विश्वकप : पहिलो खेलमा साउदीसँग अर्जेन्टिना पराजित

समूह विजेता बन्ने दाबेदारी प्रस्तुत गरेको अर्जेन्टिनालाई हराउँदै साउदी अरब जारी विश्वकपमा जित दर्ता गर्ने पहिलो एशियाली राष्ट्र बनेको छ।

काठमाडौँ– अर्जेन्टिनाको फितलो डिफेन्सको भरपूर फाइदा उठाउँदै कतार विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा साउदी अरब २–१ ले विजयी भएको छ। 

समूह विजेता बन्ने दाबेदारी प्रस्तुत गरेको अर्जेन्टिनालाई हराउँदै साउदी अरब जारी विश्वकपमा जित दर्ता गर्ने पहिलो एशियाली राष्ट्र बनेको हो।

यसअघि जारी विश्वकपमा आयोजकसमेत रहेको एशियाली टोली कतारले पहिलो खेलमा इक्वेडरसँग २-० गोल अन्तरको पराजित बेहोरेको थियो। मंगलबार सम्पन्न खेलमा साउदी अरबका सालेह अल-शेहरी र सलेम अल-दसारीले गोल गरे। यता, अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको गोल सान्त्वना बन्यो।

खेलको अधिकांश समय आक्रमण बुन्न व्यस्त रहेको अर्जेन्टिनाले निरन्तर साउदी अरबको पोस्टमा आक्रमण गरेको थियो। तर, टोली तीन पटक अफसाइडकै कारण अग्रता बढाउन चुक्यो।

खेलको नवौँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो। कर्नर प्रहार गर्ने क्रममा पेनाल्टी क्षेत्रभित्र फउल भएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहयोगमा पेनाल्टी दिएका थिए। मेस्सीले पेनाल्टीलाई सदुपयोग गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।

२२औँ मिनेटमा मेस्सीले डिफेन्स लाइन पार गर्दै वन भर्सेस वनको अवस्थामा गोल गरेका थिए। तर, असिस्टेन्ट रेफ्रीले अफसाइडको लागि झन्डा उठाए।

२९औँ मिनेटमा लौटारो मार्टिनेजको गोललाई पनि भीएआरले मान्यता दिएन। ३४औँ मिनेटमा पनि मार्टिनेजको गोल अफसाइड भएको थियो।

पहिलो हाफमा १-० ले पछि परेको साउदी अरब खेलको ४८औँ मिनेटमा सालेह अल-शेहरीको गोलसँगै खेलमा फर्कियो। फेरास अल्ब्रिकानले अर्जेन्टिनाको डिफेन्स लाइनमा सिधा दिएको बललाई उनले जाली चुमाए।

त्यसको पाँच मिनेटमै अर्जेन्टिनाको डीबक्स भित्रबाटै सालेम अल-दसारीले गोल गर्दै साउदी अरबको अग्रता २-१ मा पुर्‍याए। गोलरक्षक एमिलियानो मार्टिनेजले उक्त प्रहार छोए पनि बचाउन भने सकेनन्।

खेलमा एक गोलले पछाडि परेको अर्जेन्टिनाले त्यसपछि पनि केही अवसर बनाएको थियो। तर, फिनिशिङमा चुक्दा गोल भने गर्न सकेन। अर्जेन्टिनाले विश्वकपअन्तर्गत समूह चरणको पहिलो खेलमै पराजय बेहोरेको यो दोस्रोपटक हो।

रूस विश्वकप २०१८ को समूह ‘डी’ को पहिलो खेलमा पनि अर्जेन्टिनाले आयरल्यान्डसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। 

जितसँगै साउदी अरबले ३ अंक जोडेको छ।