थमन विक हत्या प्रकरण : सांसद कोइरीलाई सफाइ, लोसपा प्रदेश संसदीय दलका नेतासहित ७ जनालाई जन्मकैद

सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई अदालतले सफाइ दिएको छ भने सात जना प्रतिवादीलाई जन्मकैदको फैसला भएको छ।

फाइल तस्वीर

काठमाडौँ– मधेश आन्दोलनका क्रममा आन्दोलनकारीबाट मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई अदालतले सफाइ दिएको छ। हत्या प्रकरणका अभियुक्त कोइरीलाई बिहीबार महोत्तरी जिल्ला अदालतले सफाइ दिने फैसला सुनाएको हो। 

यस्तै, प्रतिवादी पवन कापरले पनि सफाइ पाएका छन्। महतोले आगलागी मुद्दामा पनि अदालतले सफाइ दिएको छ। न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले विक हत्या प्रकरणमा फैसला सुनाएको स्रेस्तेदार नुतन झाले जानकारी दिइन्।

एमाले सांसद कोइरीसहित दुई जनाले सफाइ पाए पनि हत्या प्रकरणका सात जना प्रतिवादीलाई भने जन्मकैदको फैसला भएको छ। लोसपाका मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई जन्मकैदको फैसला भएको छ। यस्तै, सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई पनि जन्मकैदको फैसला भएको छ। 

जन्मकैद ठहर भएकाहरूको हकमा आगलागी मुद्दामा थप ६ महिना र एम्बुलेन्समा भएको क्षतिअन्तर्गत उनीहरूबाटै सरकारलाई उपलब्ध हुने गरी १० लाख रुपैयाँ भराउने फैसला पनि भएको छ।

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई विकको हत्याको अभियोग लागेका शर्मा यसअघि जिल्ला अदालत महोत्तरीको आदेशमा साधारण तारिखमा छुटेका थिए।

२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर लाँदै गर्दा एम्बुलेन्सबाट तानेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो। फरार रहेका प्रतिवादीहरूको हकमा मुद्दा मुल्तबी गरिएको छ। यो प्रकरणमा १९ जना फरार छन्।