स्वतन्त्र मिडियाले विश्वभर सत्तालाई प्रश्न सोध्छन्, तर भारतीय मिडिया सत्ताको लाजमर्दो हरिकीर्तन गाइरहेका छन्। र, मिडियाको क्यामरामा मोदी स्वयं राम र हरिभन्दा उच्च स्थानमा रहेकोझैँ देखाइन्छन्।
मेरो लागि राम र रहिम (अल्लाह) एउटै हुन्। सत्य र धार्मिकताको एउटै ईश्वरबाहेक म अरू कसैलाई मान्दिनँ-महात्मा गान्धी
'विश्वकै सबैभन्दा ठुलो भारतीय लोकतन्त्र' संवैधानिक रूपमा र केही हदसम्म व्यवहारमा धर्मनिरपेक्षताको जगमा उभिएको थियो। त्यस देशका संविधान निर्माताहरूले कुनै डर वा पक्षपातबिना सबै धर्मप्रति समान व्यवहार गर्दै स्पष्ट रूपमा राज्यलाई कुनै धर्मको प्रवर्द्धनमा संलग्न नगराउने उच्चतम आदर्शलाई संविधानमा संस्थागत गरे। राज्यले सबैप्रति समभाव देखाउनुपर्छ भन्दै मानवतावादको पक्षमा उभिए। भारतको त्यस प्रतिविद्धताले धार्मिक गतिविधि र राज्यका कार्यहरूलाई एक हदसम्म केही दशक अलग राख्यो।
तर भारतीय संविधानको प्रस्तावनामा व्यक्त गरिएको त्यस्तो महान् आकांक्षा अहिले एक बेतुक कल्पना र क्रूर मजाकजस्तै हुन पुगेको छ। भ्रातृत्व, सहिष्णुता र समावेशीकरणको विश्वव्यापी भावनालाई हाल भारतमा फैलिरहेको अहंकारपूर्ण धार्मिक राष्ट्रवादले दूषित तुल्याउँदै लगेको छ। धर्म व्यक्तिगत आस्था र साधनाको माध्यमभन्दा पनि राजनीतिक औजारको रूपमा प्रयोग हुँदै गएको छ। सन् २०१४ मा भारतीय प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीको उदयपश्चात् ठुलो डेमोक्रेसी (लोकतन्त्र) ठूलो थियोक्रेसी (धर्मतन्त्र) मा परिणत भएको छ। भारतीय लोकतन्त्रको जग निकै कमजोर हुँदै गर्दा मोदी स्वयं भने धर्मको आडमा अकण्टक तानाशाहका रूपमा उदाएका छन्।
मोदीका लागि राजनीतिको सबैभन्दा सहज साधन भएको छ धर्म। स्वतन्त्र मिडियाले विश्वभर सत्तालाई प्रश्न सोध्छन्, तर भारतीय मिडिया सत्ताको लाजमर्दो हरिकीर्तन गाइरहेका छन्। र, मिडियाको क्यामरामा मोदी स्वयं राम र हरिभन्दा उच्च स्थानमा रहेकोझैँ देखाइन्छन्। तानासाही सत्ता टिकाउन अकूत शक्ति र सम्पत्तिको परिचालन आवश्यक हुन्छ, त्यसका लागि कर छली र संस्थागत भ्रष्टाचार आवश्यक हुन्छ। यस कर्ममा अदानी र अम्बानीजस्ता कुटिल अरबपति मोदीलाई र मोदी तिनलाई रिझाइरहेका छन्, जबकि सरकारको आर्थिक नीतिको मार भारतका किसान र मजदुर वर्गले भोग्नुपरेको छ। पित वस्त्रधारी अरबपति जोगीहरू पनि यही मौकामा मोदीको गाथा गाउँदै शक्ति र अर्थ विस्तारमा तीव्र रूपमा सक्रिय छन्। ठुला जंगल र भूमिहरूको अपारदर्शी खरिदबिक्रीले यो काल पर्यावरणका लागि समेत खतरनाक भएको छ।
यता, पहिले नै विपन्न मुसलमान र अन्य अपसंख्यकहरू मोदीको धार्मिक राजनीतिको तीव्र मारमा परेका छन्। तिनीहरू कहिले जयश्रीराम नजपेको भन्दै त कहिले गाई डोर्याएको आरोपमा कुटिएका छन्, मारिएका छन्। उसो त 'गोरक्षा'कै लागि जुटेका युवासमेत यदाकदा हिंसात्मक झडपका सिकार भएका छन्। गाईको रक्षा र मन्दिरका नाममा मोदीको शक्ति तीव्र रूपमा बढिरहँदा निमुखाहरूले यसको लाभ कहिल्यै पाउन सकेको छैनन्। बिचरा गाईहरू त सडकमै प्लास्टिक चपाउँदै हाडछाला सुकेर मरिरहेका छन्।
भारतीय रिजर्भ बैंकदेखि निर्वाचन आयोगसम्मका भारतीय स्वायत्त संस्थाको स्वायत्तता कमजोर भएको छ। न्यायपालिकासमेत राजनीतिक दबाबमा परेको छ, बाबरी मस्जिदको फैसला त्यसकै कडी थियो भनेर सिधै भन्न सकिन्छ। सरकारको बुलेटिन बोर्डमा संसद् सीमित भएको छ। भारत आर्थिक रूपमा विश्वकै सम्पन्न राष्ट्रको सूचीमा उक्लँदै गर्दा आर्थिक वृद्धिको फाइदा गरिब र निम्न वर्गसम्म पटक्कै पुग्न सकेको छैन। बेरोजगारी रेकर्ड उच्च छ। महिला श्रम शक्तिको सहभागिता घट्दै छ। सन् २०१७ को विनाशकारी विमुद्रीकरणपछि धेरै साना तथा लघु उद्यमहरू स्थायी रूपमा बन्द भएका थिए भने आम्दानी घट्दै जाँदा किसानहरू समस्यामा छन्। समस्या पहिले पनि नभएका होइनन्, तर दश वर्ष यता भारत अकल्पनीय त्रासदीमा फसेको छ।
तर यी सबै कुराले भाजपा र खासगरी त्यसका एकछत्र नेता नरेन्द्र मोदीलाई फरक पर्दैन। अब २०२४ को लोकसभा चुनाव नजिकिँदै छ र चुनाव जित्नका लागि सबैभन्दा ठुलो अस्त्रका रूपमा अयोध्यामा राम मन्दिर खडा हुँदैछ। त्यसको धूमधाम प्रचार र ब्रान्डिङ गरिएको छ। विपन्न, सिधासाधा भोका मान्छेसमेत उत्तर प्रदेशको अयोध्यामा बन्दै गरेको मन्दिरको सम्मोहनमा सहजै फस्नेछन् र अर्को कार्यकाल बिना कुनै वाधा चलाउन सकिनेछ भन्नेमा मोदी ढुक्क छन्। मोदीको कार्यकालकै सबैभन्दा ठुलो उपलब्धिका रूपमा चित्रण गरिएको राम मन्दिरको उद्घाटन सोमबार (२२ जनवरी) हुँदैछ।
भत्काइएको बाबरी मस्जिदकै स्थानमा सद्गुणको प्रतीक 'राम'को नाममा मन्दिर बन्दैछ। कतिपय हिन्दुहरू पाँच सय वर्षअघि शासक बाबरले राम जन्मभूमिको मन्दिर भत्काएर त्यहाँ मस्जिद बनाइएकाले त्यस ठाउँमा राम मन्दिर बनाइने कुराले उत्साहित छन्, तर सबैभन्दा धेरै उत्साह भाजपामा छ। राम मन्दिरलाई भाजपा र यसका महारथी मोदीले पार्टीकरण गरेका छन्। शहरमा लगाइएका पोस्टरहरूमा समेत मोदी धेरै छन्, राम थोरै छन्। यसरी आफूलाई रामकै संरक्षक र उद्धारका रूपमा भाजपा प्रचार गर्दैछ। तर सत्य के हो भने राममन्दिरको प्राण प्रतिष्ठाको नाममा गरिएको यी सबै प्रचार विषालु धार्मिकताको प्रसार र विजय हो।
तथ्य के हो भने भाजपा र आरएसएसवालाहरू मन्दिर बनाउनभन्दा पनि मन्दिर या मस्जिद भत्काएर त्यसमा राजनीति गर्न चाहन्थे, त्यसलाई हिन्दु-मुसलमान मुद्दा बनाउन चाहन्थ्यो, त्यस अभियानको शिखर हो यो तथाकथित प्राणप्रतिष्ठा। किनकि गान्धीलाई झैँ सनातनी हिन्दुहरूका लागि हिन्दु धर्म अनेकन् धर्म र संस्कृतिको 'ब्लेन्ड' हो, सहअस्तित्व र सम्मानको संस्कृति हो। अर्कोको तिर्थको चिहानमा आफू खडा हुने कुरा हिन्दु-सनातन दर्शनको चरित्र नै होइन। राम र रहिमलाई एकै देख्ने दर्शनमा निषेधको कुरा पक्कै अटाउँदैन।
धर्म कसैका लागि अफिम, कसैका लागि आस्था भएता पनि हरेक धर्मका केही स्थापित विधि र कर्मकाण्ड हुन्छन्। आजका दिनको राम मन्दिरको उद्घाटन कुनै पनि हिसाबमा शास्त्रीय छैन भनेर भारतका चारवटै शंकराचार्यले त्यसमा असहमति जनाइसकेका छन्, जबकि यी शंकराचार्यलाई सनातन हिन्दु धर्मको विशिष्ट स्थान प्राप्त छ। शंकराचार्य चार हिन्दु मठहरूको नेतृत्व गर्छन् — द्वारका (गुजरात), जोशीमठ (उत्तराखण्ड), पुरी (ओडिशा) र शृंगेरी (कर्नाटक) — जसलाई आठौँ शताब्दीका धार्मिक विद्वान र दार्शनिक आदिशंकरले स्थापना गरेको मानिन्छ।
श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायले राम मन्दिर रामानन्द समुदायको मात्र भएको बताइरहँदा चारै शंकराचार्यले मन्दिर उद्घाटनमा सहभागी हुन अस्वीकार गरेका छन्। शंकराचार्यका अनुसार मन्दिर देवताको शरीर र मूर्ति देवताको आत्माका रूपमा पुजिन्छन्। निर्माणाधीन सो मन्दिर पूर्ण रूपमा निर्माण हुन अझै २ वर्षभन्दा लाग्ने कतिपयले बताइरहेका छन्। मन्दिर (शरीर) अझै पूर्ण रूपमा नबनेको अवस्थामा सो शरीरमा प्राण (मूर्ति) को प्रतिष्ठा गर्ने कुरा धर्मशास्त्र विपरीत हुन जान्छ।
शंकराचार्यले नै मन्दिर उद्घाटन र प्राण प्रतिष्ठालाई धर्म विरोधी र राजनीतिक लाभका लागि हिन्दु भावनाको शोषण गरेको बताइरहेका छन्। अर्को कुरा, शास्त्रीय रूपमा पनि मन्दिर उद्घाटन/प्राण प्रतिष्ठाको योग जनवरी २२ उचित नरहेको तिनको दाबी छ। तर धर्म निरपेक्ष मुलुकका प्रधानमन्त्री ११ दिनदेखि 'उपवास' बस्दै मन्दिर उद्घाटनमा धुवाँदार जुटेका छन्। स्थापित धार्मिक पुजारी र आचार्यहरूले नमानेको उद्घाटन आफैँ पुजारी बन्दै गर्दैछन्। यहाँ मलाई एउटा हिन्दी हरफ याद आयो, 'जिसका काम उसे साजे दुजा करे तो डंडा बाजे!'
यता, भाजपाकै कतिपय वरिष्ठ नेतासमेत मोदीको 'सेल्फ सेन्टर्ड' राजनीतिदेखि अवाक् छन्, सुव्रमण्यम् स्वामीजस्ता राजनीतिज्ञ मोदी राममन्दिर मात्र नभई अन्यत्रका मन्दिरबाट समेत पैसा लुट्ने काम गरिरहेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्। यसरी हेर्दा अहिलेको राम मन्दिर उद्घाटनको मोदी हरकत न शास्त्रीय छ, न धार्मिक र संवैधानिक नै! राम मन्दिर यसरी सिधा सीधा राजनीतिक दाउपेचमा परेको छ।
धर्म र धर्मको राजनीति दुई अलग विषय हुन्। पहेँला झन्डा ह्यान्डीलमा झुन्ड्याएर मोटरसाइकलमा दगुर्ने या खाली खुट्टा दगुर्ने भावुक धार्मिक कार्यकर्ताहरूलाई यसको भेद थाहा हुँदैन। तर धर्मको राजनीति गर्नेलाई धर्मको मतलब हुँदैन। तिनलाई धार्मिक भावनामा मान्छे सहजै बहकिन्छन्, तन मन र धन दिन तयार हुन्छन् भन्ने थाहा हुन्छ। र, सर्वसाधारणको त्यही कमजोर भावनामा भाजपा र मोदीहरूको राजनीति बलियो हुन्छ।
हिन्दु धर्मावलम्बीले रामलाई मर्यादा पुरुषको रूपमा हेर्छन् (यसमा कतिपय तार्किकहरूले प्रश्न उठाउने अलग कुरा), तर अयोध्याको बहुपप्रचारित राम मन्दिर
अमर्यादित रूपमा उद्घाटन हुँदैछ भन्ने कुरा बहुसङ्ख्यक समझदार हिन्दुहरूले बुझ्नुपर्छ। रामलाई शान्ति र करुणाको देव मान्दै पुज्नेहरू पनि सनातन परिवारभित्र छन्। तिनले आफ्नो जीवनमा सक्दो अहिंसाको अभ्यास गर्न खोजेको देखिन्छ। तिनले यो बिर्सिनु हुन्न कि यस मन्दिरले मुस्लिमहरूलाई उनीहरूविरुद्ध हिंसा र रक्तपातको सम्झना दिलाउने छ।
अर्को कुरा, राम मन्दिरका लागि भारतको सर्वोच्च अदालतले विवादित जग्गा दिलाएसँगै मस्जिद बनाउनका निम्ति विवादित जग्गाभन्दा २५ किलोमिटरपरको जमिन दिएको बताएको थियो, तर राम मन्दिरको निर्माणको अन्तिम चरण पुग्दा पनि मस्जिद बनाउन सरकारले सुरु गरेको छैन। धर्मनिरपेक्षताको यसरी हुर्मत लिइँदा, कसैको तुष्टि पूरा भइरहँदा कसैको भने तीर्थ कहिले बन्छ भन्ने टुंगो छैन, यसमा पनि सनातनीहरूले आफ्नो हृदय विशाल पार्नुपर्छ।
यसो भन्दैगर्दा यस प्रकरणलाई अर्को सकारात्मक कोणबाट पनि हेर्न सकिन्छ। मन्दिर बनेसँगै मन्दिर मस्जिदको विवाद टुंगिने मानिएको छ, जबकि सोही विवादका कारण भारतले धेरै दंगा झेल्नुपर्यो। त्यसकै टेकोमा भाजपाजस्तो साम्प्रदायिक पार्टीले १० वर्ष शासन टिकायो, राम मन्दिरभित्रको उपवासको प्रतापले शायद अर्को शासन पनि उसकै होला। कामना गर्न सकिन्छ, मन्दिर बनेसँगै भाजपाको घिनलाग्दो राजनीतिको अन्त्य हुनेछ। तर काशी या मथुराका यस्तै अन्य 'विवादास्पद भग्नावशेष' खोतलेर भाजपा र मोदीले राजनीति गर्न भने छाड्ने छैनन्। जति नै गरे पनि धार्मिक भावनामाथि भाजपाको भावनात्मक खेलबाडको स्खलन हुनेछ राममन्दिर।
नेपालमा समेत धार्मिक-सांस्कृतिक दासता यो हदसम्म छ कि उत्तर प्रदेशको राम मन्दिरको तथाकथित प्राण प्रतिष्ठाको दिन नेपालका पालिकाहरूले बिदाको घोषणा गरेका छन्। त्यो पतोन्मुख सांस्कृतिक चेतनाको द्योतक हो, सामाजिक सञ्जालहरूमार्फत भारतीय दक्षिणपन्थीहरूले फैलिएको विषालु संक्रमणको परिणाम हो यो। त्यही संक्रमणका कारण पछिल्लो समय नेपालगन्ज र तराई मधेशका केही स्थानमा साम्प्रदायिक झडप सिर्जना गराइए। धरानमा समेत दंगा गराउन खोजियो। हुर्किँदो धर्म निरपेक्ष राज्यका रूपमा हामीले चिहान खोतलेर धार्मिक दंगा गराउन खोज्नेबाट सावधान हुनुपर्छ, किनकि सबै धर्म र समुदायबीच सौहार्दता आधुनिक र सभ्य युगको परिचय हो।
पौडेल नेपाल विद्यार्थी संघकी नेतृ हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
