सबैजसो नैतिक शिक्षाका पाठ्यपुस्तक ईश्वरको वन्दनाबाट शुरू भएबाट यस्तो लाग्थ्यो– नैतिकताका प्रकाण्ड रक्षक परमेश्वर कतै आकाशको बादलभित्र लुकेर 'अनैतिक धर्तीवासी'को चियो गरिरहेका छन्।
पुस ३ गते संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशबारे गम्भीर चिन्ता व्यक्त गर्दै भने, “पहिले नैतिक शिक्षा हुन्थ्यो, देश र इतिहासको माया हुन्थ्यो। अहिले छैन। अब शिक्षा पनि परिवर्तन गर्न आवश्यक छ।” यसो भन्दै गर्दा गम्भीर देखिएका उनले नेपालीमा राष्ट्रप्रेम मर्नु र विदेश जाने लहर बढ्नुमा ‘नैतिक शिक्षा’ पाठ्यक्रममा नसमेटिनुलाई कारक ठहर गरेको बुझिन्थ्यो।
गत बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. तोसिमा कार्कीले प्रचण्डकै ‘थिम्’ बोलिन्। “मैलै ५ कक्षामै मोरल साइन्स पढेको थिएँ। मान्छेलाई नैतिक बनाउन नैतिक शिक्षा निकै महत्त्वपूर्ण छ। किन हटाइयो? फेरि राख्न खोजिएको छ कि नाइँ?” उनले प्रश्न गरिन्।
सोही बैठकमा नेकपा (एमाले)की सांसद सरिता भुसालले विद्यार्थीलाई देशभक्तिपूर्ण र संस्कारयुक्त शिक्षा पढाउनुपर्नेमा जोड दिइन्। देशभक्तिका कुरा पढाए विद्यार्थी बिदेसिनबाट रोकिने उनको तर्क थियो। अर्का एमाले सांसद कालुराम राईले पनि पाठ्यक्रममा नैतिक शिक्षा जरुरी रहेको धारणा राखे।
गत दशैँको छेकोमा दाङमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले युवापुस्तामा नैतिक शिक्षा र अभिभावकप्रति जिम्मेवारीबोध गराउन राज्यका सबै निकायले ध्यान दिनुपर्ने बताएकी थिइन्। मंसिर २९ गते प्याब्सनको कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भनेका थिए, “अहिलेको अवस्थामा यो देशमा मजस्ता नेतालाई धेरै कुरा होइन, कम्तीमा पनि नैतिक शिक्षा पढाइदिनुभयो भने साह्रै राम्रो हुन्छ।”
संविधानको नैतिक कार्यान्वयनमा गम्भीर रूपमा चुकेकी पूर्वराष्ट्रपति भण्डारीले समेत नैतिकताका विषय आफ्ना धेरै सम्बोधनमा उठाउने गरेकी थिइन्। २०७४ माघमा चितवनमा आयोजित धान्यञ्चल महायज्ञ उद्घाटनमा तत्कालीन राष्ट्रपति भण्डारीले सुसंकृत समाज निमार्ण गर्न नैतिक शिक्षा र चेतनाको खाँचो औँल्याएकी थिइन्।
समकालीन सोच/चेतनाका केही प्रतिनिधिमूलक उदाहरण हुन् यी। यो 'स्कुल अफ् थट'का सज्जनलाई लाग्छ– अहिले देखिएका कतिपय समस्याको जड ‘नैतिकता’को अभाव हो। यीमध्ये धेरैको तर्क हुन्छ– समाज पहिले गजब थियो, अहिले बरबाद भयो। मान्छे चरित्रहीन हुँदै गए। सन्तानले ठूलाबडा र बाआमाका कुरा मान्न/मान्न छाडे। ठूलाबडाको अदब र आदर हुन छाड्यो। ‘संस्कार’ हरायो।
विचित्र के छ भने, यो समाज व्यवस्थामा ठूलो समस्या छ भन्ने ठहर गर्दै कुनै बेला हजारौँको ज्यान जाने गरी सशस्त्र द्वन्द्व हाँकेर परिवर्तनमा केही भूमिका खेलेका प्रचण्ड र सशस्त्र द्वन्द्वलाई 'व्यक्तिहत्या' भन्दै खिसिट्युरी गर्ने कार्की नैतिकताको विषयमा भने झन्डै एकै ठाउँमा आइपुगेका छन्।
के थियो नैतिक शिक्षामा?
पंक्तिकारले स्कुलमा नैतिक शिक्षा पढेको थियो। स्कुल जान पाएका हाम्रा पुस्ताले सरकारी स्कुलमा तीन फरक कक्षामा १०० पूर्णांकको नैतिक शिक्षा नै पढेझैँ लाग्छ। उपाध्याय र शर्माजीहरूले लेखेका/सम्पादन गरेका ती पुस्तकका समेटिएका अधिकांश निबन्ध, कथा र कविताहरूमा धार्मिक कथा/श्लोक भेटिन्छन्। ती पुस्तकमा जातीय/वर्ण भेद र आर्थिक असमानताका विषय उल्लेख पाठका त कुरै छाडौँ, सन्दर्भसमेत दुर्लभ थिए।
सबैजसो नैतिक शिक्षाका पाठ्यपुस्तक ईश्वरको वन्दनाबाट शुरू भएबाट यस्तो लाग्थ्यो– नैतिकताका प्रकाण्ड रक्षक परमेश्वर कतै आकाशको बादलभित्र लुकेर 'अनैतिक धर्तीवासी'को चियो गरिरहेका छन्। यी पुस्तकमा कसरी ईश्वर र ईश्वरमाथिको विश्वासले मान्छे नैतिकवान् हुन्छ भन्ने चर्चा भेटिन्छ: किन कुनै कार्य गर्न र बाधा हटाउन गणेशजीको पूजा पहिले हुन्छ? भगवती-सरस्वतीको आराधनाले कसरी ज्ञान मिल्छ?
२०५१ सालमा छापिएको ७ कक्षाको नैतिक शिक्षा पुस्तकमा ईश्वरले अनेक अवतार लिएर मान्छेको कल्याण गर्ने उल्लेख छ। सोहीअनुसार भगवान्ले मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, श्रीराम, कृष्ण र बुद्ध र कल्की अवतार लिएको/लिने चर्चा छ।
पञ्चायतको अन्त्यतिर छापिएको नैतिक शिक्षाको पुस्तकमा उल्लेख छ, "धर्मकै कारण अन्य प्राणीभन्दा मान्छे फरक रहन गएको हो। जीवनमा उन्नति गराउने र मृत्युपछि मुक्ति प्रदान गर्ने तत्त्व धर्म हो। हिन्दू विश्वकै सबैभन्दा पुरानो धर्म हो। मानिसको जीवनबाट धर्म झिकिदिने हो भने संसार दुःख र कलहको घर बन्न पुग्छ।"
'मर्यादाको पालन' शीर्षकको अर्को निबन्धमा लेखिएको छ, "ईश्वरमा विश्वास भयो भने पनि मर्यादाको उल्लंघन गर्ने सोच आउँदैन। धर्म र संस्कृति नभएको व्यक्ति, समाज र राष्ट्र सिक्रो रूखजस्तै हुन्छन्।" त्यस्तै अर्को एक पाठमा धर्मो एव हतो हन्ति, धर्मो रक्षति रक्षति: श्लोकलाई "धर्मको रक्षा नगरे हाम्रो रक्षा हुँदैन। धर्मको रक्षा गरे यसले हाम्रो रक्षा गर्छ" भन्दै अनूदित छ।
यस्ता पुस्तकमा राजा, राज जन्मोत्सव, राजदण्ड, राष्ट्रिय चिन्ह र मठमन्दिरको महिमा छ। २०३९ सालमा प्रकाशित ६ कक्षाको नैतिक शिक्षाको एउटा पाठ शीर्षक नै छ, "हामी हाम्रो राजाको जन्मोत्सव मनाऔँ।" राजासँगै यी पुस्तकमा जनक, सीता, भृकुटीको महिमाका साथै बलभद्र कुँवर, भक्ति थापा, अमरसिंह थापाको बहादुरीको चर्चा छ। नेपाल स्वर्गझैँ रहेको, यस देशमा अनेकतामा एकता भएको चर्चा हरेक जसो पुस्तक र पाठमा छुटेका छैनन्।
अवैज्ञानिक तथ्य
नैतिक शिक्षाका धेरैजसो पाठको 'थिम' एउटै छन्। यी पुस्तकमा "चोर्नु हुन्न, मिहिनेत गरेर पढ्नुपर्छ, सादा जीवन जिउनुपर्छ, अरूप्रति दया देखाउनुपर्छ, बाउआमालाई माया गर्नुपर्छ र गोपनीयता राख्नुपर्छ" भन्ने उपदेश पनि छन्। भर्खरै जगत् बुझ्दै गरेका कलिला विद्यार्थीका लागि ती सन्देश कुरा पक्कै राम्रा हुन्, तर यस्ता उपदेशलाई 'जस्टिफाइ' गर्न प्रयोग भएका कथा अन्धविश्वासले भरिपूर्ण छन्।
एउटा पुस्तकमा मुकुन्दशरण उपाध्यायको 'महाभारत सूक्ति' बाट साभार रहेको श्लोक यस्तो छ:
चौबाटो र बडावृक्ष चौतारा यी आदि सब, बाटो हिँड्दा सकेसम्म दाहिने पार्नुपर्छ।
सिरानी गर्नु मान्छेले कि पूर्व कि त दक्षिण, नपार्नु सिर सुत्दामा कहिल्यै उत्तर पश्चिम।।
यो कविताले हाम्रो प्राचीन जनविश्वास कस्तो थियो भन्ने बुझिन्छ, तर अन्धविश्वास फैलाउन सहायक बनाउनेबाहेक सो श्लोकको अन्य प्रयोजन छैन। त्यस्तै सन्दर्भ अर्को पुस्तकमा छ:
सूर्योदय हुनुभन्दा डेढ घण्टा पहिले नै हामी उठ्नुपर्छ। यस समयमा सुतिरहनेको स्वास्थ्य त खराब भई नै हाल्छ, अलिकति कमाएको धर्म या पुण्य पनि नाश हुन्छ।
अल्छी गरेर सुत्नु नराम्रो हो, तर ढिलो उठ्दा स्वास्थ्य खराब हुन्छ भनेर ठोकुवा गर्न मिल्दैन। ढिलो सुत्दा ढिलै उठ्नुपर्छ, नत्र निन्द्रा पुग्दैन। सूर्य उदाउनुभन्दा डेढ घण्टा पहिले उठ्दा स्वास्थ्य खराब हुन्छ भनेर अहिलेसम्म प्रमाणित छैन।
एउटा पाठमा नेपाली छात्रा सञ्जिताले विदेशी साथी एलिनालाई चिठी लेखेकी छन्:
हाम्रो देशमा सबै मानिस बीचमा भाइभाइ (पितृसत्ताले बहिनी-बहिनीका कुरा त कसरी सम्झोस्?) मानेर समान व्यवहार गर्ने चलन छ। हाम्रो समाज र संस्कृति संसारका सबै मानिसलाई नातासम्बन्धी र इष्टमित्र मान्दछ। तिमी अरूलाई भेट्दा हात मिलाएर सामाजिक शिष्टाचार देखाउँछौ होला। हामी त जसलाई भेट्दा पनि दुई हात जोडेर नमस्कार गर्छौं।
त्यस पाठको नाम छ, 'सामाजिक मूल्य र मान्यताको परिचय।'
"हामी त जसलाई भेट्दा पनि दुई हात जोडेर नमस्कार गर्छौं?" साँच्चै?
जुन समाजमा पत्रैपत्र कहालीलाग्दो जातीय विभेद विद्यमान थियो/छ, जहाँ कसलाई नमस्कार गर्ने, कसलाई आँगनमा राख्ने, कसलाई पिँढीमा ठाउँ दिने र कसलाई घरभित्र चुलोमा भात पकाउन दिने भन्ने अभ्यास थियो, त्यस समाजकी सञ्जिताको यो दाबी आफैँमा झूटो थियो। फेरि 'हात मिलाउनुभन्दा हात जोड्ने शिष्टाचारचाहिँ विशिष्ट' भन्ने आशयमा 'हाम्रो संस्कृति शुद्ध र विशिष्ट' भन्ने अहंकार देखिन्छ। यस्तो अहंकार आफैँमा अनैतिक हो।
'सामूहिक जीवन र शिष्ट व्यवहार' शीर्षकमा उल्लेख एक पाठमा छ:
सामूहिक भेलामा जाँदा धेरै कुरा ख्याल गर्नुपर्छ। त्यहाँ मानिसको मर्यादाअनुसार बस्ने ठाउँको प्रबन्ध गरिएको हुन्छ। ठूलो ओहदाका प्रतिष्ठित मान्छेहरू बस्ने सिटहरू अलग्गै राखिएको हुन्छ।
हाम्रो सामाजिक सोपान र विभेद झल्कने त्यस्तो अभ्यास अहिले पनि छ, त्यो पनि अनैतिक हो।
'धर्मले नैतिकता सिकाउँछ'
धेरैजसो मान्छेको तर्क हुन्छ कि नैतिकताको आधार धर्म हो, धर्म मान्ने मान्छे नास्तिक या भौतिकवादीभन्दा नैतिकवान् र सदाचारी हुन्छन्। तर बलात्कार र हत्यामा जेल गएका, जाँदै गरेका हाम्रै वरपरका धर्मगुरुका समाचार/कथाले त्यस्तो बुझिँदैन। जेलमा थुनिएका कैदीका कतिपय अध्ययनले त्यसतर्फ संकेत गर्दैन।
नैतिकताको सन्दर्भमा आफ्नो पुस्तक 'गड डिल्युजन'मा इभोलुसनरी बायोलोजिस्ट रिचर्ड डकिन्सको तर्क गहकिलो छ; प्रहरीको नियन्त्रण नहुँदा या गोप्य क्यामरा बन्द हुनेबित्तिकै लुप्त हुने झूटो नैतिकताभन्दा प्रहरी/क्यामराको अभावमै मान्छे स्वयं नैतिकवान् हुने कुरा महत्त्वपूर्ण हुन्छ। प्रहरीको नियन्त्रणको कुरा होस् या काल्पनिक ईश्वरको!
के राम्रो र के नराम्रो, के गलत र के सही भन्ने कुरा हाम्रा दैनिक व्यवहारमा प्रदर्शन हुने कुरा हुन्। संसारका सबैजसो मान्छेलाई त्यसबारे बोध हुन्छ। संसारभरका सचेत मान्छेले जानेको नैतिक नियमको आधार एउटै हो: “अरूलाई कष्ट नदेऊ। आफूलाई कुनै कुरा गलत लाग्छ भने त्यस्तो व्यवहार अरूलाई पनि नगर।”
त्यसो हुँदा कक्षामा नैतिकताका ठूला आदर्श र लम्बेतान धार्मिक/नैतिक श्लोक रटाउनुभन्दा व्यवहारबाट ती कुरालाई पुष्टि गर्न सक्दा नैतिक मान्यता थप बलिया हुन्छन्। यस सन्दर्भमा धार्मिक भिजिलान्तेहरूले भारत र अफगानिस्तानमा त्यहाँका जनतालाई अत्त्याउँदै लादिरहेको आचरण/व्यवहार स्मरण गर्न सकिन्छ। हामी नैतिक शिक्षाका नाममा उपदेशका कुरा गरिरहेका छौँ, उनीहरू कोर्रा र लाठी बर्साइरहेका छन्। ईश्वर/अल्लाहको त्रास देखाइरहेका छन्।
नैतिकताकै सन्दर्भमा विख्यात भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनको यो भनाइ पनि मननीय छ; मानिसको नैतिक व्यवहार खासगरी सहानुभूति, शिक्षा र सामाजिक सम्बन्ध र आपसी आवश्यकतामा आधारित हुनुपर्छ। त्यसका लागि कुनै धार्मिक आधार आवश्यक हुँदैन।
उल्लेखनीय छ, २०६० सालदेखि विषयकै रूपमा 'मोरल साइन्स' (नैतिक शिक्षा) नामको हटाइएको भए पनि 'सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा' विषयका नाममा कुरीति, कुसंस्कार, कुलत, दुर्व्यसनबारे बुझाउने फरक–फरक पाठ्यपुस्तक अहिले पनि विद्यार्थीलाई पढाइएको सरकारी अधिकारीहरू बताइरहेका छन्, जसबारे सम्भवतः हाम्रा प्रधानमन्त्री र सांसदहरू बेखबर छन्। फरक यत्ति हो, पहिले धार्मिक विषय धेरै थिए, अहिलेका पुस्तकमा त्यस्ता सन्दर्भ कम छन्।
नैतिकता छाँट्ने र ढाँट्ने
२०७५ सालमा काभ्रेको बेथानचोक गाउँपालिका–४ मा रहेको कालिका माविमा 'नैतिक शिक्षा' पढाउने शिक्षक शंकर पहरी नौ वर्षका दुई बालिकालाई बलात्कार गरेको घटनामा पक्राउ परे। त्यस्तै नैतिकता, योग र इमानका कुरा गर्ने उपराष्ट्रपति कार्यालयका सचिव भुटानी शरणार्थीको नक्कली परिचयपत्र प्रकरणमा पक्राउ परी अहिले जेलमा छन्।
भ्रष्टाचार प्रकरणमा 'उदाउनुपूर्व' यिनले भनेका थिए:सन्तोष गर्नुपर्छ। धेरै सम्पत्ति कमाएर के गर्ने हो र? धेरै लोभ गर्नुहुन्न। धेरै लोभले विनाश निम्त्याउँछ। अहिले अध्यात्मपट्टिको धार अलि मजबुत हुँदै गएको छ। त्यतातिर लाग्नु। अलि आध्यात्मिक चिन्तनतिर लाग्नुभो भने हाम्रो कार्य व्यवहारलाई पनि सुधार गर्छ।
नैतिकता
नैतिकताको विषय आत्मपरक हो। कसैलाई यो देश स्वर्गझैँ लाग्ला, कसैलाई नलाग्ला। कसैलाई कस्ता लुगा लगाएर हिँड्न रहर लाग्ला, कसैलाई आफन्तको हात समाएर हिँड्न मन लाग्ला, कसैलाई त्यसो नै गर्नसमेत अप्ठ्यारो लाग्ला। जजसलाई जे जे लागे पनि मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा यस देशको मौजुदा संविधान र कानूनको बर्खिलाप नहुने गरी व्यक्तिले आफ्नो मर्जीअनुसार जस्तोसुकै जीवन जिउन सक्छ। सचेत र सभ्य समाजलाई ग्राह्य नैतिकता त्यही हो।
'नैतिकता'को अलि फरक सन्दर्भमा भारतको सर्वोच्च अदालतले एक हप्ताअघि दिएको फैसला मननीय छ। कलकत्ता उच्च अदालतले 'आफ्नो यौन इच्छालाई नियन्त्रणमा राख्नुपर्ने, आफ्नो शरीरको रक्षा गर्नुपर्ने' भन्दै नैतिकताको पाठ पढाउने शैलीमा किशोरीहरूलाई दिएको एक आदेश गलत भएको भन्दै आफ्ना आदेशहरूमा नैतिकतासम्बन्धी ज्ञान र सल्लाह नदिन न्यायाधीशहरूलाई त्यहाँको सर्वोच्च आदेशले आदेश दिएको थियो।
अर्को कुरा, नैतिकताका उपदेश पढेका या पढाइएकाहरूबाटै हामी अनैतिक शासन भोगिरहेका छौँ। अहिले ५० कटेका धेरैजसो राजनीतिज्ञ, न्यायाधीश, निजामती कर्मचारी र प्राध्यापकहरूले चर्चामा रहेको 'नैतिक शिक्षा' नै पढे होलान्। अहिलेका निष्फल र 'जुका शासक' पनि त्यही पञ्चायती नैतिक शिक्षा पढेरै आएका होलान्।
समस्या एकातिर, ओखती अर्कोतिर
सामाजिक न्याय र समाजको जटिलता हामीले बुझ्नैपर्ने विषय हो। विद्यालयमा तथ्यांक केलाएर पढाइनुपर्ने विषय यो हो, जसले नवपुस्तालाई ‘इम्पावर’ गर्न सक्थ्यो। तर त्यसबारे हामीले बिरलै सोचेका छौँ।
हाम्रो संस्कार र नैतिक मान्यताको जग पहिले नै पितृसत्तात्मक र नस्लवादी छ। हामीकहाँ कसलाई तँ भन्ने र कसलाई तिमी, तपाईं, हजुर र बक्सियोस् भन्नेबारे घर, समाज र स्कुलले सिकाउने अभ्यास छ। कोसँग ङिच्च हाँस्ने, कोसँग डराउने, कसको स्वागतमा तोरण बनाउने, कसका लागि ठूलो कुर्सी र कसका लागि सानो कुर्सी राख्ने भन्नेबारे हाम्रो सामाजिक/सार्वजनिक व्यवहार प्रस्ट छ। गणतन्त्र प्राप्तिपश्चात् पनि मधेशी, जनजाति र दलितप्रति शासक–जातको व्यवहार रुखो र द्वेषी छ। मधेशभित्रै थप उत्पीडन छ। हामीले त्यस्तो व्यवहार गरेपछि नयाँ पुस्तामा पनि सो व्यवहार देखिने नै भयो।
हाम्रो सामाजिक, सांस्कृतिक र आर्थिक समस्याबाट सिर्जित ‘क्रोनिक’ समस्या हो यो, तर 'बडेजन'हरूको पेटबोलीले चाहिँ सामन्ती अभ्यास कम हुँदै जानुलाई नै ‘नैतिक शिक्षाको कमी’का रूपमा बुझेझैँ देखिन्छ।
असल आचरणका सन्देश दिने कथाहरू अवश्य विद्यार्थीलाई पढाउनुपर्छ, त्यस्ता कथा र प्रेरक प्रसंग पहिले नै स्कुले पाठ्यपुस्तकमा छँदै छन्, छैनन् भने थप्दा हुन्छ। संविधान र कानूनको प्रभावकारी कार्यान्वयन नागरिकलाई नैतिकताको सीमामा राख्ने अर्को साधन हो। त्यसतर्फ लाग्दा पनि हाम्रा कतिपय सामाजिक र आर्थिक अनैतिकता हल हुन्छन्।
सज्जन र भद्र–भलाद्मीहरू, छनलाई हाम्रो शिक्षा संस्कार आफैँमा अति उपदेशात्मक छ। स्कुलको मसिहा ठान्ने धेरैजसो अयोग्य शिक्षक कलिला विद्यार्थीलाई पिरियडपिच्छे बोझिला निर्देशन दिन अभ्यस्त छन्। त्यस्तोमा, यहाँहरूले कल्पना गर्नुभएको नैतिक शिक्षाको थप उपदेशात्मक पुस्तक अनावश्यक हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
