अपांगता भएका व्यक्ति यौनजन्य हिंसामा पर्ने त्रास बढी हुन्छ। सोही कारण अपांगता भएका महिलालाई यौनजन्य दुर्व्यवहार गरे थप पाँच वर्ष सजायको व्यवस्था छ। धेरैजसो मान्छेले यी तथ्यबारे बुझ्ने चेष्टा गर्दैनन्।
धेरै र कम मात्र हो, हाम्रो मात्र नभई संसारका हरेक समाजमा अन्धविश्वास र गलत धारणा विद्यमान छन्, हुन्छन्। "फलानो धर्म मान्ने यस्ता हुन्छन्, फलानो देश/भेगका मान्छे उस्ता हुन्छन्, होचा मान्छे यस्ता हुन्छन्। गोरा यस्ता हुन्छन्, काला उस्ता हुन्छन्।" त्यस्तै, अपांगता भएका व्यक्तिलाई लिएर पनि त्यस्ता प्रशस्त धारणा विद्यमान हुन्छन्। समाज जति अन्धविश्वास र रुढीग्रस्त हुन्छ, त्यति नै यस्ता गलत धारणाले समाजमा घर गरेको हुन्छ। यस्ता अवैज्ञानिक सोचले शारीरिक अपांगता भएका व्यक्तिको जीवनमा नकारात्मक असर पर्छ।
के बुझ्नुपर्छ भने संसारको कुनै कुनामा कसैको पनि पूर्ण रूपमा उत्कृष्ट/आकर्षक (पर्फेक्ट) शरीर हुँदैन। अतः 'यस्तो शरीर पो पूर्ण या सुन्दर' भन्ने अवधारणा नै भ्रमपूर्ण छ, आत्मपरक छ। कसैलाई कस्तो शरीर पूर्ण लाग्छ, कसैलाई कस्तो। त्यसो हुँदा सबै व्यक्तिको शरीरको क्षमता र सुन्दरता अलग हुन्छ।
कोही व्यक्तिको अपांगता दृश्य हुन्छ त कसैको अदृश्य। बाहिरी अवस्था हेरेर मात्रै पनि कसैको अपांगताबारे बुझ्न सकिँदैन। कसैको शरीरमा निरन्तर जलन भइरहेको हुनसक्छ, दिमागमा हुने रक्तस्रावले असर पारिरहेको हुनसक्छ, कसैलाई 'अटिजम्' हुनसक्छ।
अपांगता भएका व्यक्तिले आफ्नो जीवन अपांगता नभएका व्यक्तिभन्दा फरक ढंगले बाँचेका हुन्छन्। कतिले आफ्नो अपागंता लुकाएका हुन्छन् त कतिले सहज रूपमा लिएका हुन्छन्, सोबारे वरपरका व्यक्तिलाई सुसूचित पनि गरिरहेका हुन्छन्।
जस्तोसुकै प्रकारका अपागंता भएका व्यक्तिले पनि अपांगता नभएका व्यक्तिले महसुस गरेसरह सबै खालका शारीरिक-भावनात्मक इच्छा र आकांक्षा राखेका हुन्छन्। अन्य मान्छेमा झैँ उनीहरूमा पनि रिस, राग, खुसी, भोक, प्यास, लोभ, मोह, वासना, वात्सल्य, करुणाका भाव हुन्छन्। यसमा प्रेम, यौन, विवाह र प्रजनन इच्छासमेत रहन्छन्। कोसँग शारीरिक/भावनात्मक सम्बन्धमा रहने वा कोसँग नरहने, कसरी यौन सन्तुष्टि लिनेजस्ता विषय पनि समाहित हुन्छ।
आफू अपांगता भएको व्यक्ति हुनुहुन्छ भने तपाईंको मनमा पनि त्यही प्रश्न हुनसक्छ, जुन तपाईंको किशोर/किशोरी सहपाठीले आफ्नो बढ्दो उमेरसँगै बढ्दै गएको शारीरिक/यौन चाहनाप्रति राखेका हुन्छन्। थप भन्नुपर्दा, तपाईंको मनमा पनि किशोरावस्थाबाट उकालो लाग्दै गर्दा यौवनजन्य रोमाञ्चित भावना विकसित भइरहेको हुनसक्छ। यस्तो परिवर्तन निकै स्वाभाविक हो। तपाईंलाई त्यस्ता यौनजन्य भावना सभ्य रूपमा आफूले रुचाएको व्यक्तिका सामु व्यक्त गर्ने अधिकार छ। सहपाठीले झैँ यौन तथा प्रजनन स्वास्थ्यका सेवा-सुविधाबारे उपलब्ध सूचना सहजै पाउने अधिकार पनि राख्नुहुन्छ।
तपाईं कोसँग सम्बन्धमा रहने वा नरहने भन्नेदेखि आफ्नो शरीरको ख्याल कसरी राख्ने, आफ्नो यौवनावस्था र मासिक धर्मलाई कसरी सहज बनाउने कुरा तपाईंको मर्जी हो। आफ्नो शरीरलाई कहाँ र कसरी छुँदा सहज या असहज महसुस गर्ने भन्ने कुरा पनि तपाईंकै हो। त्यसबारे 'हुन्न' या 'हुन्छ' भन्ने अधिकार तपाईंकै हो। आफ्नो विवाह गर्न, गर्भ धारण गर्न/ऋतुदान गर्न, गर्भ नियन्त्रण गर्न वा गर्भ धारण गर्न तथा सुरक्षित मातृत्वबारे जोडीसँग छलफल गर्न/निर्णय गर्न तपाईं स्वतन्त्र हुनुहुन्छ। दुनियाँका दोस्रो जोडीलाई आफ्नो खुसीका लागि जेजे गर्ने अधिकार छ, त्यो अधिकार तपाईंलाई पनि छ।
कुनै व्यक्तिमा कुनै पनि लिंगका व्यक्तिप्रति यौनजन्य भावना नहुनुलाई अंग्रेजीमा असेक्सुअल (यौन भावनाविहीन) भनिन्छ। हाम्रो समाजमा पनि आम रूपमा अपांगता भएकी महिलालाई ‘असेक्सुअल’का रूपमा बुझिन्छ, या अपेक्षा राखिन्छ। समाजले पहिले नै यौनलाई घृणाका रूपमा बुझ्ने हाम्रोजस्तो समाजमा अपांगता भएका युवती र महिला पनि आफ्नो यौन चाहना दबाउन प्रयत्नशील रहन्छिन्। कथम् कदाचित् यौनजन्य रहर पूरा गर्ने सहज/सुरक्षित अवसर भेटे पनि त्यसो गर्नु आफ्नो लागि अनुपयुक्त होला भन्ने ठहर गर्छिन्। यसरी अपांगता भएकै कारण उनले यौन आनन्दलाई आत्मसात् गर्न असमर्थ हुन्छिन्, बरु त्यसलाई पीडाका रूपमा हेर्छिन्।
अपांगता भएकी महिला असेक्सुअल हुन्छन् भन्ने सामाजिक सोचका कारण पटक-पटक बलात्कृत हुँदा पनि परिवार, समाज र सुरक्षाकर्मीसँग आफ्नो बचाउका लागि सहयोग लिन अपांगता भएका बलात्कृत महिला डराउँछन्। यसले अन्ततः पीडकलाई थप बल दिइराखेको हुन्छ। गम्भीर खालका बौद्धिक अपांगता भएका महिला या पुरुषले भने बलात्कारमा विवेक प्रयोग गर्न सक्दैनन्, तीमध्ये कतिले बलात्कार र शारीरिक आनन्दबीचको भेद छुट्याउन सक्दैनन्।
आम रूपमा अपांगता भएका महिलामा यौन तथा प्रजनन चाहना हुँदैन भन्ने बुझाइका कारण कथम् कदाचित् कुनै अपांगता भएकी युवती/महिलाले केटा साथी बनाइन् या विवाह गर्ने बारे निर्णय लिइन् भने त्यसलाई असहज रूपमा हेर्ने गरिन्छ र प्रेम सम्बन्धलाई परिवार र आफन्तले समेत अस्वीकार गर्छन्।
तपाईंको शरीरको मर्जी तपाईंमै छ, भलै संसारलाई अलग तरिकाले अनुभव गर्नुहुन्छ। आफ्ना आवश्यकता पहिचान गर्ने, विकल्प (व्यक्ति/वस्तु/विषय) को अध्ययन गर्ने, प्रयोग गर्ने र आफ्ना लागि कुन उपयुक्त छ भनी छनौट गर्ने हक तपाईसँगै छ। कुनै प्रकारका हिंसा, अवहेलना र दुर्व्यवहारबाट बच्न/सुरक्षित हुने अधिकार तपाईंसँगै छ।
अपांगता भएका व्यक्ति यौनजन्य हिंसामा पर्ने त्रास बढी हुन्छ। सोही कारण अपांगता भएका महिलालाई यौनजन्य दुर्व्यवहार गरे थप ५ वर्षको सजायको व्यवस्था कानूनमा छ। धेरैजसो मान्छेले अपांगताको अनुभव नगरेको हुँदा यी सबै तथ्यबारे बुझ्ने चेष्टा गर्दैनन्। तर कुनै समाज साँच्चै संवेदनशील र सभ्य छ भने त्यसले अपांगता भएका व्यक्तिलाई समदृष्टि राखेर व्यवहार गर्छ। कुनै कारणवश भोलि आफैँ, आफ्नै छोराछोरी, बाआमा र आफन्तले समेत शारीरिक र बौद्धिक अपांगतालाई भोग्नुपर्ला भन्ने बुझी अल्पसंख्यक र दुर्व्यवहारमा परेकाहरूको पक्षमा आवाज उठाउँछ।
अतः अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यप्रति सजग र संवेदनशील हुन जरुरी छ।
सुवेदी अपांगता अधिकारको क्षेत्रमा काम गर्छिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
