जथाभावी राखिएका टायरको उचित व्यवस्थापन गर्ने हो भने डेंगीका ७५ प्रतिशत बिरामी कम हुन्छन्।
२०६२/६३ सालको जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए। उनकै नेतृत्वमा २०६४ मंसिरतिर संविधान सभाको निर्वाचन हुने भयो। तर, निर्वाचनअघि नै संघियता, धर्म निरपेक्ष, समावेशीलगायत मुद्दालाई लिएर तत्कालीन मधेसी जनअधिकार फोरमले मधेशमा आन्दोलन थाल्यो।
निर्वाचनमार्फत देश ठूलो राजनीतिक परिवर्तनको संघारमा हुँदा मधेशमा आन्दोलन चर्कियो। सरकारले मधेशको माग गम्भीर रुपमा नलिँदा आन्दोलन रोकिने छाँट नै देखिएन। २०६४ भदौमा आन्दोलन चर्किँदै गएपछि त्यहाँ डेंगी संक्रमितको ग्राफ पनि उकालो लाग्यो।
त्यतिखेर म स्वास्थ मन्त्रालयमा कार्यरत थिएँ। वीरगन्जमा डेंगीको संक्रमण अत्यासलाग्दो भइसकेको थियो। प्रत्यक्ष रूपमा म वीरगन्जमा नखटिए पनि त्यहाँका जनस्वास्थ कर्मचारीसँग टेलिफोनमा दैनिक वार्ता हुन्थ्यो। त्यहाँ हरेक दिन २०० देखि ४०० का दरले संक्रमितको संख्या बढिरहेको थियो। हामीले डेंगी संक्रमण गर्ने हब पत्ता लगाउन सकिरहेका थिएनौँ।
आन्दोलनकारी निकै उग्र थिए। डेंगी सचेतनाको लागि हामीले उनीहरूलाई भीडभाड नगर्न सम्झाउन सकिने अवस्था थिएन। आन्दोलनका लागि टायर बाल्नु स्वाभाविकै मानिन्थ्यो। हरेक टोल र चोकमा विरोध प्रदर्शनका लागि दैनिक टायर बालिरहेका हुन्थे। वीरगन्ज बसपार्क नजिकै एउटा वर्कसप थियो। त्यही वर्कसपबाट पुराना टायर ल्याएर प्रदर्शनकारीले बाल्थे। त्यहाँ झन्डै एक ट्रक टायर चाङ लगाएर राखिएको थियो।
एक आन्दोलनकारी कै भनाइअनुसार टायर निकाल्दा मौरीको गोलाजस्तै लामखुट्टे निस्किन्थे। करिब १० दिनमा वर्कसपका पुराना टायर सबै सकिए। त्यहाँको टायर सकिएपछि डेंगी संक्रमितको संख्या पनि घट्न थाल्यो। दैनिक ४०० सम्म संक्रमित अब करिब २० जनामा सीमित भए।
पछि मैले यस ट्रेन्डबारे अन्य देशमा पनि अध्ययन गरेँ। संयुक्त राज्य अमेरिका, पानामा, कोलम्बिया, ब्रजिलतिर पनि यस्ता घटना भएका रहेछन्। टायरमा लामखुट्टेले अण्डा पारेर बच्चा सुरक्षित रुपमा कोरल्ने रहेछ।
कलेजमा डेंगी सार्ने लामखुट्टे
२०७३ असार २०–२२ गतेतिर मलाई बालकुमारीस्थित एक इन्जिनियरिङ कलेज (सायद अक्सफोर्ड)बाट फोन आयो। त्यतिबेला म टेकु अस्पतालको निर्देशक थिएँ। फोनमा मलाई भनियो कि कलेजमा लामखुट्टेले अति नै दुःख दिएको छ। कोठामा धुप बालेर मात्र शिक्षक र विद्यार्थीले कक्षा लिने गरेका रहेछन्।
‘लामखुट्टे कस्तो खालको छ?’ मैले सोधें। कालो छिद्रा भएको लामखुट्टे रहेको मलाई जानकारी दिइएको थियो। मलाई ती लामखुट्टे डेंगी फैलाउने एडिस प्रजातिको भएको आशंका भयो। यसअघिको अनुभवको आधारमा मैले अस्पतालका कर्मचारीलाई कलेज वरपर निगरानी गर्न निर्देशन दिएर खटाएँ। कलेजनजिकै एउटा वर्कसप रहेछ। वर्कसपमा टायरको चाङ राखिएका रहेछन्। मैले त्यहाँबाट टायर हटाउन निर्देशन दिएँ।
सुरुमा त वर्कसप संचालकले टायर हटाउन मानेनन्। तर, पछि टायर निकाल्दा मौरीका गोलाझैं आएका लामखुट्टे देखेपछि भने उनी सहज भए। निर्देशनअनुसार टायरको व्यवस्थापन गरे।
टायरलाई प्लास्टिकभित्र ‘क्लोज प्याक’ गर्न हामीले आग्रह गरेका थियौँ। चार पाँच दिनपछि कलेजबाट फेरि फोन आयो। हामीलाई लामखुट्टे सबै गायब भएको जानकारी दिइयो। हामीले कलेज क्षेत्रमा टायरको उचित व्यवस्थापनको लागि सचेतना दियौँ।
तापक्रम वृद्धिको प्रभाव
कुनै समय डेंगीलाई ‘अर्बन डिजिज्’ अर्थात् सहरी रोगको संज्ञा दिइन्थ्यो। डेंगी घनाबस्ती र सफा पानी भएको क्षेत्रमा पाइन्छ। भारतको दिल्ली, मुम्बई, अहमवादमा डेंगी छ। तर ग्रामीण क्षेत्रमा समस्या छैन।
सिंगाापुर, फिलिपिन्सको राधजानी मनिला, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालाम्पुर, इन्डोनेसियाको जाकार्तामा डेंगीको संक्रमण धेरै छ। तर दक्षिण अमेरिकाको कोलम्बिया मात्र यस्तो पहाडी संरचना भएको देश हो, जहाँ गाउँगाउँमा समेत डेंगी छ।
नेपालको उच्च पहाडी जिल्ला जुम्ला, रुकुमलगायतमा पनि डेंगी संक्रमणका केस देखिन थालेका छन्। यस सवालमा नेपाल ‘एसियाको कोलम्बिया’ बन्ने हो कि भन्ने चिन्ता लाग्न थालेको छ। बाजुरा, मुगु, हुम्लालगायतका ९–१० हजार फिट उचाइमा भने हालसम्म देखिएको छैन।
उच्च भेगमा पनि डेंगी भेटिनुको प्रमुख कारण तापक्रम वृद्धि हुनसक्छ। न्युनतम १५ डिग्री सेल्सियसको तापक्रममा १०० दिनमा लामखुट्टे रहन सके त्यहाँ ‘ब्रिड’ गर्न सक्छ। सडक सुविधासँगै गाँउघरमा पनि टायर पुग्न थाले। त्यस्तो हुँदा पहिले सहरको रोग अब गाउँतिर पस्यो।
तापक्रममा भएको वृद्धि र टायर व्यवस्थापनमा हुने लापरवाहीले डेंगीको ‘आउटब्रेक’ निम्त्याउन सक्छ। टायरमा जमेको पानी अन्डा पार्न लामखुट्टेका लागि सुरक्षित स्थान भएको छ। सफा पानी जम्ने स्थान पोखरीदेखि घरका कम्पान्ड, कौसी, बरन्डामा राखिने गमला एडिस लामखुट्टेले अण्डा पार्ने ठाउँ हुन्।
के हो डेंगी?
एडिस नामक प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग डेंगी हो। यद्यपि, एडिस लामखुट्टेमै भने डेंगीको भाइरस हुँदैन। डेंगीबाट संक्रमित व्याक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेमा डेंगी सर्छ। यसबाहेक एडिस लामखुट्टेले यल्लो फिभर, डेंगी, चिकन गुनिया र केही समयअघि फैलिएको जिका भाइरस पनि सार्छ।
अहिले डेंगी संक्रमितको मृत्यु हुने दर घटेको छ। तर डेँगुका चार अवस्था छन्। पहिलो अवस्थामा डेंगी लागे सामान्य ज्वरो मात्र देखिन्छ। दोस्रोमा मध्यम खालका लक्षण देखिन्छ। जस्तो, उच्च ज्वरो, वान्ता आउने, शरीर दुख्ने, थकान हुने गर्छ। तेस्रो चरणमा यसले शरीरका विभिन्न भागमा रगत जमाउने र दाग तथा बिबिरा निकाल्छन्। चौथो चरणमा, यसले मानिसको प्राण नै पनि लिन सक्छ। यस कारण पनि टायर व्यस्थापन गरेर डेंगी संक्रमण दर घटाउनुपर्छ।
टायर व्यवथापनका लागि कानुन आवश्यक
सिंगापुरजस्ता कतिपय देशले टायर व्यवस्थापनको लागि कानुन नै बनाएका छन्। जथाभावी टायर राखेमा जरिवानाको समेत व्यवस्था छ। लापरवाहीपूर्वक राखिएका टायरमा ८४ प्रतिशत एडिस र बाँकी क्युलेक्स तथा अन्य प्रजातिका लामखुट्टे भेटिने एक अनुसन्धानले देखाएको छ।
नेपालमा पनि टायर व्यवस्थापनको लागि कानुनको आवश्यकता छ। स्वास्थ्य र पर्यायवरणप्रति चेतना भएका मानिसले मात्र यसलाई सहज गराउन सक्दैनन्, कानुन नै चाहिन्छ।
सन् २०१७ अघि मलेरिया उन्मुलनको लागि ‘भेन्टर बर्न डिजिज कन्ट्रोलर अफिस’ हरेक जिल्लामा स्थापना गरिएको थियो। मलेरिया, कालाजारसँगै डेंगीको निरीक्षणको काम पनि ती निरीक्षकद्धारा हुन्थ्यो। लामखुट्टेहरूको बासस्थानअनुरूप सम्भावित रोगको अनुमान पनि लगाउने काम निरीक्षकले गर्थे। हरेक दिन साँझ लामखुट्टेको हबमा सिडिसी ट्रयाप बोकेर लामखुट्टे संकलन गर्थे। ती लामखुट्टेलाई ल्याबमा ल्याउँथे। लामखुट्टेका ती झुन्डमा कति संख्यामा एडिस, क्युलेन्सक वा अन्य प्रजातिका लामुखट्टे छन् भनेर जाँचिन्थ्यो। सोहीअनुसार निश्चित स्थानमा कुन रोग फैलन सक्छ भनेर अनुमान लगाउन सकिन्थ्यो।
तर, सन् २०१७ पछि कर्मचारी समायोजना र तीन तहको सरकार बन्ने बित्तिकै कर्मचारी पनि तीन तहमा बाँडिए। बाँडिने क्रममा भेन्टर बर्न डिजिजमा खटिएका सबै कर्मचारी छिन्नभिन्न भए। स्वास्थ्य मन्त्रालय आफैंले यसको महत्व बुझेन। सोही कारण पनि होला मन्त्रालय डेंगीको विषयमा चुप लागेर बस्ने गरेको छ। टेकु अस्पतालको इपिडिमोलोजी अन्तर्गत भेक्टर बर्न डिजिज शाखाबाहेक अन्यतिर यसको केही नेटवर्क छैन।
जिल्लाभर एक जनामात्र भेन्टर कन्ट्रोल अधिकृत राख्न सक्यौँ भने मलेरिया, डेंगी, कालाजारजस्ता रोगको आउटब्रेकमा धेरै नियन्त्रण आउने थियो।
जथाभावी टायर नराख्ने हो भने पनि डेंगीका ७५ प्रतिशत बिरामी कम हुन्छन्। घरमा झ्यालमा जाली राख्ने, गमलामा पानी जनमाउने गर्नुपर्छ। घरमा बस्दा र बाहिर निस्किँदा पनि पूरा बाहुला भएको कपडा लगाउनुपर्छ। एडिस जातको लामखुट्टेले सफा पानीमा अण्डा पार्ने भएकाले पोखरी भएमा माछापालन गर्न सकिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
