बचत फिर्ता नगरेको भन्दै कान्तिभैरव सहकारीपीडित आन्दोलित

बचत गरेर समस्या परेका बेला गर्जो टार्ने आशा गरेका पीडित भने दैनिक सहकारीको कार्यालय पुगेर निराश हुँदै फर्किने गरेका छन्।

काठमाडौँ– गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित कान्तिभैरव बचत तथा ऋण सहकारीका बचतकर्ता धर्नामा उत्रेका छन्।

सहकारीले दुई वर्षदेखि मागे जति बचत फिर्ता गर्न नसकेपछि धर्नामा उत्रन बाध्य भएको सहकारीपीडित संघर्ष समितिले जनाएको छ। समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार सहकारीमा सात हजार ७०० भन्दा बढी बचतकर्ता छन्। सहकारीले बचतकर्ताको एक अर्ब २० करोड ८० लाख रुपैयाँ फिर्ता गर्न बाँकी रहेको उनले बताए। 

समितिका अनुसार सहकारीले ६० करोड रुपैयाँ ऋण बिना धितो लगानी गरेको छ। त्यसमध्ये धेरै रकम सञ्चालकले आफन्तका नाममा प्रवाह गरेका छन्। छ करोड मात्र धितो राखेर लगानी गरेको पाइएको समितिका सदस्य राजेशकुमार विष्टले सुनाए। 

सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ भने गत असोजसम्म संघर्ष समितिमा बसेकालाई लाख रुपैयाँ र साधारण बचतकर्तालाई हजार रुपैयाँका दरले पैसा बाँडिएको बताउँछन्। धर्नापछि बिहीबार साँझ भएको बैठकमा पनि संघर्ष समितिका नेता मात्र सहभागी भएर अरूलाई नराखिएको उनको भनाइ छ। बागमती प्रदेशसभा सदस्य विमल ठकुरीको सहजीकरणमा बैठक भएको थिए। 

छ महिना अघिदेखि नै सहकारीका सञ्चालक र कर्मचारी कार्यालय आउन छोडेका छन्। सहकारी बन्द भएको छैन भन्ने देखाउनकै लागि मात्र कार्यालय खोल्ने कर्मचारी पठाएर कार्यालय खोल्ने गरिएको पीडित लकबहादुर तामाङले जानकारी दिए। दैनिक जाँदा पनि कर्मचारी, सञ्चालक नभेटिने तर कार्यालयको मूल ढोका मात्र खुल्ने गरेको उनले बताए। 

सहकारीमा बचत गरेर समस्या परेका बेला गर्जो टार्ने आशा गरेका पीडित भने दैनिक सहकारीको कार्यालय पुगेर निराश हुँदै फर्किने गरेका छन्। सहकारीले पैसा फिर्ता नगरेपछि धेरै बचतकर्ताले बिरामी भएका बेला उपचार गर्न पनि नपाएको तामाङको गुनासो छ। 

सहकारीका कर्मचारी राजकुमार श्रेष्ठले ७० लाख रुपैयाँ ऋण लिएको भेटिएको संघर्ष समितिका अध्यक्ष सुवास श्रेष्ठले बताए। बचतकर्ताको बचत फिर्ता गर्न नसकेको सहकारीका सञ्चालक राधेश्याम श्रेष्ठ भने अहिले विदेश गएको उनको भनाइ छ।

सहकारीका सञ्चालक र धेरै कर्मचारी गोकर्णेश्वर नगरपालिका–४ चौताराका रहेको पीडित बचतकर्ताको भनाइ छ।