विवादास्पद चुनावमा शेख हसिना विजयी, लगातार चौथो कार्यकाल सुनिश्चित

विपक्षी दलहरूले निर्वाचन बहिष्कार गरेका कारण ४० प्रतिशत मात्र मत खसेको छ।

बांग्लादेशमा शेख हसिना फेरि प्रधानमन्त्री बन्न लागेकी छन्। आइतबार भएको आम निर्वाचनमा उनको पार्टी अवामी लिगले ३०० सिटमध्ये दुई तिहाई सिट जितेको छ। यस सँगै हसिना लगातार चाैथो पटक तथा समग्रमा पाँचौँ पटक प्रधानमन्त्री बन्ने निश्चित भएको छ।

उनी सन् २००९ देखि लगातार प्रधानमन्त्री छन्। त्यसअघि १९९१ देखि १९९६ सम्म प्रधानमन्त्री भइसकेकी छन्। अल जजिराले जनाएअनुसार हसिनाको पार्टी अवामी लिगले ३०० संसदीय सिटमध्ये २२२ सिट जितिसकेको छ। ६३ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। बाँकी सिटको मतगणना जारी रहेकाले आधिकारिक रूपमा नतिजा भने आउन सकेको छैन।

हसिना आफ्नो संसदीय क्षेत्र गोपालगञ्ज–३ मा भारी मतान्तरले विजयी भएकी छन्। उनले २ लाख ४९ हजार ९६५ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी एम निजाम उद्दिन लस्करले ४६९ मत मात्र प्राप्त गरेका छन्। हसिना सन् १९८६ यता आठौँ पटक गोपालगञ्ज–३ बाट निर्वाचित भएकी हुन्।

यससँगै हसिनाले सबैभन्दा लामो समय बांग्लादेशको प्रधानमन्त्री बन्ने कीर्तिमान पनि बनाएकी छिन्। 

४० प्रतिशत मात्रै मतदान 
बांग्लादेशमा सन् २०१८ मा भएको निर्वाचनमा ८० प्रतिशत मतदान भएको थियो। तर यस पटकको निर्वाचनलाई विपक्षी दलहरूले बहिष्कार गरेका कारण निर्वाचनमा ४० प्रतिशत मात्र मत खसेको हो।

निर्वाचनअघि बांग्लादेशका धेरै ठाउँमा हिंसात्मक घटना पनि भएका थिए। आइतबार पनि मतदानका क्रममा देशभरका १८ स्थानमा आगजनीका घटना भएका छन्, जसमध्ये १० वटा मतदान केन्द्रलाई निशाना बनाइएको छ। 

पूर्वप्रधानमन्त्री खालिदा जियाको बांग्लादेश नेसनलिस्ट पार्टी (बीएनपी)का नेताहरूले निर्वाचनलाई धाँधली भएको बताएका छन्। बीएनपीले २०१४ को निर्वाचन पनि बहिष्कार गरेको थियो। तर, पार्टीले २०१८ मा चुनाव लडेको थियो।

यसपटक पनि बीएनपीले चुनाव बहिष्कार गरेको छ। यससँगै १५ राजनीतिक दलले बहिष्कार गरेका छन्। बिएनपीले आम जनतालाई पनि मतदान नगर्न अपिल गरेको थियो। बीएनपीका नेताहरूले कम मतदान हुनु नै आफ्नो बहिष्कार सफल भएको प्रमाण भएको दाबी गरेका छन्।