धेरै पुरुषलाई आफू ‘पीडक हुँ’ भन्ने चेतना छैन भने कतिपय पीडित महिलालाई पनि ‘म पीडित छु’ भन्ने बोध नै छैन। अतः लैंगिक हिंसाको विषय मूल रूपमा चेतना र शिक्षा नै हो।
महिला र पुरुषको हर कोणबाट समान व्यवहारको सपना देख्नेहरूले विकास गरेको अवधारणा हो, लैंगिक समानताको दर्शन। यो अवधारणामा पुरुष, महिला तथा यौनिक अल्पसंख्यकलाई राजनीतिक, आर्थिक र सामाजिक दृष्टिबाट समेत समान रूपमा हेरिन्छ। सबै लैंगिक पहिचानका व्यक्तिलाई समान अवसर, जिम्मेवारी, अधिकार, सेवा, लाभ, स्रोतसाधनमा समान अवसर, पहुँच र नियन्त्रणमा समानता यसको मर्म हो।
जन्मिनुअघि नै छोरीहरू हिंसामा पर्ने समाज हो हाम्रो। महिलालाई त यो समाज कष्टकर छँदैछ, महिला–पुरुषभन्दा अलग लैंगिक पहिचानका व्यक्तिका लागि त जीवन झनै कष्टकर हुन्छ। आम मान्छेले तिनका करा बुझ्न चाहँदैनन्, परिवारले समेत तिनको शारीरिक र भावनात्मक चाहना बुझ्न सकिरहेका हुँदैनन्। जन्मेका सबै व्यक्तिले उही न्याय, आत्मसम्मान र अवसर पाउने समाज निर्माणका लागि सचेत मान्छेहरूले काम गर्नुपर्छ।
लैंगिक हिंसाका विषय लामो समयदेखिको सामाजिकीकरण निम्तेको विषय भएकाले एक पक्षीय वकालतले मात्रै यो अभियान सफल हुन सक्दैन। पीडक पक्षलाई पनि सचेत गराउने अभियान चलाउनुपर्छ। धेरै पुरुषलाई आफू ‘पीडक हुँ’ भन्ने चेतना छैन भने कतिपय पीडित महिलाले समेत ‘म पीडित छु’ भन्ने बोध नै छैन। अतः लैंगिक हिंसाको विषय मूल रूपमा चेतना र शिक्षा नै हो।
लैंगिक समानताका लागि नारी वर्गको चेतनामा अभिवृद्धि गरिनुपर्छ भनिन्छ, तर कुरो त्यति मात्रै होइन। लैंगिक हिंसा अन्त्य गर्न प्रत्येक व्यक्ति सचेत हुनु जरुरी छ। कानूनी अधिकारसँगै मानवता, स्नेह, करुणा भाव, आत्मिक प्रेमभाव, र नि:स्वार्थपन पनि लैंगिक समानताका लागि आवश्यक छ।
यस लेखमा मूल रूपमा कसरी फरक लैंगिक पहिचानका व्यक्तिमाथि समाज र संस्कृतिले फरक व्यवहार र अपेक्षा गर्छ भन्नेबारे व्याख्या गर्न खोजिएको छ।
लैंगिक सामाजिकीकरण
भर्खरै जन्मेको शिशुलाई उसको लिंगको आधारमा पुरुष र महिलामा परिवर्तन गर्न सामाजिक र सांस्कृतिक प्रक्रिया शुरू हुन्छ, त्यो नै सामाजिकीकरण हो। समाज र संस्कृतिअनुसार व्यक्तिको सामाजिकीकरण हुन्छ। हरेक समाजले महिला र पुरुषका लागि बेग्लाबेग्लै मूल्य मान्यता, भूमिका, उत्तरदायित्व र विशेषता तोकिदिएको हुन्छ। ‘पुरुष यस्तो हुनुपर्छ, उसले यस्तो गर्नुपर्छ, यस्तो गर्नुहुँदैन। महिला यस्तो हुनुपर्छ, उसका काम यी हुन्। उसले यसरी हिँड्नुपर्छ, उनले यसरी बोल्नुपर्छ’ आदि।
सामाजिकीकरणका प्रक्रियामा यी पक्ष मूल रूपमा जिम्मेवार देखिन्छन्:
परिवार वा छिमेकी
महिला र पुरुषलाई सामाजिकीकरण गर्न सघाउ पुर्याउने प्रमुख तत्त्व हुन् घरपरिवार तथा छिमेकी। शिशु जन्मेपछि त्यस परिवारको संस्कारअनुसार उसलाई परिवर्तन गरिन्छ। ‘छोराले यस्तो रङको लुगा लगाउनुपर्छ, यसरी बोल्नुपर्छ। छोराले पनि यसरी रुन्छन्? छोरी मान्छे भएपछि घरको कुचो लगाउनुपर्दैन त? छोरी भएर कपाल काट्नहुन्छ त?’ यी उदाहरणले कसरी परिवार र छिमेकीले बच्चामा लैंगिक सामाजिकीकरण गरिरहेका भन्ने बुझ्न सकिन्छ। परिवार र छिमेकीको व्यवहारले बच्चाले ‘म त फलानो लैंगिक पहिचानको रहेछु, मैले यसो पो गर्नुपर्ने रहेछ’ भनेर बुझ्छ। सोहीअनुसार बच्चाले आफूलाई समेत ढाल्दै जान्छ र सोहीअनुसार अरूलाई समेत व्यवहार गर्छ।
पोसाक तथा खेलौना
शिशुलाई जन्मँदै लिंगको आधारमा समाजले तोकिदिएको पोसाक लगाउन र खेलौना खेल्न दिइन्छ। पोसाकमै महिला र पुरुषका विशेषता समाजले अंकित गरिदिएको हुन्छ। आम रूपमा यो रङ पुरुषका लागि, यस्तो खेलौना महिलाका लागि भनेर तोकिन्छन्। सोहीअनुसार महिला र पुरुषको अलग परिचय बन्छ। त्यसैअनुसार समाजमा भूमिका बन्दै जान्छ।
धर्म, संस्कृति र परम्परा
धर्म, संस्कृति र परम्पराले सामाजिकीकरणमा सहयोग पुर्याएका हुन्छन्। परिवारले मान्ने धर्मकै आधारमा जन्मेको बच्चालाई व्यवहार गर्न थालिन्छ र उस/उनले सबै कुरा बुझ्न नपाउँदै उसलाई सोहीअनुसार व्यवहार गर्न थालिन्छ। परम्परा र संस्कृतिमा शिशुलाई सहभागी गराइन्छ। महिला यस्ता हुन्छन् र पुरुष उस्ता हुन्छन् भन्ने अवधारणा अन्ततः साना केटाकेटीको मस्तिष्कमा पनि छिर्ने गर्छ। जसका कारण सानैदेखि व्यक्तिले प्राय: परिवारकै परम्पराको सिको गर्छ। कतिपय सिकाइले व्यक्तिलाई राम्रै गर्छ तर सबैले गर्दैनन्।
शिक्षा र शैक्षिक संस्था
सामाजिकीकरणको प्रक्रियामा शिक्षा, शैक्षिक प्रणाली र शैक्षिक संस्थाको ठूलो हात हुन्छ। शिशुको विकासमा तिनले प्राप्त गर्ने शिक्षा तथा शिक्षा प्रदान गरिने शिक्षण संस्थाको ठूलो भूमिका हुन्छ। हाम्रा पाठ्यक्रम, शैक्षिक संस्था र शिक्षा पद्धति पहिले नै लैंगिकमैत्री छैनन्। त्यसो हुँदा तिनले पनि त्यही खालको स्त्रीद्वेसी या फरक पहिचानद्वेसी अवधारणा सिकाइरहेका हुन्छन्।
कानून
समाज, धर्म, संस्कृति र परम्पराको प्रभाव कानूनमा पर्नु स्वाभाविक भयो, किनकि मान्छेले नै कानून बनाउने हो। नेपालमा कतिपय कानून महिला तथा यौनिक अल्पसंख्यकमैत्री छैनन्। अहिले छोरीलाई छोरासरह सम्पत्ति दिने कानून व्यवस्था छ, तर त्यसलाई व्यवहारमा अनिवार्य लागू गराउने कानूनी प्रावधानहरू छैनन्। यसरी कानूनले पनि लैंगिक सामाजिकीकरणमा भूमिका खेलेको हुन्छ।
जनसञ्चार
आजको युगमा मान्छेले धेरै कुरा सार्वजनिक सञ्चारका माध्यमबाट प्राप्त गर्छ। पत्रपत्रिका, रेडियो, टिभी तथा सामाजिक सञ्जालले के कस्ता सन्देश दिन्छन्, सोहीअनुरूप व्यक्तिले आफ्नो अवधारणा बनाउन थाल्छ। हाम्रा सञ्चारमाध्यममा ‘पुरुष बहादुर हो, पुरुषले मात्र आम्दानी गर्नुपर्छ र परिवार चलाउनु पर्छ। महिलाले सेवा तथा पुरुषलाई रिझाउने काममा दक्ष हुनुपर्छ’ भन्ने सन्देश दिने खालका सामग्रीहरू आइराखेका हुन्छन्। फिल्म, टेलिफिल्म र विज्ञापनहरूमा पनि महिलाहरूले भाँडा माझेको, खाना पकाएको, परिवारलाई चिया बाँडेको र कुचो लगाएको देखाउने गरिन्छ। त्यसले अन्ततः महिलाहरू पुरुषको सहयोगीको भूमिकामा छन् भन्ने सन्देश प्रवाह भइरहेको हुन्छ।
महिला र पुरुषको भूमिका
समाजमा महिला र पुरुषका लागि अलग भूमिका/श्रम विभाजन तोकिइएका छन्। यस्ता भूमिका समाज, समुदाय, व्यक्ति, समय आदि अनुसार फरक पर्छन्। हाम्रो समाजमा निम्न आधारमा महिला र पुरुषको भूमिकाको विश्लेषण गर्न सकिन्छ:
उत्पादनशील भूमिका
बिस्तारै महिलाहरू घरबाहिर निस्कन थालेका छन्, तर आम रूपमा पुरुषले हलो जोत्ने, नोकरी गर्ने, व्यवसाय गर्ने, कार्यालय या कारखानामा काम गर्ने गर्छन्। महिलाले भने खाना पकाउने, सरसफाइ गर्ने, धान रोप्ने, गोड्ने, वस्तुको स्याहारलगायतका कृषि मजदुरी आदि गर्छन्। प्रत्यक्ष आम्दानी हुने वा सम्पत्ति मिल्ने भूमिका पुरुषको हुन्छ भने सहायक भूमिकामा बिरलै पैसा (शक्ति) लुकेको हुन्छ। शक्तिले अरूलाई नियन्त्रण गर्न सहयोग गर्छ।
पुनरुत्पादनशील भूमिका
यसका दुई प्रकार हुन्छन्: एक, जैविक भूमिका अर्को सामाजिक भूमिका। बच्चा जन्माउनु, स्तनपान गराउनु आदि जैविक भूमिका हो भने बच्चा, अशक्त र वृद्धवृद्धाको स्याहार, खाना बनाउने, खुवाउने, घाँस–दाउरा–पानीको व्यवस्था गर्नु, बजार जानु र परिवारका सदस्यको स्वास्थ्यको हेरचाह गर्नु सामाजिक भूमिका हो। मूल रूपमा यसमा महिलाकै धेरै भूमिका हुन्छ।
यी काम अत्यावश्यक काम हुन्, तर यी कामबाट प्रत्यक्ष आर्थिक लाभ नहुने हुनाले समाजले यी कामको उचित मूल्यांकन गर्ने गरेको पाइन्न। पुनरुत्पादनशील सामाजिक भूमिकामा संलग्न भइरहन पर्ने भएकाले महिलालाई उत्पादनशील भूमिकामा संलग्न हुन समय नै मिल्दैन। उत्पादनशील भूमिका आम्दानीसँग प्रत्यक्ष सम्बन्ध राख्ने हुँदा पुरुषको बाहुल्यता त्यस क्षेत्रमा बढी भई महिलाहरू स्वतः सो भूमिकामा अग्रणी स्थानमा आउन नसकेका हुन्। समय मिलेर उत्पादनशील भूमिकामा संलग्न भए पनि पुनुरुत्पादनशील सामाजिक भूमिकामा पुरुषको संलग्नता नहुने हुँदा महिलालाई झनै कार्यबोझ बढ्न जान्छ। महिला नै थप मारमा पर्छन्। पर्ने गरेका छन्।
सामुदायिक भूमिका
चाडपर्व–उत्सव, सामाजिक तथा सांस्कृतिक गतिविधि, सामुदायिक विकासका कार्य, समूह र संगठनमा सहभागिता, स्थानीय तहमा राजनीतिक कार्य तथा समुदायमा गरिने विभिन्न कार्य सामुदायिक भूमिकामा पर्छन्। यस्ता कार्य समुदायको एकता र संस्कृतिको संरक्षण विकासका लागि आवश्यक हुन्छ। यस्ता काममा महिला र पुरुष दुवै संलग्न हुन्छन्, तर त्यहाँ पनि कामको लैंगिक विभाजन भइहाल्छ।
विवाह तथा व्रतबन्धका बेला घरभित्र बसेर महिलाले परिकार बनाउँछन् भने पुरुषले परिकार बाँड्छन्। राजनीतिमा सहयोग महिलाले गर्छन्, पदचाहिँ पुरुषले हासिल गर्छन्। समूहमा सदस्यका रूपमा महिला पनि रहन्छन्, तर निर्णायक पदमा पुरुष नै बढी हुन्छन्। मान, सम्मान, प्रतिष्ठा र ओहदा प्राप्त हुने ठाउँमा पुरुषको संलग्नता बढी हुन्छ, किनकि यस्ता मान, सम्मान र प्रतिष्ठामा आखिरमा शक्तिका स्रोत नै हुन्। माथि नै उल्लेख गरियो, शक्तिले थप शक्ति आर्जन गर्न सहयोग पुर्याउँछ।
महिला पुनरुत्पादनशील भूमिकामा बढी सहभागी हुने (गराइने) कारण पुरुषको सामुदायिक भूमिकामा बढी संलग्नता भएको हो। राजनीतिक भूमिकामा शक्ति भएका कारण पुरुषको संलग्नता बढ्न गएको हो, जुन पितृसत्तात्मक प्रणालीको उपज पनि मान्न सकिन्छ। त्यसकारण कतिपय विकासका कार्यक्रमहरूले महिलालाई उत्पादनशील र सामुदायिक भूमिकामा संलग्न गराउन विभिन्न कार्यक्रम तयार गरी लागु गर्न थालेका पनि छन्।
हाम्रो सामाजिकीकरण प्रक्रिया वास्तवमै विभेदकारी छ। त्यसकारण कमसेकम समतामूलक समाजको आशा राख्ने शिक्षित व्यक्ति र समुदायले घर र समाजबाट लैंगिकमैत्री सामाजिकीकरणका लागि काम गर्नु आवश्यक छ। गफ त हामीले धेरै गरिसक्यौँ। पुनरुत्पादनशील भूमिकामा संलग्न भइरहन पर्ने भएकाले महिलालाई उत्पादनशील भूमिकामा संलग्न हुन समय मिल्दैन।
डा. कँडेल उद्यमी हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
