लेखक दाहालले कोभिड महामारीका बेलाको सरकारको लापरबाही, बेथिति, बदमासी, भ्रष्टाचार, अनियमितता, कालोबजारीलगायत विषय पनि पुस्तकमा समावेश गरिएको बताइन्।
काठमाडौँ– पत्रकार तथा लेखक दिपा दाहालको ‘कोभिड: नसोचेको–नभोगेको संकट’ पुस्तक विमोचन भएको छ। शनिबार काठमाडौँको कमलादीमा आयोजित एक कार्यक्रममा डा. सन्दुक रुइत, गणेश रसिक र मानवअधिकारकर्मी मोहन अन्सारीले पुस्तकको संयुक्त रूपमा विमोचन गरेका हुन्।
डेढ दशकयता पत्रकारितामा सक्रिय पत्रकार दाहालसँग देशमा उत्पन्न झाडापखाला, स्वाइन फ्लुलगायतको महामारी, भूकम्प, नाकाबन्दी, बाढीपहिरोलगायत विपद्को स्थलगत रिपोर्टिङ गरेको अनुभव छ। दाहालले सन् २०१९ देखि नेपालमा फैलिएको कोरोना महामारीमा गरेको स्थलगत रिपोर्टिङको अनुभव र थप अध्ययन गरी महामारीको समग्र प्रभाव संक्षेपमा अभिलेख राख्ने क्रममा पुस्तक लेखेको बताइन्।
पुस्तकमा कोरोना महामारीका कारण चीनको वुहान बिथोलिएको प्रसंगदेखि, नेपालमा कोरोना रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी नहुँदा स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, पर्यटन, कृषिलगायत क्षेत्रमा परेको प्रभाव समेटिएको उनको भनाइ छ।
महामारीका बेलाको सरकारको लापरबाही, बेथिति, बदमासी, भ्रष्टाचार, अनियमितता, कालोबजारीलगायत विषय पनि पुस्तकमा समावेश गरिएको छ।
महामारीबाट प्रभावित र संक्रमितहरूको जीवन जोगाउन चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकलगायतले गरेको योगदानबारे पनि दाहालले पुस्तकमा उल्लेख गरेकी छन्।
“यो पुस्तक कोरोना महामारीको प्रभावको अभिलेख मात्रै होइन,” उनले भनिन्, “आगामी दिनमा यस्ता महामारी फैलिएमा सरकार वा सरोकारवाला निकायले कहाँ–कहाँ ध्यान दिनुपर्छ भन्ने सिकाइ पनि हो।”
पुस्तकका विशेषज्ञ सल्लाहकार डा. अनुप सुवेदी हुन्। डा. सुवेदीले महामारीको समयमा हरेक देशका आ–आफ्नै समस्या भए पनि नेपाल राजनीतिक किचलो र भ्रष्टाचारमा गिजोलिएको बताए।
“कोभिड महामारीका लागि विश्वका कुनै पनि मुलुक तयार थिएन। यस्तोमा प्राविधिक, व्यवस्थापकीय समस्या तथा गडबड हुनु स्वाभाविक हो, तर नेपालको स्वास्थ्य क्षेत्रमा मिसिएको राजनीतिक चलखेल अस्वाभाविक थियो,” डा. सुवेदीले भने, “यस्तोमा सरकार पक्षबाट नकारात्मक टिप्पणी गर्दै सकारात्मक पाटोबारे उल्लेख नगरेको गुनासा आए।”
कोरोना महामारीको तेस्रो लहर टरिसक्दा पनि नयाँ आउने स्वास्थ्य संकटबारे सरकारको तयारीका विषयमा अझै प्रश्न गर्ने स्थान रहेको उनले बताए।
पुस्तकको विज्ञ समीक्षकका रूपमा प्रस्तुत भएका डा. अर्जुन कार्कीले दाहालद्वारा लिखित पुस्तक महामारीका बेला राज्यसंयन्त्र कति भद्रगोल रहेछन् भन्ने पुष्टि गर्ने एक दस्ताबेज भएको बताए। कोभिडको समयमा आएको एक तथ्य उल्लेख गर्दै भने, “ग्लोबल हेल्थ इन्डेक्समा अमेरिका, यूकेबाहेकका देश तम्तयार नभएको देखिए पनि महामारीको समयमा सोही देशको पनि हालत देखियो। यद्यपि, नेपालको स्वास्थ्य अवस्थालाई भने उदांगो पारिदियो।”
बारबारा फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले फाउन्डेसनले सामाजिक क्षेत्रका लागि छुट्ट्याएको फन्डमार्फत ‘स्वास्थ्य शिक्षा’ पुस्तकलाई स्थान दिएको बताए।
पुस्तक बारबारा फाउन्डेसन र फाइन प्रिन्टको सहकार्यमा प्रकाशित भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
