‘इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिने रहेछ’

महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने उनको अनुभव छ। सम्पत्तिमा महिलाको पहुँच बढाउन सक्ने हो भने विभेद र हिंसा घटाउन सकिने अनिताले बताइन्।

मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ। 

उनी बिहान नौ बजे अटो लिएर छोरीसँगै घरबाट निस्किन्छिन्। छोरीलाई स्कुल छाडेपछि अटोको काम शुरू हुन्छ। “जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ,” उनले भनिन्। उनले अटो चलाउन थालेको पाँच वर्ष भयो। 

महिलाले सवारीसाधन चलाउने काम गर्नु हुँदैन भन्ने सोचलाई परिवर्तन गर्न र आर्थिक उपार्जनका लागि पनि अटो चलाएको अनिताले सुनाइन्न। “परिवारको पूरापुर सहयोग भएर यहाँसम्म आएको छु,”उनले भनिन्, “महिला भएर पनि अटो चलाउन सक्छौँ र भन्नेले मेरो मेहनत देखेर प्रशंसा गर्न थालेका छन्।”

अटो चलाउन थालेपछि अनिताको दैनिकी फेरिएको छ। आम्दानी बढेको छ, घर–घडेरीसमेत जोडेकी छन्। छोराछोरी पढाउन सजिलो मात्रै भएको छैन, विदेश गएका श्रीमान् पनि अनिताको मेहनत र कमाई देखेर फर्किएका छन्। “पहिले सानो एउटा घर थियो, अहिले अर्को पक्की घर बनाएकी छु,” उनले भनिन्, “मेरो काम देखेर श्रीमान् विदेश नजाने हुनुभएको छ, यहीँ पसल गर्ने योजना बनाएका छौँ।”

महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने उनको अनुभव छ। सम्पत्तिमा महिलाको पहुँच बढाउन सक्ने हो भने महिलामाथिको विभेद र हिंसा घटाउन सकिने उनले सुनाइन्। “लगनशील र इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिने रहेछ,” उनले भनिन्, “महिलाले सीप सिक्न र आत्मनिर्भर बन्न जरुरी छ, यसबाट महिलाकै मेहनतले घर सम्पत्ति जोडेका उदाहरण पनि भेटिन्छन्।”

महिलालाई सीप सिक्न र स्वरोजगारमा जोडिएर आत्मनिर्भर बन्न अनिताको सुझाव छ। यसले परिवार र समाजबाट हुने हिंसा घटाउने उनको बुझाइ छ। अहिले नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अनिताजस्तै अरू महिला पनि सवारी चालक बनेका छन्। 

गैँडाकोटमा दुई जना महिला व्यावसायिक रूपमा अटो चालक रहेका छन्। संगठित भएका चालकको सम्पर्कमा दुई जना मात्र महिला छन्।