कान्तिपुरविरुद्ध रवि लामिछाने पुगे अदालत

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेका छन्।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध मुद्दा दायर गरेका छन्। उनले कान्तिपुरविरुद्ध मंगलबार काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेका हुन्।

लामिछानेले कान्तिपुर दैनिकमा आफ्नो नाम जोडेर सहकारीसम्बन्धी समाचार प्रकाशित भएको र त्यसले आफ्नो इज्जत प्रतिष्ठामाथि आँच आएकोले कानूनी उपचारमा गएको बताएका छन्। 

उनले फिरादमा आफूले आर्जन गरेको ख्यातिलाई ध्वस्त पार्ने बदनियत चिताएर जानीबुझी सार्वजनिक रूपमा आफ्नो चरित्र हत्या हुने गरी विपक्षीहरूले कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका र अनलाइनबाट समेत झूटो समाचार सम्प्रेषण गरेको दाबी गरेका छन्।

उनले विपक्षीले आफ्नो इज्जत, सामाजिक प्रतिष्ठा, राजनीतिक जीवन, सम्मान, पेसा तथा व्यावसायिक जीवनमा समेत गम्भीर धक्का पुर्‍याउने मनसाय राखेको फिरादमा उल्लेख गरेका छन्।

उनले मुद्दामा कान्तिपुर पब्लिकेसनसहित पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानलगायतलाई विपक्षी बनाएका छन्। उनले मुद्दामा विपक्षीलाई सांकेतिक रूपमा १५१ रुपैयाँ क्षतिपूर्ति तिराउन मागदाबी गरेका छन्।

“मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानूनी उपचारमा गएको छु,” उनले भनेका छन्।