रुपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा पुस ५ देखि ७ गतेसम्म भएको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्सका ३०० खेलाडीको सहभागिता थियो।
काठमाडौँ– तिलोत्तमा–४ स्थित डिंनगरका रामकृष्ण परियारलाई स्केट खेलप्रति आकर्षण बढेको छ। पहिला छोरा अभिषेकले स्केट खेल खेलेको पटक्कै मन पर्दैनथ्यो। छोराले स्केट खेलमै प्रगति गर्न थालेपछि उनी यस खेलप्रति आकर्षित भएका हुन्।
रुपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा आयोजना गरिएको ‘पाँचौँ दक्षिण एशियालीस्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा’ हेर्न आएका उनले भने, “आजकाल त मलाई पनि खेल मन पर्न थालेको छ। म बुढो मान्छेलाई खेल्न त आउँदैन तर छोराले खेलेको देखेर खुशी लाग्छ।”
आफ्नो छोराले खेलेको देखेर रामकृष्णकी श्रीमती अर्जनालाई पनि यो खेल राम्रो लाग्न थालेको छ। “शुरूमामा त छोराले घरमै स्केट बोर्ड लिएर आउँदा अब छोरो बिग्रिने भयो। गलत बाटोमा लाग्ने भयो भन्ने चिन्ता लागेको थियो। अहिले छोराले राम्रो खेलेको देख्दा रमाइलो लाग्छ,” अर्चनाले भनिन्।
तिलोत्तमा–४ स्थित ड्राइभरटोलका अमर विकलाई पनि आफ्नो छोराले स्केल खेलमा प्रगति गरेको देख्दा खुशी लाग्छ। १९ वर्षीय छोरा सुनिलले स्केट खेलबाटै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारसमेत जितिसकेका छन्। स्केट खेलका लागि उनी भारत र थाइल्यान्डसमेत पुगेका छन्। “हामीलाई छोराले यही स्केट खेलमै राम्रो गर्न सक्छ भन्ने लागेको छ,” विकले भने।
ड्राइभरटोलकै बाबु रामबहादुर कामु र आमा प्रेमकुमारी कामुका १५ वर्षीय छोरा यमबहादुर कामुले पनि जात्रामा आयोजना गरिएको प्रतियोगितामा भाग लिएका थिए। छोराले प्रतियोगितामा भाग लिएको देख्दा बाबु रामबहादुर र आमा प्रेमकुमारी दंग छन्।
जात्रामा पाँच हजार खेलप्रेमीको सहभागिता थियो। युवादेखि वयस्क र वृद्ध वृद्धाले समेत चासोका साथ मनोरञ्जन लिएका थिए। जात्रामा सहभागी रमेश रानाभाटले भने,“आफूले अहिलेसम्म यस किसिमको खेल खेलेको देखेको थिएन। निकै रमाइलो लाग्यो। अब यो खेललाई पनि सरकारले प्राथमिकता दिनुपर्छ। यसको संरक्षण गर्नुपर्छ र नेपालले यस खेलमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफलता पाउन सक्छ।”
हिजोका दिनमा यो खेल सडकमै खेल्नुपर्ने अवस्था थियो भने आज पार्कमै खेल्न सक्ने अवस्था रहेको अध्यक्ष पहाडीको भनाइ छ। “हिजोका दिनमा सडकमा खेल्न प्रहरीले दिँदैनथे। अभिभावकले पनि नकारात्मक रूपमा लिने गरेका थिए। तर आजको दिनमा बिस्तारै सबैलाई बुझाउन सकिएको छ,” उनले भने। पछिल्लो समयमा नेपाली स्केट खेलाडी भारतका विभिन्न स्थानमा हुने स्केट प्रतियोगितामा विजयी हुन थालेका छन्। कतिपयले स्केट खेलबाटै आम्दानीको स्रोत पनि बनाउन सुकेका छन्। बिस्तारै नेपालमा स्केट खेललाई हेर्ने दृष्टिमा सकारात्मक परिवर्तन आउन थालेको छ।
स्केट खेल प्रतियोगिताका लागि नेपाली खेलाडी जापान, दुवै, थाइल्यान्ड, भारत र इन्डोनेसियालगायत मुलुकमा पुगिसकेका छन्। सन् २०१६ मा थाइल्यान्डमा आयोजना गरिएको राष्ट्रिय प्रतियोगितामा मिलन शाह ठकुरी विजयी भएका थिए। “हिजोका दिनमा हामी सातदोबोटोको सम्म भागमा खेल्नुपर्ने थियो भने अहिले सडकबाट स्केट पार्कमा छिरिसकेको छ। पछिल्लो जात्रामा भाग लिनका लागि भारतलगायत देशबाट लामो यात्रा गरेर पनि खेलाडी आएका थिए।”
स्केट–एड नेपालले स्केट खेलको सकारात्मक प्रभावका लागि विभिन्न विद्यालय र क्याम्पसमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ। स्कुल र क्याम्पस पढ्ने अधिकांश विद्यार्थी तथा युवाको रुचीको खेल स्केट बन्दै गएको छ। संस्थाले सचेतनाको साथसाथै स्केट खेलसम्बन्धी सामग्री पनि हस्तान्तरण गर्दै आएको छ। नेपालमा स्केट खेल्ने खेलाडीको संख्यामा पनि वृद्धि भएको छ। स्केट पनि एउटा खेल हो भन्ने धेरैको बुझाइ भएको छ। पहिला स्केट भन्ने बित्तिकै दुर्व्यसनमा लागेका मानिसले खेल्ने खेल हो भनेर चिन्ने गरिन्थ्यो भने अहिले सोचाइमा परिवर्तन आएको छ। यो पनि भलिबल, फुटबल जस्तै एउटा खेल हो भन्ने चेतनाको विकास भएको छ।
विश्वमा खेलिने फुटबल र क्रिकेटलगायत खेलमा जस्तै स्केट खेलमा पनि नेपालका युवाको पछिल्लोपटक आकर्षण बढ्दै गएको हो। खासगरी अमेरिका, अस्ट्रेलियालगायत युरोपियन देशमा साहसिक खेलको रूपमा खेलिने स्केट खेलप्रति नेपालका युवा पनि सक्रिय बन्दै गएका छन्। सन् १९६० तिर अमेरिकाको एक शहरमा स्केट बोर्डलाई साधनको रूपमा लिने गरेको पाइन्छ। त्यसपछि युरोपियन देश हुँदै विश्वका अन्य देशमा विकास भएको पाइन्छ।
नेपालमा स्केट खेलको इतिहास हेर्ने हो भने शुरूशुरूमा विदेशीहरू नेपाल आउँदा स्केट बोर्ड लिएर आउने र खेल्ने गरेको पाइन्छ। नेपालमा पहिले धनी परिवारका छोराछोरीले विदेशबाट ल्याएर खेल्ने गरे तापनि त्यसको व्यवस्थापन हुन सकेको थिएन। सन् २०११ मा स्केट खेलाडीको एउटा समूह बन्यो। यसले यो खेललाई व्यवस्थित बनाउन कोसिस गर्यो। पछि सन् २०१३ मा युवा फर चेन्जलगायत निजी क्षेत्रबाट विभिन्न संघसंस्थाले स्केट खेलको संरक्षण र प्रवर्द्धनमा काम शुरू गरेको पाइन्छ। अहिले नेपालभर करिब एक हजार स्केट खेलाडी सक्रिय छन्।
सरकारले २०७१ सालमा नेपाल स्केटिङ तथा स्केट बोडिङ संघसमेत गठन गरेको छ। युवा फर चेन्ज संस्थाले बुटवलमा स्केट र अन्य खेलबारे समेत जानकारी लिन सकिने इन्डोर स्केट पार्क र रिसोर्स सेन्टर निर्माण गरेको छ। पार्कमा सबै वर्गका खेलप्रेमी युवायुवतीलाई समान अवसर सिर्जना गर्ने गरी प्रशिक्षण, तालिम एवं होस्टेल र कार्यक्रम हल, पुस्तकालय समेत निर्माण गरी निःशुल्क सेवा प्रदान गरिँदै आएको छ। स्केट पार्क फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत र नेपालका स्केट क्षेत्रमा लागेका र अन्य सहयोगी व्यक्तिहरुको सक्रियतामा निर्माण गरिएको हो।
स्थानीय उत्पादनको प्रवर्द्धनका साथै बालबालिका र युवा वर्गलाई लक्षित गरी यसपटक स्केट जात्राको आयोजना गरिएको हो। रुपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा पुस ५ देखि ७ गतेसम्म आयोजना गरिएको जात्रामा नेपालले तीन स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेको थियो। प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्सका ३०० खेलाडीको सहभागिता थियो। जात्रामा स्केटिङ प्रतियोगिताका साथै विभिन्न स्टलसमेत राखिएको थियो। आगामी वर्षको छैटौँ संस्करण भारतमा गरिने भएको छ। पहिलो संस्करण काठमाडौँ हुँदै पाल्पा र तेस्रो, चौँथो र पाँचौ रुपन्देहीमै आयोजना गरिएको थियो।
लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्यसचिव गोविन्द भट्टराईले स्केट र स्केटिङको विकासको निम्ति तीनै तहका सरकारले उत्तिकै चासो दिनुपर्ने बताए। सन् २०२० को जापानमा भएको ओलम्पिकमा रोलर स्केटिङले खेलको मान्यता पाएको सन्दर्भमा नेपालमा पनि स्केट खेललाई पनि फुटबल, भलिबल वा अन्य खेललाई जस्तै मान्यता दिँदै सकारात्मक सोचका साथ सरकारले त्यसको विकास र संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
विश्वका अन्य मुलुकहरुमा स्केट खेलको विकाससँगै खेलाडी उत्साहका साथ अगाडि बढिरहेका सन्दर्भमा नेपालमा पनि अबका युवा पुस्तालाई प्रोत्साहन र हौसला दिन जरुरी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
