विश्वकपमा पहिलोपटक भेट हुन लागेका यी दुई देश यसअघि चारपटक खेल्दा दुई खेलमा अर्जेन्टिना विजयी भएको थियो भने दुई वटा बराबरीमा टुंगिएका थिए।
गत वर्ष कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिना यसपटक विश्वकप उपाधि जित्ने लक्ष्यका साथ कतार पुगेको छ। तर, मुख्य प्रशिक्षक लिओनल स्कालोनीलाई कतारमा आफ्नो टोलीको प्रतीक्षामा रहेका चुनौतीहरूबारे धेरै सचेत छन्। समूह ‘सी’को पहिलो खेलमा अर्जेन्टिनाले नेपाली समयअनुसार दिउँसो ३:४५ बजे साउदी अरबसँग खेल्दै छ।
सन् २०२१ मा आयोजना भएको कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई हराएर अर्जेन्टिना च्याम्पियन बनेको थियो। त्यसको केही महिनापछि भएको कतार विश्वकप छनोटअन्तर्गत भएका १७ खेलमा अपराजित रहँदै अर्जेन्टिनाले कतार ओर्लने सहज बाटो निर्माण गर्यो।
अर्जेन्टिनाले यसपटक आफ्नो अन्तिम विश्वकपमा 'स्टार फरवार्ड' लिओनल मेस्सीको नेतृत्वमा उपाधि जित्ने लक्ष्य राखेको छ। पाँचौँ विश्वकप खेलिरहेका मेस्सीसँग आफ्नो ९१ अन्तर्राष्ट्रिय गोलको संख्यामा थप्ने उत्कृष्ट मौका छ। उनीभन्दा अगाडि धेरै अन्तराष्ट्रिय गोल गर्नेको सूचीमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो (११७) छन्।
अर्जेन्टिनाले मेक्सिको र पोल्यान्डको सामना गर्नुअघि मंगलबार लुसेल स्टेडियममा साउदी अरबविरूद्ध खेल्दै छ। पछिल्लो फिफा वरीयतामा ५१औँ स्थानमा रहेको साउदी अरबविरुद्धको खेल सजिलो नरहेको अर्जेन्टिनाका मुख्य प्रशिक्षक स्कालोनी बताउँछन्।
“हामी साउदी अरबलाई राम्ररी चिन्छौँ। साउदी अरब एकदमै राम्रो टोली हो। प्राविधिक रूपमा पनि बलियो टोली हो, जसमा छिटो खेल्न सक्ने खेलाडीहरू छन्। यसले हाम्रो लागि गाह्रो बनाउनेछन्”, मुख्य प्रशिक्षक स्कालोनीको भनाइ उधृत गर्दै द स्पोर्ट्स टकले उल्लेख गरेको छ।
रूस विश्वकप २०१८ को समूह ‘डी’ को पहिलो खेलमा आयरल्यान्डसँग अनपेक्षाकृत १-१ गोलको बराबरी खेल्दै अर्जेन्टिनाले अंक बाँडेको थियो। उक्त खेलमा मेस्सीले गोल गर्ने केही मौका गुमाएका थिए। मेस्सीले द स्पोर्ट्स टकसँग भनेका छन्, “मलाई त्यो खेल राम्रोसँग याद छ, मैले धेरै मौकाहरू खेर फ्याँके र हामीले ड्र खेल्यौँ।”
उनले चालु विश्वकपमा साउदी अरबविरूद्धको खेल आफ्नो लागि महत्त्वपूर्ण हुने पनि बताएका छन्। “पहिलो खेल सधैँ महत्त्वपूर्ण हुन्छ। साउदी अरबसँगको खेलमा पूरा तीन अंक लिन सकेनौँ भने मेक्सिकोसँगको खेलमा दबाबको माहोल सिर्जना हुन्छ”, मेस्सीले भनेका छन्। यद्यपि, मुख्य प्रशिक्षक स्कालोनी यसपटक कतार विश्वकपको पहिलो खेल पनि सधैँ झैँ कठिन हुने बताउँछन्।
“साउदी अरबसँग विश्वकपमा हाम्रो पहिलो खेल हो, जुन सधैँ कठिन हुन्छ। तर, यो विश्वकप हो र हरेक खेल कठिन छ। हामीलाई दबाब छैन। अर्जेन्टिनाको लागि फुटबलले के प्रतिनिधित्व गर्छ भन्ने हामी सचेत छौँ,” उनले भनेका छन्, “तर, यो खेल हो। त्यसैले हामी मैदानमा उत्रिनु पर्छ र आफ्नै काम गर्नुपर्छ।”
ब्राजिल (पाँच पटक) र उरुग्वे (दुई पटक) सँगै अर्जेन्टिना विश्वकपको उपाधि जित्ने दक्षिण अमेरिकी टोलीमध्ये एक हो। अर्जेन्टिनाले पनि दुईपटक नै उपाधि जितेको छ। यद्यपि, सन् १९८६ मा पूर्वस्टार डिएगो म्याराडोनाको कप्तानीमा उपाधि जितेयता अर्जेन्टिनाले त्यो सफलता दोहर्याउन सकेको छैन।
विश्वकपले अर्जेन्टिनालाई विगत तीन दशकमा खुशीको तुलनामा धेरै पीडादायी सम्झनाहरू प्रदान गरेको छ। आठ वर्षअघि सन् २०१४ मा ब्राजिलमा भएको २०औँ संस्करणको विश्वकपमा जर्मनीसँग फाइनलमा १-० ले हार्दै अर्जेन्टिना उपाधि रक्षा गर्न चुकेको थियो। त्यसअघि सन् १९९० मा फाइनलमा तत्कालीन पश्चिम जर्मनीसँग पराजित भएको थियो।
यसपटक मुख्य प्रशिक्षक स्कालोनी यी निराशाजनक नतिजाहरू बिर्सँदै उपाधि रक्षा गर्ने दाउमा हुने छन्। यता, साउदी अरब पनि समूह चरणबाट दोस्रो पटक अगाडि लक्ष्य हुनेछ। सन् १९९४ देखि २००६ सम्म लगातार खेलेको साउदी अरबको कतार विश्वकपमा छैटौँ सहभागिता हो।
साउदी अरब सन् २०१० मा दक्षिण अफ्रिका र सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपमा मात्रै छनोट हुन सकेको थिएन। सन् २०१८ मा पुनरागमन गरेको टोलीले यस पटक पनि एसियाली छनोट पार गर्यो।
दुईपल्टको अफ्रिका कप अफ नेसन्सको उपाधि विजेता प्रशिक्षक हर्भे रेनार्डको प्रशिक्षणमा साउदी अरबले कतार विश्वकप छनोटका लागि खेलिएको आठमध्ये ६ मा जित र दुई खेलमा बराबरी खेलेको थियो। उसले उज्वेकिस्तान र सिंगापुरविरुद्धका चार खेलमा जित हात पार्यो भने यमन र प्यालिस्टाइनसँगको १-१ खेलमा बराबरी खेल्यो।
साउदी अरबका मुख्य प्रशिक्षक रेनार्डसँग सन् २०१२ मा जाम्बियालाई अफ्रिका कप अफ नेसन्सको उपाधि जिताएको अनुभव छ। उक्त प्रतियोगितामा आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ८-७ ले पराजित गर्दै जाम्बियालाई पहिलो उपाधि दिलाउने प्रशिक्षक बनेका थिए। त्यसको तीन वर्षमै उनले पुनः आइभरी कोस्टलाई अफ्रिका कप अफ नेसन्सको उपाधि दिलाउन सफल भएका थिए।
सन् २०१८ को रसिया विश्वकपमा रेनार्डले मोरक्कोको नेतृत्व गरेका थिए। तर, स्पेन र पोर्चुगलजस्ता बलिया टोली रहेको समूह ‘बी’ मा मोरक्कोले इरान र पोर्चुगलसँग समान १-० को हार बेहोर्यो। अन्तिम खेलमा भने उसले स्पेनलाई २-२ गोलको बराबरीमा रोकेको थियो।
यसपटक मुख्य प्रशिक्षक रेनार्डले साउदी अरबसँग अर्को जादूई यात्राको सपना देखिरहेका छन्। समूह ‘सी’मा रहेका अर्जेन्टिना, मेक्सिको र पोल्यान्डलाई हराउँदै दोस्रो चरणमा पुग्ने लक्ष्य रहेको उनी बताउँछन्। “हामी रहेको समूहमा कठिन प्रतिद्वन्द्वी छन्। तर, एक प्रशिक्षक या खेलाडी हुनुहुन्छ भने तपाईँले विश्वकपमा छनोट हुने र आफूलाई उत्कृष्टविरुद्ध खडा गर्ने सपना देख्नुपर्छ,” उनले भनेका छन्।
विश्वकपमा पहिलोपटक भेट हुन लागेका अर्जेन्टिना र साउदी अरब चारपटक आमुन्नेसामुन्ने भएका छन्। सन् १९८८ मा अस्ट्रेलिया बाइसेन्टेनियल गोल्डकपको समूह चरणमा पहिलोपटक भिडेका अर्जेन्टिना र साउदी अरबले २-२ गोलको बराबरी खेलेको थियो। सोही प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा भने अर्जेन्टिनाले साउदी अरबलाई २-० ले हराउन सफल भएको थियो।
त्यसको चार वर्षपछि किङ फहद कप (फिफा कन्फेडेरेसन कप)को फाइनमा भएको भेटमा अर्जेन्टिनाले साउदी अरबलाई ३-१ ले हराएको थियो। पछिल्लोपटक सन् २०१२ मा यी दुई टोलीको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो।
प्लेयर टु वाच
लिओनल मेस्सी
फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मन (पीएसजी)सँग आफ्नो दोस्रो सिजनमा मेस्सी उत्कृष्ट लयमा फर्किएका छन्। उनले सबै खाले प्रतियोगिताहरूमा २७ गोल गरिसकेका छन्। यद्यपि, ३५ वर्षीय कप्तान मेस्सीको फिटनेसलाई लिएर पनि प्रश्न उठिरहेको छ। मेस्सीले टोलीबाट अलग अभ्यास गरेका छन्। अर्जेन्टिना फुटबल संघले मेस्सीमा मांसपेशी थकानको सामान्य लक्षण देखिएको बताएको छ। यस्तो अवस्थामा मेस्सीले साउदी अरबविरुद्ध पूरा ९० मिनेट खेल्न सक्छन् कि सक्दैनन्, त्यो हेर्ने बाँकी छ।
मेस्सीको यो नै आफ्नो अन्तिम विश्वकप हुनसक्छ। गत वर्ष कोपा अमेरिकाको उपाधि जितेर उपाधिविहीन आफ्नो यात्रामा पूर्णविराम लगाएका छन्। उनी यसपटक आफ्नो देशसँग विश्व च्याम्पियन बन्न कटिबद्ध छन्।
मेस्सी अघिल्लो चार विश्वकपमा नकआउट चरणमा गोल गर्न असफल भएका छन्। तर, उनले समूह चरणमा ६ पटक गोल गरेको छन्।
सालेह अल-शेहरी
यस वर्ष शुरुमा डोपिङ परीक्षणमा असफल भएका विंगर फहाद अल मुवाल्लादलाई साउदीले टोलीबाट हटाइएको छ। सन् २०१९ मा पनि डोपिङमा दोषी पाइएपछि उनले प्रतिबन्ध भोगेका थिए। यसपटक पनि उनलाई १८ महिनाको प्रतिबन्ध लगाइएको छ।
उनले प्रतिबन्ध भोगेसँगै साउदीले अन्तिम समयमा विश्वकप खेल्न जाने टोलीमा हेरफेर गरेको थियो। उनको स्थानमा सालेह खेल्ने छन्। सन् २०२० मा मात्रै साउदी अरबको सिनियर टोलीमा डेब्यू गरेका २९ वर्षीय सालेहले २० खेलमा १० गोल गरिसकेका छन्। उनले साउदी अरबको युवा टोलीबाट पाँच वर्ष फुटबल खेल्दा ११ खेलमा ११ गोल गरेका थिए।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
