संखुवासभामा दुर्गमको मतपेटिका हेलिकप्टरबाट ल्याउने तयारी, साँझबाट गणना थालिने

किमाथांका, थुदाम र रिदाक केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको छ भने सिलिचोङ, भोटखोला र मकालु गाउँपालिकाका मतपेटिका सदरमुकाम ल्याइसकिएको छ।

फाइल तस्वीर

काठमाडौँ- संखुवासभाका दुर्गम गाउँबाट मतपेटिका सदरमुकाम नआइपुगेका कारण मतगणना शुरू हुन सकेको छैन। किमाथांका, थुदाम र रिदाक केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको छ। 

सिलिचोङ, भोटखोला र मकालु गाउँपालिकाका मतपेटिका सदरमुकाम ल्याइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। संखुवासभामा सोमबार साँझबाट मतगणना गर्ने तयारी गरिएको छ।

संखुवासभामा पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभातर्फ कांग्रेसका दीपक खड्का र एमालेका राजेन्द्र गौतमलगायत उम्मेदवार छन्।  यी दुईबीच नै मुख्य प्रतिस्पर्धा हुने बताइएको छ। 

प्रदेश ‘क’मा एमालेका भविश्वर गुरुङ र गठबन्धनबाट माओवादीका राजेन्द्र कार्की तथा प्रदेश ‘ख’ मा एमालेका विदुर लिङ्थेप र नेकपा एसका सरिता खड्काबिच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ।

एक लाख १७ हजार ५५८ मतदाता रहेको जिल्लामा ६५ हजार ८९२ मत खसेको छ। जिल्लामा ५६ प्रतिशत मात्र मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।