विश्वकप : लेवान्डोस्कीले गोल गर्न बाँकी एउटै प्रतियोगिता

पछिल्ला दुई विश्वकप छनोट चरणका खेलहरूमा लेवान्डोस्कीले २० खेलमा २४ गोल गरिसकेका छन्। विश्वकपमा भने उनी गोलरहित छन्।

विश्व फुटबलको सबैभन्दा उत्कृष्ट गोलकर्तामध्ये एक हुन् पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की। जर्मन क्लब बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड होस् या क्याटलान क्लब बार्सिलोना नै किन नहोस् उनले यो कुरा सबै ठाउँमा प्रमाणित गरिसकेका छन्। तर, उनले आफूलाई प्रमाणित गर्न बाँकी रहेको एउटै ठाउँ हो, फिफा विश्वकप।

पछिल्ला दुई विश्वकप छनोट चरणका खेलहरूमा लेवान्डोस्कीले २० खेलमा २४ गोल गरिसकेका छन्। तर, विश्वकप जस्तो ठूलो प्रतियोगितामा भने उनी गोलविहीन छन्।

बीबीसी रेडियो ५ लाइभका लागि गुइलम बालागसँगको एक घण्टा लामो अन्तर्वार्तामा ३५ वर्षीय लेवान्डोस्कीले यसपटकको कतार विश्वकपमा आफ्नो लक्ष्य गोल गर्नु नै रहेको बताए। “विश्वकपमा गोल गर्नु मेरो सपना हुनेछ। सपना पूरा गर्न म सबैथोक गर्न तयार छु। म आशावादी छु, यही विश्वकपमा त्यो पूरा हुनेछ”, उनी भन्छन्।

जारी कतार विश्वकपमा पोल्यान्ड समूह ‘सी’ मा रहेको छ। यस समूहमा अर्जेन्टिना, मेक्सिको र साउदी अरब रहेका छन्। पोल्यान्डले समूह चरणको पहिलो खेलमा मंगलबार मेक्सिकोसँग खेल्दै विश्वकपको शुरूआत गर्नेछ। यो खेल नेपाली समयअनुसार बेलुका ६ः४५ बजेबाट शुरू हुनेछ।

सन् २०१० मा दक्षिण अफ्रिका र सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपमा पोल्यान्ड छनोट हुन योग्य भएन। त्यसको चार वर्षपछि रसिया विश्वकपमा पोल्यान्ड छनोट त भयो, तर समूह चरण पार गर्न सकेन।

लेवान्डोस्कीकै उत्कृष्ट प्रदर्शनमा पोल्यान्ड १२ वर्षपछि सन् २०१८ मा विश्वकप फुटबलमा फर्किएको थियो। पोल्यान्डलाई विश्वकप छनोटको समूह ‘एच’को विजेता बनाउँदै रसिया विश्वकपमा छनोट गराउने क्रममा लेवान्डोवस्की एक्लैले १० खेलमा १६ गोल गरेका थिए।

छनोट चरणमै लयमा देखिएका भएर होला उनीमाथि निकै आशा गरिएको थियो। तर, उनी चल्न सकेनन्।

रसिया विश्वकपको समूह ‘ए’मा परेको पोल्यान्डले जापान, कोलेम्बिया र सेनेगलसँग खेलेको थियो। तर, समूह चरणको पहिलो खेलमा सेनेगलसँग २-१ ले पराजित भएको पोल्यान्ड दोस्रो खेलमा कोलेम्बियासँग ३-० ले पराजित हुन पुग्यो। तेस्रो तथा अन्तिम खेलमा भने जान बेड्नारेकको निर्णायक गोलमा जित हासिल गर्‍यो। तर, उक्त एकमात्रै जितले पोल्यान्डलाई अन्तिम १६ मा पुर्‍याउन सकेन।

यसपटक पनि पोल्यान्डलाई विश्वकपमा पुर्‍याउन लेवान्डोस्कीकै उत्कृष्ट प्रदर्शन रह्यो। कतार विश्वकपमा पोल्यान्डलाई छनोट गर्नेक्रममा लेवान्डोस्की एक्लैले ८ गोल गरे भने ४ गोलका लागि सहयोगी भूमिका खेले। 

सन् २००८ मा पोल्यान्डको राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका लेवान्डोस्कीले त्यसको दुई वर्षपछि बोरुसिया डर्टमुन्डमार्फत् व्यावसायिक फुटबल खेलमा हाम फालेका थिए। चार वर्ष बोरुसिया डर्टमुन्डमा रहँदा उनले सन् २०११ र १२ मा दुईपटक जर्मन बुन्डेसलिगा जिते। त्यतिमात्रै होइन, सन् २०१३ मा सोही क्लबबाट च्याम्पियन्स लिग फाइनल पनि खेले। करिब ४ वर्ष डर्टमन्डमा रहँदा उनी १३१ खेलमा ७४ गोल गर्न सफल भए।

डर्टमन्डमा उनलाई तिखार्ने काम भने हाल इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका मुख्य प्रशिक्षक जुर्गेन क्लोपले गरे। उनले डर्टमन्डलाई उपाधि मात्रै दिलाएनन् लेवान्डोस्कीलाई उत्कृष्ट फरवार्ड बनाउन पनि धेरै मेहनेत गरे।

“उहाँसँग प्रशिक्षण लिन पाउनु नै गर्वको कुरा हो। उहाँले मलाई म बनाउन धेरै मेहनेत गर्नुभयो”, उनी भन्छन्, “तिमीले प्रशिक्षणमा देखाएको जति प्रदर्शन खेलमा ७० प्रतिशत मात्रै देखाउन सक्यौँ भने म खुशी हुनेछु भनेर फुर्काउनु हुन्थ्यो।”

सन् २०१३ को च्याम्पियन्स लिग फाइनलमा अर्को प्रतिस्पर्धी बार्यन म्युनिखसँग डर्टमन्ड २-१ गोलले पराजित भयो। त्यसपछि भने उनले क्लब पनि फेर्ने इच्छा जताए। उनको पहिलो रोजाइ बन्यो डर्टमन्डलाई हराउने शताब्दीकै उत्कृष्ट क्लब बार्यन।

सन् २०१४-१६ को बिचमा उनले अर्का प्रख्यात प्रशिक्षक पेप ग्वार्डिओलासँग सहकार्य गर्ने मौका पाए। हाल इङ्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक रहेका ग्वार्डिओला र लेवान्डोस्कीको जोडी खुब जम्यो। उनीहरू दुईले बुन्डेसलिगा, डीएफबी पोकल (जर्मन कप) र सुपर कपसमेत जिते।

“मैले पेपलाई २५ वर्षको उमेरमा भेटेको थिएँ। उहाँसँग दुई वर्ष काम गरेँ र सिक्न बाँकी रहेको सबै कुरा सिकेँ”,  लेवान्डोस्की भन्छन्।

आठ वर्ष बायर्नबाट खेलेका लेवान्डोस्कीले प्रत्येकमा बुन्डेसलिगा जिते। साथै च्याम्पियन्स लिग, फिफा क्लब वर्ल्डकप र २०२० मा युईएफए सुपर कप पनि उनले उचाल्ने मौका पाए। सो क्रममा २५३ खेल खेलेका उनले २३८ गोल गरे।

उनी हाल क्याटलान क्लब बार्सिलोनामा आबद्ध छन्। गत अगस्टमा बार्सिलोना र म्यानचेस्टर सिटीबीचको मैत्रीपूर्ण खेलमा लेवान्डोस्कीको भेट पूर्वप्रशिक्षक ग्वार्डिओलासँग भएको थियो।

नशासम्बन्धी घातक रोग एम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस (एएलएस) बारे सचेतना जगाउन आयोजना गरिएको खेल ३-३ गोलको बराबरीमा सकिएको थियो। तर, उक्त खेलमा भने लेवान्डोस्की मैदान उत्रिन पाएनन्।

गत समरमा स्टार फरवार्ड लिओनल मेस्सीसँग क्लबले सम्झौता थप नगर्ने घोषणा गरेसँगै उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगे। उनको बहिर्गमनसँगै लेवान्डोस्कीको लागि बार्सिलोनाको ढोका खुला भयो। हालसम्म बार्सिलोनाबाट १९ खेलमा १८ गोल गरिसकेका लेवान्डोस्की उत्कृष्ट लयमा छन्।

क्लब करियरमा हासिल गर्नुपर्ने सबै कुरा हासिल गरिसकेका लेवान्डोस्कीको उमेरले पनि सन्न्यास पर्खिरहेको छ। तर, उनी अमेरिका, क्यानडा र मेक्सिकोमा सन् २०२६ मा आयोजना हुने विश्वकपसमेत खेल्न चाहन्छन्।

“मलाई यो मेरो अन्तिम विश्वकप हो जस्तो लाग्दैन, म अर्को विश्वकप खेल्न चाहन्छु”, उनले थपे। तर, राष्ट्रिय टोलीबाट १३४ खेलमा ७६ गोल गरिसकेका लेवान्डोस्कीको ध्याउन्न भने यही विश्वकपमा गोल गर्नमा रहनेछ। 

-एजेन्सीको सहयोगमा