सार्वजनिक यातायातका ठेलमठेल भीडमा कोचिने अधिकांश महिलालाई सोध्ने हो भने हातमा गनिने मात्रै होलान्, जसले हिंसा नभोगेका हुन्। पीडित हुन त सार्वजनिक यातायातमा भीड पनि हुनुपर्दैन।
जीवनका कुनै न कुनै क्षणमा हामी सबैजसो भीडमा पुगेका होलाऊँ। जीवनका दुई दशक काटिसक्दा मात्रै पनि म धेरै पटक भीडमा परेकी छु, चेपिएकी छु। अस्पताल जाँदा होस् या गाडी चढ्दा, सरकारी कार्यालय पुग्दा या मन्दिर जाँदा अथवा सामान किन्न असन बजारका साँघुरा बाटो हिँड्दा।
टुकुटुकु हिँडेयता कहिले आमासँग त कहिले अन्य अभिभावकसँग भीडहरूमा पुगेकी मैले आजका दिनसम्म पनि भीडसँग जुझ्ने हिम्मत जुटाउन सकेकी छैन। भीडमा पुग्दा उल्टै अतासिन्छु। यत्रा वर्षसम्म दोबाटो र चौबाटोहरू पार गरिरहँदा भीडहरूसँग अभ्यस्त भइसक्नुपर्ने हो, तर भीडलाई सहजै छिचोल्ने क्षमता ममा अझै पलाएको रहेनछ भन्ने थाहा पाउँदै छु।
दश एघार वर्षको हुँदा रोल्पाली फिल्म ‘घाव नाङखार’ हेर्न म, मम्मी, सानी बहिनी, छिमेकी दिदी र उनकी छोरी काठमाडौँको कुनै हलमा पुग्यौँ। सिट नभए पनि हामी भुईँमै बसेर चलचित्र हेरेर आयौँ। बहिनी बोक्नुभएकी ममीले मलाई हात समाएर डोर्याइरहनुभएको थियो, दिदीले आफ्नै छोरी। फिल्म सकिएर फर्कँदा यस्तो भीड थियो कि आमाको हात समाएकी म भीडमै च्यापिएँ। धन्नै मरिनँ, यस्तै लाग्यो। रुनबाहेक अरू केही गर्न सकिनँ। त्यसयता म ‘हाउसफुल’ भएका बेला फिल्म हल जाने चेष्टै गर्दिनँ।
ममी र आफन्तका साथमा तीज र शिवरात्रिका बेला पशुपति होस् या माघमा शाली नदीको मेला अथवा अन्य विभिन्न अवसरमा दक्षिणकाली मन्दिरमा जाँदासमेत भीडमा च्यापिएका सम्झना छन्। भीडमा च्यापिने मात्रै होइन, कति बेला त भीडमा हराउँथे पनि। तर ममीको फोन नम्बर याद भएका कारण अपरिचित मानिसका मोबाइलबाट फोन गरेर पुनः अभिभावक भेट्टाउँथे। भीडबाट बच्चा हराउँदा परिवार र आफन्तमा कस्तो मनोदशा हुन्थ्यो भनेर उनीहरूसँग भेटिएपछि तिनबाट थाहा पाउँथेँ। अपरिचित ठाउँमा हराउनुका पीडा मैले केही हदसम्म बुझ्ने मौका पनि पाएकी छु।
पहिलाझैँ अब ममीको पछिपछि लागेर हिँड्नुपर्ने अवस्था अब रहेन। आफ्नै खुट्टा लागेपछि आफ्नै मर्जी। भीडको सास्तीले धार्मिक पर्व र मेलाहरूमा जानै छाडेँ। सोही कारण ममीमा चिन्ता छ– छोरीमा कतै धार्मिक आस्था त हराएन?
गत साल कृष्णाष्टमीको दिन, ममीसँगै बुढानीलकण्ठस्थित 'इस्कन'को कृष्ण मन्दिर गयौँ। ममी पनि 'छोरीको आस्था फर्कियो' भनेर खुशी हुनुभयो। त्यहाँ पनि भीड थियो।
गत नववर्षको दिन हामी सपरिवार चन्द्रागिरि गयौँ। केबलकारमार्फत फर्कने क्रममा त झनै यति भीड भयो कि केबलकार चढेर फर्कन लागेका तिर्थालु/पर्यटकबीच झगडै पर्यो। भीड उत्तिकै थियो, त्यसमाथि बेलाबेलामा केबुलकार अड्किने/रोकिने भएर मानिसहरूमा डर र सन्त्रासको वातावरण पनि थियो।
समय घर्कँदै जाँदा टाढा–टाढा घर भएकाहरूले या घर जान हतार पर्नेहरूले केबुलकार चढ्न बसाइएको लाइन मिच्न थाले। मानिसबीच कोलाहल मच्चियो। तोडफोडसमेत भयो। प्रहरीलाई भीड व्यवस्थापन गर्न (अनुशासित राख्न!) मुस्किल पर्यो। धन्न, 'चन्द्रागिरि हिल्स' व्यवस्थापनकै गल्ती भएका भएका कारण निश्चित रुटसम्म यात्रुलाई गाडीमै पठाउने व्यवस्थाले धेरैलाई सहज भयो। त्यस दिनको भीडले अर्को पाठ सिकायो, विशेष अवसर, पर्व र महोत्सवहरूमा धेरै भीड हुने हुँदा यसबाट बच्नु नै ठीक।
सन् २०२२ को साफ महिला च्याम्पियनसिपका खेल प्रिय साथीहरूसँगै बसेर हेर्ने रहर थियो। नेपाली महिलाले छिमेकी देशका खेलाडीसँग फुटबलमा भिडेको हेर्न रंगशालामा हजारौँ दर्शक आएका थिए। देशप्रति माया दर्साउन र खेलाडीको हौसला बढाउन आएका थिए उनीहरू। आफ्नो देशको जर्सी र झन्डा देख्दा जसरी पनि रंगशाला पुगेर खेल हेर्छु झैँ लागेको थियो, तर हिम्मत जुटेन।
मलाई ‘भीड छिचोलेर रंगशालाभित्र त पस्न सकुँला, तर भीडका बीचमा चेपिएर भित्र नै घाइते हुन्छ या निसासिएर मर्छु झैँ’ लाग्यो। यस्तो मनोदशाका कारण अन्ततः हार मानेर गेटबाटै फर्किएँ। साथीहरूलाई भने, “भयो, हामीले सक्दैनौँ।”
माथि उल्लेख भएका मठमन्दिर, रंगशालाजस्ता ठाउँमा त नजाँदा पनि फरक पर्दैन। ती ठाउँमा सहज दिनमा पनि जान सकिन्छ। नजाँदा पहाडै खस्ने पनि होइनन्। तर अस्पताल, सार्वजनिक यातायात, सरकारी कार्यालयका लाइन/भीडमा नगई सुखै छैन। आफूलाई सहज लागोस् या नलागोस्, त्यहाँ हामीहरू पेलिइनु नै पर्छ, भीडसँग भिड्नै पर्छ। कतिपय अवस्थामा यस्ता भीडमा मिच्ने र पालो नपर्खने अनुशासनहीन र हुल्याहाहरू पनि हुन्छन्, तीसँग पनि जुझ्नुपर्छ। त्यस्तासँग भिड्नुपर्दा नभएको 'तागत' पनि त्यसै 'लो' भइदिन्छ।
भीड सबैका लागि चुनौतीपूर्ण हुन्छ, तर महिलाका लागि अझै त्रासदपूर्ण बन्न जान्छ।
उदाहरणका लागि आफ्नै आफन्तले भोगेको घटना पेस गर्न चाहन्छु। आजभन्दा ५/६ वर्षअघि मामाको छोरी दाङबाट भर्खर भर्खर काठमाडौँ आएकी थिइन्। बागबजारको कुनै इन्स्टिच्युटमा ‘ब्रिजकोर्स’ पढ्न बालाजुदेखि माइक्रोबसमार्फत आवतजावत गर्थिन्। एक दिन आफ्नी बिरामी आमासँग पिर पोख्दै उनी रोइन्, "ममी, मलाई स्कुटर किनिदिनूस्, सार्वजनिक यातायातमा काठमाडौँमा सधैँ यात्रुको भीड हुन्छ। मौका छोपेर अपराधीहरूले तिनका हात हाम्रा छाती र पिठ्युँमा पुर्याउन आउँछन्। कति सहने? कसरी सहने?"
म सुनिरहेको थिएँ, "कहिले त भीडमा कसले हात ल्यायो, चालै पाउँदिनँ। चिनेरै आवाज उठाउँदा पनि भीडको ठेलमेलमा अनजानमा छुन पुगेको हो भनेर टार्छन्। उल्टै यस्तो अप्ठ्यारो भए निजी गाडी चढे भइहाल्यो भनेर हप्काउन भ्याउँछन्। कोही त उल्टै पिटुलाँझैँ गरेर झम्टन्छन्। यो सबै सहेर मुख बन्द गरेर कहिलेसम्म हिँड्ने? यस्तै घटनाले कहिले त मेरो त पढाइमा ध्यानसमेत जाँदैन। लौन ममी!"
उनले त्यसरी बिलौना गरेकै यत्रा वर्ष भयो, र अहिले पनि यी सबै सहेर सार्वजनिक यातायातमा हिँड्छिन्। हास्यास्पद त के भने, बहिनीको मर्का बुझ्नु साटो परिवारले ‘स्कुटर किन्न बहाना’मा बनावटी कथा रचेको ठाने, जबकि सार्वजनिक यातायातका ठेलमठेल भीडमा कोचिने अधिकांश महिलालाई सोध्ने हो भने हातमा गनिने मात्रै होलान्, जसले हिंसा नभोगेका हुन्। पीडित हुन त सार्वजनिक यातायातमा भीड पनि हुनुपर्दैन। भीड हुँदा नि आतंक, मान्छे कम हुँदा नि आतंक।
सार्वजनिक यातायातमा मात्र नभई अन्यत्रका भीड पनि महिलाका लागि त्रासद हुन्। कतिपय मान्छे धर्म, पूजापाठ र अनुष्ठानले मान्छे नैतिकवान् र 'सत्कारी' हुने तर्क गर्छन्, महिला र किशोरीहरूलाई सोध्दा थाहा हुन्छ, त्यस्ता अवसरमा समेत कसरी कुण्ठाग्रस्त ‘ब्वाँसाहरू मौकाको पर्खाइ’मा हुन्छन्।
अन्त्यमा, गत माघ १ गते टुँडिखेलमा मगर तथा थारू समुदायले आयोजना गरेको माघे संक्रान्तिको कार्यक्रममा भीडमा च्यापिएर १६ जना घाइते भए। २०४४ सालमा दशरथ रंगशालाभित्र फुटबल खेल चलिरहँदा ठूलो हावा हुन्डरी र मुसलधारे वर्षासँगै आएको असिना पानीका कारण भागाभाग हुँदा ठेलमठेलमा किचिएर ९३ जनाको ज्यान गएको थियो।
भीडबाट हुने यस्ता भौतिक मृत्युको कुरा त छँदैछ, त्यसबाट महिला, बालबच्चा र किशोरीले भोग्ने मनोवैज्ञानिक हिंसा र त्रास उत्तिकै कहालीलाग्दो छ। जगत् रहुन्जेल भीडभाड रहला, तर आफ्ना खास गरी छोरीहरूको भीडदेखिको त्रास हटाउन राज्यदेखि परिवारले पनि सोच्नुपर्छ।
आज धेरैलाई ख्याल नहोला, तर यकिनसाथ भन्न सकिन्छ– महिलालाई मनोवैज्ञानिक रूपमा लामो समययता कमजोर पारिँदा मानव सभ्यता, समृद्धि र विकास नै पछि परेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
