नारायणगढ–बुटवल सडकमा रास्वपाको दबाबयात्रा

सडक निर्माणमा सरकारले बेवास्ता गरेको र निर्माण कम्पनीले लापरबाही गरेको भन्दै रास्वपाका सभापति रवि लामिछानेले दबाबस्वरूप पैदलयात्रा गर्ने घोषणा गरेका हुन्।

फाइल तस्वीर

काठमाडौँ– नारायणगढदेखि बुटवलसम्मको सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबारदेखि दबाबयात्रा गर्दैछ।

रास्वपाका सभापति रवि लामिछानेले सडक निर्माणमा सरकारले बेवास्ता गरेको र निर्माण कम्पनीले लापरबाही गरेको भन्दै दबाबस्वरूप पैदलयात्रा गर्ने घोषणा गरेका हुन्। 

नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर तीन दिनसम्म लगाएर पैदल हिँडेर पार गर्ने रास्वपाको तयारी छ। सभापति लामिछानेले भनेका छन्, "पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको बिलम्ब र अहिले यात्राक्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु यात्राको मुख्य उदेश्य हो। यात्रामा मलाई पार्टीका नेतागण र सांसदहरूले पनि साथ दिँदै हुनुहुन्छ।"

उनले यात्राका क्रममा दायाँबायाँ बस्ती छिरेर भेला गर्ने र कार्यक्रमहरू गर्ने समय अभाव भएको बताएका छन्। 

"सबैका समस्या सुन्ने र सुझाव ग्रहण गर्ने इच्छा थियो। तर, यात्राको दिन लम्बिने भएकाले यसपटक त्यसकालागि समय छुट्याउन असमर्थ भएको छु," लामिछानले भनेका छन्, "यात्राको बीच–बीचमा स्वागत वा अन्य कार्यक्रम पनि नराख्न अनुरोध गर्दछु।"

उनले यो यात्राका माध्यमबाट सांकेतिकरूपमा सडक निर्माणमा सरकारको ध्यानाकर्षण गराउन चाहेको समेत बताएका छन्। साथै उनले यात्राका क्रममा पार्टीको प्रचार नगर्न पनि आग्रह गरेका छन्।

"हाम्रो यात्राका कारण सवारी आवतजावतमा कुनै अवरोध नहोस् भन्नेमा पनि हामी सचेत छौँ। दबाब यात्रामा साथ दिन आउनु हुने कसैले पनि झण्डा, लोगो, टिसर्ट लगायत पार्टीसम्बद्ध कुनै पनि वस्तु प्रयोग नगर्नसमेत आग्रह गर्दछु," उनले भनेका छन्।