एक वर्ष पुगेपछि नयाँ धक्का दिएर क्रमभंग गर्दै छु: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढंगबाट क्रमभंग गर्ने तयारी गरिरहेको र त्यो निर्णयमा जनताको पनि साथ रहने विश्वास लिएको बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकालको एक वर्ष पुगेलगत्तै ‘बोल्ड डिसिजन’ लिने बताएका छन्।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमा निर्माण सम्पन्न चार सय केभी इनरुवा जीआईस सवस्टेसन उद्घाटनका क्रममा शुक्रबार प्रधानमन्त्री दाहालले आफू ‘नयाँ धक्का’नजिक पुगेको बताएका हुन्।

“मेरो अब एक वर्ष पूरा हुँदैछ, प्रधानमन्त्री भएर तेस्रो कार्यकाल शुरू गरेको। एक वर्ष पूरा भएपछि मैले नयाँ ढंगले केही धक्का दिएर क्रमभंग गर्दै छु। त्यतिबेला आमनेपाली जनताको साथ रहने विश्वाससमेत व्यक्त गर्न चाहन्छु,” नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भने।

समाजमा जनतालाई निराश पार्ने भाष्य सिर्जना भएकोप्रति चिन्ता व्यक्त गर्दै उनले नकारात्मक भाष्यबाट टाढा बस्न आग्रह गरे। देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन पनि उनको अपिल छ।

“नेपाल उज्यालो छ। नेपालमा धेरै सम्भावना छ। धेरै चिज गर्न सकिन्छ। यो विश्वास जनतामा जगाउन सरकार लागिपरेको छ। एकताको बलमा सरकार अघि बढेको छ। छिट्टै सारा निराशा अन्त्य हुनेछ,” उनले भने।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा बनेको चार सय केभी इनरुवा जीआईस सवस्टेसन नेपालकै दोस्रो ठूलो सवस्टेसन हो। प्राधिकरण, हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी सवस्टेसन बिस्तार आयोजनाअन्तर्गत निर्माण सम्पन्न सवस्टेसन पूर्वक्षेत्रमा गुणस्तरीय विद्युत् आपूर्ति गर्न मात्र नभई भारतसहितका मुलुकमा विद्युत् सप्लाइ गर्नसमेत सहज हुने विश्वास लिइएको छ।