इलाम डी मेचीले दुई खेलमा पेनाल्टी पाउँदा विदेशी खेलाडीले प्रहार गरेका दुवै पेनाल्टी खेर गए। कुल आठ खेल खेलेको इलामले पाँच खेलमा जम्मा ६ गोल मात्र गर्न सक्यो। बाँकी तीन खेल गोलबिहीन भयो।
काठमाडौँ- दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा स्पोर्टिङ इलाम डी मेची एफसी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो। दोस्रो संस्करणबाटै एनएसएलमा सहभागी भएको यो फ्रेन्चाइजी टोलीले कम्तीमा ‘फ्लेअफ’ पुग्ने लक्ष्य बनाएको थियो। अन्तिम खेलमा जित हासिल गरेपछि अंक तालिकामा पाँचौँ स्थानमा रहेर बाहिरिएको छ।
लिग चरणका कुल आठ खेलमा इलामले दुई जित मात्रै हासिल गर्न सक्यो। बाँकी दुईमा बराबरी र चारमा हार बेहोरेर जम्मा ८ अंक हासिल गर्यो। मुख्य प्रशिक्षक मेघराज केसी आफ्नो टोलीले अक्सनबाट उत्कृष्ट नेपाली र विदेशी खेलाडी भित्र्याए पनि नतिजा आउन नसकेको बताउँछन्।
“एनएसएलमा इलाम भन्ने बित्तिकै जुन चाम थियो, टिमको स्तर थियो, त्योअनुसार नतिजा निकाल्न सकेनौँ। हामीले अक्सनबाट विराज (महर्जन) र भरत (खवास) जस्ता अनुभवी खेलाडी भित्र्याएका हौँ। विदेशी खेलाडीमा पनि सम्झौता गरेनौँ। तर खेलअनुसार रिजेल्ट दिन सकेनौँ,” केसी भन्छन्।
अघिल्लो सिजन केसी चितवन एफसीका मुख्य प्रशिक्षक थिए। त्यति बेला उनले जितेन्द्र कार्की, जर्जप्रिन्स कार्की, भरत खवास र विकास खवासजस्ता आर्मीका खेलाडी बटुलेर टोली बनाएका थिए। तर तीन खेलपछि पारिवारिक कारण देखाउँदै केसीले टिम छाडेका थिए।
उनले 'टचलाइन' सम्हालेका शुरूआती दुई खेलमा चितवन बराबरीमा रोकिएको थियो। यिनै दुई खेलमा मात्र अंक जोडेको चितवन लिग सकिँदा सात टोली सहभागी प्रतियोगिताको अंक तालिकामा पुछारमा रह्यो।
प्रशिक्षण नै छाड्ने घोषणा गरिसकेका केसी यसपटक एनएसएलको नवप्रवेशी टोली इलाममा फर्किएका थिए। उनी इलामलाई कम्तिमा ‘प्लेअफ’मा पुगेको देख्न चाहन्थे। त्यसैले, आफ्नो पुरानो क्लब आर्मीका अधिकांश खेलाडी भित्र्याए। भरत र जितेन्द्र उनको पहिलो प्राथमिकतामा रहिरहे। गोलरक्षक विकेश कुथु इलामको मार्की खेलाडी भए। तर इलामले शुरूआती खेलदेखि नै राम्रो नतिजा ल्याउन सकेन।
दोस्रो संस्करणमा पाँच विदेशी खेलाउन पाउने प्रावधान थियो। इलाम पहिलो खेलमा चार विदेशी खेलाडी लिएर उत्रिएको थियो। इलामको टिममा डिफेन्डर इब्राहिम डिजितेभ, मिडफिल्डर अब्दुलाये बा र अमथ एन्डूउ तथा फरवार्ड फोडे कामरा थिए। इब्राहिम र बासँग सेनेगलको लिग खेल्ने 'जेनेरेसन फुट'बाट खेलेको अनुभव छ। अमथले पोर्चुगाली क्लब टोन्डेलाबाट खेलेका थिए। फोडे भने मोल्दोभामा रहेको मोल्डोभान क्लबबाट सुपर लिग खेलिसकेका खेलाडी हुन्।

इलामले पहिलो खेल साविक विजेता काठमाडौँ रेजर्सविरुद्ध खेलेको थियो। माथिल्लो स्तरका लिग खेल्दै आएका विदेशी खेलाडी रहेको इलामले अधिकांश समय काठमाडौँमाथि दबाब सिर्जना गरे पनि गोल अवसर सिर्जना गर्न सकेन। पहिलो खेलमा खेलाडीले तालमेल मिलाउन नसक्दा १-० गोल अन्तरको हार बेहोरेको प्रशिक्षक केसी बताउँछन्।
“खेलमा हारजित हुनु स्वभाविक हो। हामीले पहिलो खेलमै आफ्नो स्तरअनुसारको प्रदर्शन गर्न सकेनौँ। काठमाडौँले हामीलाई दबाबमा राखेर गोल गरेका थिएनन्। त्योबेला उनीहरूको दिन थियो। हाम्रो टोलीमा तालमेल मिलेन,” उनी भन्छन्।
इलामको दोस्रो खेलमा विदेशी खेलाडी थपिए। एफसी झापामाथि १-० गोलअन्तरको जित हासिल गर्दा भारतीय डिफेन्डर सुरज सिंह र उमर मुस्तफा थियाम पनि मैदानमा देखिए। सुरज भारतीय क्लब र थियाम सेनेगलको क्लबबाट लिग खेलिसकेका खेलाडी हुन्।
प्रशिक्षक केसी केही खेलमा पाँचमध्ये पाँचै खेलाडी एक साथ मैदान उतार्न नसकेको र सबै खेलाडी उतारेको खेलमा पनि दुई विदेशीले मात्रै राम्रो प्रदर्शन गरेको बताउँछन्। “विदेशी पाँच जना भित्र्याएका थियौँ। दुई जना चाहिँ राम्रो लेभलका आए। विभिन्न पोजिसनमा खेल्ने तीन जना स्तरीय आएनन्। यसपटक हामी विदेशी खेलाडीमा चुक्यौँ,” उनी भन्छन्।
यसपटक इलामले आठ खेलमा ३८ पटक विपक्षी टमको गोलपोस्टमा आक्रमण गरेको थियो। त्यसमध्ये ६ प्रहार मात्रै गोलमा परिणत भए। उसले पाँच खेलमा मात्र गोल गर्न सक्यो। प्रतियोगिताभर इलामले आठ गोल खायो। ती आठ गोल पनि हुलमुलमा खान पुगेको प्रशिक्षक केसीको दाबी छ।
“शुरूआती खेलदेखि नै विपक्षी टोलीलाई डोमिनेट गरेर राखेका हौँ। तर प्रत्योक म्याचमा स्कोरिङमा चुक्यौँ। हामीले जति पनि मौका सिर्जना गरेका थियौँ, त्यसको पाँच प्रतिशत मात्रै सदुपयोग गरेको भए तालिकाको शीर्ष स्थानमा रहने थियौँ,” उनी भन्छन्।

इलामका गोलरक्षक कुथु डिफेन्डरबाट राम्रो प्रदर्शन हुन नसक्दा बाहिरिनुपरेको बताउँछन्। अधिकांश समय इलामको 'डिफेन्स लाइन' राष्ट्रिय टोलीबाट खेलिसकेका विराज महर्जनसँगै विमल पाण्डे, आषिश गुरुङ र इब्राहिमले सम्हालेका थिए। उनीहरूबाहेक जितेन्द्र कार्की, हरि सिटौला र सुरज सिंह पनि डिफेन्स लाइनमा देखिए। तर इलाम रणनीतिमा निकै फितलो देखियो। विशेषगरी धनगढी एफसीसँगको खेलमा रणनीतिको अभाव खड्कियो। उक्त खेलमा इलामले दुई गोलको अग्रता लिएको थियो। तर विदेशी खेलाडीले विपक्षी खेलाडीलाई डिबक्स भित्र लडाउँदा र कर्नर बलमा मार्क गर्न नसक्दा खेल २-२ गोलको बराबरीमा सकियो।
इलामको ‘टर्निङ प्वाइन्ट’
पहिला दुई खेलमा एक हार र एक जितपछि तेस्रो खेलमा इलामले शुरूआतदेखि बुटवल लुम्बिनीलाई दबाबमा राखेको थियो। तर शुरूआती अग्रता बुटवलले लियो। दोस्रो हाफको चौँथो मिनेटमा जिलेस्पीजंग कार्कीले तीन डिफेन्डरलाई छक्याउँदै दिएको क्रसमा स्टेफन समिर बिनोङले गोल गरेका थिए।
त्यसको ७ मिनेटपछि नै इलामलाई खेलमा फर्किने मौका जुरेको थियो। डीबक्सभित्र दीपेश घलेको प्रहार बुटवलका डिफेन्डर एर्नेस्ट टम्पीको हातमा लागेपछि इलामले पेनाल्टी पायो। बाले हानेको पेनाल्टी बुटवलका गोलरक्षक मोहामडुले बचाए। झापाविरुद्ध पनि इलामले पेनाल्टी प्राप्त गरेको थियो। तर एमथको प्रहार आकासिएको थियो। पछिल्लोपटक पनि एमथले नै पेनाल्टी प्रहार गर्न खोजेका थिए। त्यसबेला खेलाडीले आफ्नो निर्देशन पालना नगरेको प्रशिक्षक केसीको भनाइ छ।
“प्रशिक्षणको दौरान हामीले सेटपिस हान्ने खेलाडी पहिलै छुट्याएका थियौँ। तर खेलाडीले मेरो निर्देशन मानेनन्,” उनी भन्छन्, “११ जनालाई नै पेनाल्टी हान्न मन हुन्छ। आत्मविश्वासी खेलाडीलाई मौका दिनुपर्छ। त्यो खेलमा पेनाल्टी हान्नुपर्ने खेलाडीले हानेन्।”

पेनाल्टी चुकाए पनि बुटवल लुम्बिनीविरुद्ध इलामले २ गोल गरेको थियो। एरिक विष्टले करिब ३० यार्डबाट हानेको फ्रिकिक गोलमा परिणत भयो। ७८औँ मिनेटमा बाले गोल गरे। तर इलामलाई यी गोल जितका लागि पर्याप्त थिएनन्।
त्यसपछि पोखरा थन्डर्ससँग १-० गोलले पराजित हुँदा र धनगढीसँग २-२ गोलको बराबरीमा रोकिँदा इलामको प्लेअफमा पुग्ने लक्ष्य कमजोर बनिसकेको थियो। वीरगन्जसँगको खेलको ९७औँ मिनेटमा रेफ्रीले विवादस्पक पेनाल्टी दिनुले पनि आफूहरूलाई फरक परेको केसी बताउँछन्।
“पहिलो हाफमा चार वटा अवसर सिर्जना गरेका थियौँ। तर एक मात्रै अवसरलाई गोलमा परिणत गर्न सक्यौँ। जित्नै पर्ने दबाबमा थियौँ। दबाबमा खेल्दा पहिलो हाफको जस्तो खेल हुन सकेन,” उनी भन्छन्, “हाम्रो डिफेन्डरलाई पछाडिका खेलाडीले ठेलेर लडेका थिए। त्यो बल टार्गेटमा पनि थिएन। त्यसले (पेनाल्टीले) असर गर्यो। त्यो खेल जितेको भए प्लेअफको सम्भावना थियो।”
त्यसपछि चितवनसँग इलाम गोलरहित बराबरीमा रोकियो। यद्यपि, उसले प्लेअफ पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा रहेको ललितपुरलाई अन्तिम खेलमा १-० गोलअन्तरले पराजित गर्दै लिग टुंग्यायो।
रेफ्रीहरूले केही कमजोरी गरे पनि इलाम आफ्नै कारणले बाहिरिएको प्रशिक्षक केसी बताउँछन्। “रेफ्रीकै कारण हाम्रो रिजेल्ट बिग्रियो भनेर भन्दिनँ। एउटा खेलमा हामीले पाँच मौका सिर्जना गरेका छौँ, तर सदुपयोग गर्ने बेलामा मिस्टेक गरेका छौँ। अनि रेफ्रीले गरेको सानो मिस्टेकलाई हाइलाइट गरेर हामीले आफ्नो कमिकमजोरी छोप्नु मुर्खता हो। त्यसैले हाम्रै कारण चुक्यौँ भन्छु,” केसी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
