बन्दसूचीमा बेवास्ता गरेको भन्दै कांग्रेसभित्र असन्तुष्टि, विद्रोह गर्ने कोइराला पक्षको चेतावनी

समानुपातिक सिट बाँडफाँटले कांग्रेसको शेखर कोइराला समूह असन्तुष्ट देखिएको छ। संस्थापन पक्षले एकलौटी गरेको भन्दै कोइराला समूहका नेताले विद्रोहको चेतावनी दिएका छन्।

काठमाडौँ- समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएसँगै नेपाली कांग्रेसभित्र तीव्र असन्तुष्टि देखा परेको छ। पार्टी संस्थापन पक्षले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षमा असन्तुष्टि देखिएको हो। 



असन्तुष्ट कोइराला समूहले शनिवार काठमाडौँमा खबरदारी सभाको आयोजना गरी समानुपातिक सूची बाँडफाँटमा नजरअन्दाज गरिए पार्टीभित्रैबाट विद्रोह गर्न बाध्य हुने चेतावनी दिएको छ। कार्यक्रममा बोल्दै नेताहरूले समानुपातिकतर्फको टिकट वितरण न्यायपूर्ण हुनुपर्ने माग गरेका थिए।



कार्यक्रममा सहभागी नेताहरूले सभापति शेरबहादुर देउवा एउटा मात्रै गुटको नेता बन्न खोजेको आरोपसमेत लगाए। उनीहरूले १६ गतेसम्म निर्णय नसच्चिए पार्टीभित्र विद्रोह हुने चेतावनी दिए। नेता गुरु घिमिरेले आफ्नै समूहका नेताहरूलाई समेत चेतावनी दिँदै भने, ‘म हाम्रै समूहका पदाधिकारीहरूलाई दह्रो खुट्टा टेकेर न्यायको पक्षमा बोल्न आग्रह गर्दछु। नभए तपाईंहरूलाई पनि राम्रो हुनेछैन। पार्टीमा सबैलाई न्याय हुने गरी सभापतिजीले टिकट वितरणमा गरेका निर्णय सच्याउनु भएन भने पार्टी भित्र विद्रोह हुन्छ।’



अर्का नेता भूपेन्द्रजंग शाहीले आगामी निर्वाचनको टिकट वितरणमा पार्टीभित्र न्याय हुनुपर्ने जिकिर गरे। उनले पार्टीले टिकट नदिए पनि आफू कालिकोटबाट प्रतिनिधिसभाको निर्वाचन लड्ने घोषणा समेत गरे। नेता शाहीले भने, ‘निर्वाचनमा टिकट पाइनँ भने पनि कालिकोटमा निर्वाचन लड्छु। तर, नेताको दास भएर बसिँदैन। टिकटमा न्याय नभए विद्रोह हुन्छ।’