बैतडीमा पनि मतगणना थालियो

मतगणना कार्य सोमबार अपराह्न साढे ४ बजेदेखि शुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।

बैतडी– प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत  बैतडीमा पनि मतगणना शुरू भएको छ। मतगणना कार्य सोमबार अपराह्न साढे ४ बजेदेखि शुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।

सदरमुकामस्थित जिल्ला अस्पतालको नवनिर्मित भवनको दोस्रो तलामा मतगणना थालिएको हो। प्रतिनिधि र प्रदेशसभातर्फ प्रत्यक्षको मतगणना शुरू भएको र त्यसपछि समानुपातिकको मतगणना गरिनेछ। मतगणनास्थलमा सिसी क्यामेरा र तारजालीको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

आइतबार सम्पन्न निर्वाचनमा बैतडीमा कूल मतदाताको ५२ दशमलव २२ प्रतिशत मत खसेको थियो। जिल्लामा एक लाख ५० हजार १५६ मतदाता रहेकामा ७८ हजार ११६ मत खसेको थियो। प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई क्षेत्र रहेको बैतडीमा २२ जना चुनावी मैदानमा छन्।