रुसी सेनामा भर्ती भएका नेपालीमध्ये १०० जना सम्पर्कविहीन

परराष्ट्रमन्त्री साउदले युक्रेनी सेनाको नियन्त्रणमा रहेकारूलाई छुटाउन पनि युक्रेन सरकारसँग नियमित सम्पर्क भइरहेको बताएका छन्। 

काठमाडाैँ– रुसी सेनामा भर्ती भएका नेपालीमध्ये एकसय जना सम्पर्कविहीन भएको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्। राष्ट्रिय समाचार समिति (रासस)सँगको अन्तर्वार्तामा उनले यसबारे जानकारी गराएका हुन्।

अन्तर्वार्तामा उनले भनेका छन्, "एक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।"

यसका लागि नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर यसबारे रुसी सरकारलाई जानकारी गराउन स्पष्ट सन्देश दिएकाे पनि उनले बताए।

"मस्कोस्थित नेपाली दूतावासलाई पनि राष्ट्रिय मानवअधिकार आयोगको चासोलाई समेत राखेर नेपाल सरकारको दृष्टिकोण सम्प्रेषण गरेका छौँ। यसमा हामी प्रयत्न गरिरहेका छौँ," उनले भनेका छन्।

रुसी सेनामा भर्ती भएका सात जना नेपाली मृत्यु भइसकेको बारे नेपाललाई रुसी सरकारले नै जानकारी गराइसकेको छ। काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपालीमध्ये करिब दुई सय जना त्यहाँको सेनामा भर्ना भएको हुनसक्ने मन्त्रालयको अनुमान थियो। तर हराउने तथा घाइते हुनेको संख्या नै एक सयको हाराहारीमा पुगेकाले रुसी सेनामा भर्ती हुनेको संख्या अझै धेरै हुनसक्ने मन्त्री साउद बताउँछन्।

रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर ‘नो अब्जेक्सन  सर्टिफिकेट’ (एनओसी) प्रदान गर्न रोक लगाइएको छ। यस्तै, दक्षिण एशियाको भारत, बांग्लादेश र श्रीलंका तथा खाडीका ६ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाएको छ।

त्यति गर्दा पनि थप केही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा थप निगरानी बढाइएको मन्त्री साउदको भनाइ छ।

"यसमा हामीले आफ्नोतर्फबाट गर्ने पहलकदमीमा केही कसर बाँकी राखेका छैनौँ। कुनै कारणवस अप्ठ्यारोमा परेर हाम्रो दूतावासमा पुगेकाको उद्धार गरेका छौँ। नेपाल फिर्ता गरेका छौँ," उनले भने।

यस्तै, ४ जना नेपाली युक्रेनी सेनाको नियन्त्रणमा छन्। उनीरूलाई छुटाउन युक्रेन सरकारसँग नियमित सम्पर्क भइरहेको उनले बताए। 

"युक्रेन हेर्ने हाम्रो राजदूतले उद्धारका लागि वार्ता संवाद गरिरहनुभएको छ। दिल्लीस्थित नेपाल हेर्ने युक्रेनको राजदूतावासमा पनि कुरा भइरहेको छ। अन्तर्राष्ट्रिय रेडक्रसलाई तत्काल रिहाइका लागि सहजीकरण गरिदिन आग्रह गरेका छौँ। यसको परिणाम चाँडै आउँला भन्ने मैले विश्वास लिएको छु," उनले भने।