सर्वोच्चले खारेज गर्‍यो रूपा सुनारको रिट

सर्वोच्च अदालतले रूपमा सुनारले दायर गरेको रिट खारेज गरिदिएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रूपाको रिट खारेज गरेको हो।

काठमाडौं– सञ्चारकर्मी रूपा सुनारले आफूलाई जातीय दुर्व्यवहार गर्ने बबरमहलकी घरबेटी सरस्वती प्रधान र उनलाई संरक्षण गरेको भन्दै कृष्णगोपाल श्रेष्ठलगायत चार जनाविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रूपाको रिट खारेज गरिदिएको हो।

सुनारले आफूमाथि जातीय विभेद गरेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई तत्कालीन शिक्षामन्त्री श्रेष्ठले संरक्षण गरेको भन्दै पदबाट हटाइ उनीविरुद्धको जाहेरी दर्ता गर्न माग गर्दै २०७८ असार २० गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

तल्लो जात भन्दै रूपालाई सरस्वती प्रधानले घरमा कोठा दिन अस्वीकार गरेकी थिइन्। आफूलाई जातीय दुर्व्यवहार गरेको भन्दै सुनारले प्रधानविरुद्ध उजुरी गरेकी थिइन्। मन्त्री श्रेष्ठले पदीय ओहोदामा रहेकै बेला प्रहरी कार्यालयमा पुगेर प्रधानलाई रिहा गराएर सरकारी झन्डावाला गाडीमा राखेर लागेका थिए।