालमा भएको गाउँ पन्चायत निर्वाचनमा भने थवाङ सहभागी भयो। राज्य आतंकबाट बच्नका लागी बर्मन बुढा मगरकी बहिनी तुलकुमारी बुढालाई प्रधानपन्चको उम्मेदवार बनाएर निर्विरोध निर्वाचित गरे। २०४३ सालमा भएको राष्ट्रिय पन्चायत सदस्य निर्वाचनमा थवाङबासीले सबै मत बमकुमारी बुढालाई दिए। २०४४ सालमा भएको अन्तिम पन्चायती निर्वाचनमा कम्युनिष्ट पार्टीका कार्यकर्ता कमलप्रसाद झाँक्रीलाई निर्विरोध प्रधानपन्च बनाए।

२०४६ सालको राजनैतिक परिवर्तनपछि २०४८ सालमा भएको पहिलो संसदीय निर्वाचनमा सबै मत तत्कालीन संयुक्त जनमोर्चाका उम्मेवार कृष्णबहादुर महरालाई दिए। २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा संयुक्त जनमोर्चाबाट तत्कालीन गाविस अध्यक्षका उम्मेदवार रुजबहादुर रोकामगर नेतृत्वको टिम निर्विरोध निर्वाचित भयो। 

बाबुराम भट्टराई नेतृत्वको तत्कालीन संयुक्त जनमोर्चाले २०५१ सालको मध्यावधि निर्वाचन बहिस्कार गर्दा थवाङमा ४ मत खस्यो। २०५४ सालमा भएको स्थानीय निकाय निर्वाचन पनि थवाङले बहिस्कार गरेपछि गाविस अध्यक्ष र उपाध्यक्ष सदरमुकाम लिवाङबाट चयन गरिएको थियो। 

२०५६ सालमा भएको संसदीय निर्वाचनमा लिवाङबाट हेलिकप्टेर चढेर थवाङ पुगेका दुई जना थवाङबासीले मतदान गरी शून्य मत खस्नबाट जोगाएका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ३ मतबाहेक सवै मत तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएका थिए। 

अनि विभाजित भए थवाङबासी
२०६९ सालमा नेकपा माओवादीमा विभाजन आयो। त्यसपछि २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा थवाङमा शून्य मतदान भयो। तर, माओवादीमा आएको विभाजनले थवाङबासी पनि विभाजित हुन शुरू गरे। केहीले प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीलाई र केहीले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई समर्थन गरे। यद्यपि, थवाङबासीले सो चुनावमा शून्य मतदान गरेका थिए। त्यसबेला उम्मेदवार भएकी एकीकृत नेकपा माओवादीकी ओनसरी घर्तीले पुनःमतदानका लागि निर्वाचन कार्यालयमा उजुरीसमेत दिएकी थिइन्। 

२०७२ सालको संविधान अनुसार भएको राज्य पुनरसंरचनामा छुट्टै स्वयत्त क्षेत्रको माग गरेका थवाङलाई एउटा स्थानीय तह बनाइयो। थवाङ गाउँपालिकामा पाँच वटा वडा छन्। तीमध्ये दुई वटा वडा परम्परागत रूपमा थवाङ भनेर चिनिने गाउँमा छन्। अन्य दुई गाउँ मिरुल र उवासमेत यस गाउँपालिकामा समावेश गरिएपछि कम्युनिस्ट (माओवादी विचारका दल) बाहेकका पार्टीको पनि अस्तित्व देखिन थाल्यो।

थवाङ रोल्पाकै सबभन्दा कम मतदाता रहेको गाउँपालिका हो। २०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँ पाँच हजार ८५३ मतदाता थिए। उक्त निर्वाचनमा तीन हजार ६८२ मत खसेको थियो। माओवादी केन्द्रका वीरबहादुर घर्तीमगरले एक हजार ९९० मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका थिए। उनलाई पछ्याएका स्वतन्त्र उमेदवार अमित घर्तीमगरले एक हजार ५७ र नेकपा एमालेका हितबहादुर रोकामगरले १२० मत पाएका थिए।

उक्त निर्वाचन विप्लव नेतृत्वको नेकपाले बहिष्कार गर्ने भने पनि स्थानीयहरूको दबाबका कारण सो पार्टीका नेता अमित घर्तीमगरले स्वतन्त्र उम्मेदवारी दिएका थिए। घर्तीलाई अनुशासन उलंघन गरेको भन्दै पार्टीले कारबाहीसमेत गरेको थियो। 

२०७४ सालमा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा समेत यहाँ न्यून मत खसेको थियो। तर, शून्य वा एक पक्षीय मतदान भने भएन।

गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भने स्वतन्त्रको नामबाट विप्लव नेतृत्वको नेकपा सहभागी भएको थियो। कांग्रेस, एमाले र नेकपाले माओवादी केन्द्रविरुद्ध तालमेल गरेका थिए। उक्त निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा  विप्लव नेतृत्वको नेकपाका नेता रायवहादुर पुन उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार थिए। नेकपाकाले वडा नं. १ र २ मा उम्मेदवारी दिएको थियो। ती वडामा माओवादी केन्द्रका उम्मेदवारले जित्दा नेकपाका उम्मेदवार निकटतम् प्रतिस्पर्धी भएका थिए।