औषधिका रूपमा उच्च मागका कारण पदमचालको अत्यधिक व्यापार हुन्छ। निश्चित वासस्थानमा उम्रने र अर्कातिर धेरै प्रयोगका साथै व्यापार हुने भएकाले पदमचालका सबै प्रजाति लोपोन्मुख छन्।
संसारमा एउटै बिरुवाको धेरै वा धेरै किसिमका बोटबिरुवाको एउटै मात्र नाम हुन सक्छ। उदाहरणका लागि नेपालीमा गोलभेँडा, टमाटर र रामभेँडा भनिने बिरुवालाई अंग्रेजीमा ‘टोमाटो’, फ्रान्सेली ‘टोमाटे’, इटालियनमा ‘पोमोडोरो’ र हिन्दीमा ‘टमाटर’ भनिन्छ भने नेपालमा विभिन्न ठाउँमा बसोबास गर्ने जातजातिले आ–आफ्नो भाषामा यसलाई ‘गोलभान्टा (भोजपुरी), हमाली वा रानीभान्टा (चेपाङ), सुमसुम (राई), रानीभेँडा (सुनुवार) जस्ता नामहरू प्रयोग गर्ने गर्दछन्। त्यसैले साधारण रूपमा विभिन्न देश वा ठाउँमा बसोबास गर्ने मानिसले नामकरण गरेका कुनै पनि बोटबिरुवाको नाममा एकरूपता भेटिँदैन।
साधारण नामका आधारमा निश्चित वनस्पति पहिचान गर्न समस्या हुन्छ। यस्तो समस्या हल गर्न संसारमा वैज्ञानिकहरूले एक बिरुवालाई एउटा मात्र नाम दिने परम्परा बसालेका छन्। यस्तो गर्दा कुनै पनि बिरुवाको नाममा अन्तर्राष्ट्रियस्तरमा एकरूपता कायम हुन्छ र यस्तो नामलाई वैज्ञानिक नाम भन्ने गरिन्छ। उदाहरणका लागि टमाटरलाई संसारको जुनसुकै ठाउँमा पनि ‘लाइकोपरसिकम एस्कुलेंटम’ भन्ने गरिन्छ। कुनै पनि बिरुवाको वैज्ञानिक नाम दुई अलग–अलग शब्दहरू मिलेर बनेको हुन्छ। यी नाम मुख्यतया ल्याटिन भाषामा आधारित भएर नामकरण गरिन्छ र कसरी नामकरण गर्ने भनेर वनस्पति नामकरणको अन्तर्राष्ट्रिय संहिता (इन्टरनेसनल कोड अफ बोटानिकल नोमेनक्लेचर, आइसीबीएन)ले मार्गदर्शन गर्दछ।
वैज्ञानिक नामको पहिलो शब्दले जीवको ‘जीनस’ र दोस्रो शब्दले प्रजाति निर्दिष्ट गर्दछ। यसरी गरिने दुई–नाम प्रणालीलाई द्विपद प्रणाली वा ‘बाइनोमिएल नोमेनक्लेचर सिस्टम’ भनिन्छ। यसको शुरूआत स्विडेनका कार्ल लिनियसले सन् १७५३ मा गरेका हुन्।
संसारमा कति किसिमका बोटबिरुवा छन् भनेर वैज्ञानिक नामका आधारमा गणना गरिन्छ। भौगोलिक रूपमा हाम्रो देश सानो र आर्थिक रूपले विकासोन्मुख छ, तर वनस्पतिका दृष्टिकोणले नेपाल विशाल र समृद्ध छ। वनस्पति प्रजातिका आधारमा नेपाल विश्वमा २७औँ र एशियामा १०औँ स्थानमा छ। देशमा पाइने विभिन्न प्रजातिका बिरुवालाई हामीले खाना, श्रृंगारका सामग्री, औषधि, निर्माण सामग्रीलगायत धेरै प्रकारले उपयोग गर्ने गरेका छौँ।
संसारमा बोटबिरुवा र मानव सभ्यताको परस्पर सम्बन्ध प्रागैतिहासिक कालदेखि नै रहेको पाइन्छ। बोटबिरुवालाई मानिसले औषधिका रूपमा सबैभन्दा पहिले करिब २६ सय इसापूर्व मेसोपोटामियामा गरेका थिए। आज पनि मुख्यतया ग्रामीण क्षेत्रमा बसोबास गर्ने विकासोन्मुख देशका ७० देखि ८० प्रतिशत मानिस आफ्नो प्राथमिक स्वास्थ्य हेरचाहको आवश्यकता पूर्ति गर्न जडीबुटी प्रयोग गर्छन्। सन् २०१२ मा प्रकाशित मेरो एक लेख ‘डिस्ट्रिबिउसन प्याट्रन अफ मेडिसिनल प्लान्ट्स अलङ एलिभेसनल ग्रेडिएन्ट इन सेन्ट्रल हिमालय, नेपाल’का अनुसार नेपालमा औषधिका रूपमा प्रयोग हुने बिरुवा २ हजार ३३१ प्रजातिका छन्।
यी बिरुवा समुद्री सतहबाट ६० मिटरदेखि ६२ सय मिटरको उचाइसम्म भेटिन्छन्। यीमध्ये लगभग ३०० प्रजातिका बिरुवाको व्यापार हुने गर्छ। यसरी व्यापार गरिने धेरै प्रजाति जोखिममा रहेको र एउटा प्रजातिको नाममा समान देखिने अर्कै प्रजातिको पनि व्यापार हुने गर्छ। नेपालमा व्यापार हुने वनस्पतिका धेरै प्रजातिमध्ये एक पदमचाल हो।
के हो पदमचाल?
विशेषतः उपोष्ण, समशीतोष्ण, उपलेकाली र लेकाली कटिबन्धीय क्षेत्रमा पाइने पदमचाल एक किसिमको बिरुवा हो। यो घाँसे मैदान, ढुंग्यान क्षेत्र, बुट्यान, झाडी वा जंगली क्षेत्रमा उम्रने गर्छ। विभिन्न प्रजातिका पदमचाल विशेषतः एशियामा पाइन्छन् भने केही प्रजाति युरोप र अमेरिका पनि भेटिन्छन्।
पदमचाल एउटा बिरुवाको मात्र नाम नभएर धेरै प्रजातिका बिरुवालाई समूहगत रूपमा चिनाउने नाम हो। पदमचाललाई वैज्ञानिकहरूले द्विपद प्रणालीअनुसार ‘रयूम’ जीनसमा राखेका छन् भने विभिन्न प्रजातिलाई छुट्टाछुट्टै नाम दिएका छन्।
‘फ्लोरा अफ चाइना’ भाग ५ का अनुसार संसारमा ‘रयूम’ जीनसअन्तर्गत लगभग ६० प्रजातिका पदमचालका बिरुवा छन् भने चीनमा जम्मा ३८ प्रजाति, भारतमा १० प्रजाति, पाकिस्तान र भुटानमा ६–६ प्रजाति र नेपालमा ७ प्रजाति पाइन्छन्। यी विभिन्न प्रजातिका पदमचालको उचाइ २०–३० सेन्टिमिटरदेखि करिब ३–३.५ मिटरभन्दा अग्ला हुने बाह्रमासे (पेरिनियल) प्रकृतिका हुन्छन्। ठूलाठूला पातका साथै गहिरो ठाउँसम्म पुग्न मजबुत जरा भएका पदमचाल फूल फुल्ने वर्गमा पर्ने वनस्पति हुन्। अत्यन्त साना फूल असारदेखि भदौसम्म फुल्ने गर्छन् भने फल भदौदेखि असोजसम्म लाग्ने गर्छ। फल फापरका दानाजस्ता हुन्छन्।
नेपालमा पाइने पदमचालका प्रजाति र उपयोग
नेपालमा पाइने ६ प्रजातिका पदमचालको नाम वैज्ञानिकअनुसार ‘रयूम अक्युन्याटम, रयूम अस्ट्राले (यसलाई रयूम इमोडी पनि भन्ने गरिन्छ), रयूम डेलीभाइ, रयूम मूरक्रोफ्टियानम, रयूम नोबाइल, रयूम स्पाइसिफर्मी र रयूम वेबबियनम’ हुन्। पदमचालको प्रयोग ठाउँ र जाति विशेषअनुसार फरक–फरक छन्। यी सबै प्रजातिको आ–आफ्नै विशेषता भए तापनि एक–अर्काको परिपूरकका रूपमा प्रयोग र व्यापार गर्दा एउटै नाम ‘पदमचाल’ प्रयोग गर्ने गरिन्छ। प्राय: सबैजस्तो प्रजातिका पातमा पाइने अक्जालिक अम्लका कारण पात विषालु र खानयोग्य हुँदैनन्। यद्यपि, पदमचालका पातका डाँठ, काण्ड र जरा भने अचार र औषधिका रूपमा प्रयोग गरिन्छ। यसका साथै पदमचालका विभिन्न प्रजाति बगैँचा र पार्कहरूमा सजावटी बोटका रूपमा पनि प्रयोग गरिन्छ।
रयूम अक्युन्याटमलाई तामाङहरू पोंगाजु भन्ने गर्छन्। सामान्यतः १५–२० देखि ५०–६० सेन्टिमिटरसम्म अग्लो हुने यो ३३ सयदेखि ४२ सयसम्मको उचाइमा पाइन्छ। कालीगण्डकीदेखि पूर्वमा पाइने यो प्रजातिको पदमचाल पूर्वी–उत्तरी भारत, भुटान र उत्तरी म्यानमारमा पाइन्छ। पातका डाँठ अमिलो हुने हुँदा अचारको रूपमा यसको प्रयोग गरिन्छ भने डाँठ र जरा विभिन्न रोगविरुद्ध प्रयोग गरिन्छ। अमलपित्त, चिसोका कारण पेट दुख्ने, पित्तको समस्या, रजस्वलाको गडबडी, पखाला, कब्जियत, रुघाखोकी, जिउ र टाउको दुखाइ, हड्डी मर्केको वा भाँचिएको, छालाको समस्या र मूत्रवर्धकको रूपमा यसको प्रयोग गरिन्छ। यसका साथै यसको जरामा पाइने पहेँलो रङ कपडा र ऊन रंग्याउन पनि प्रयोग गरिन्छ।
यो प्रजाति विभिन्न ठाउँमा रयूम अस्ट्रालेको विकल्पका रूपमा प्रयोग गरिन्छ।
रयूम डेलीभाइ गोरखाको चुम उपत्यकादेखि उत्तर नेपाल–तिब्बत सिमानामा पर्ने थाप्ले हिमालस्थित ४७ सय मिटरको उचाइबाट सन् १९५३ जुन ३० मा जापानीहरूबाट मात्र संकलन गरिएको छ। जम्माजम्मी ३० सेन्टिमिटर अग्लो हुने यो प्रजाति चीन (पश्चिम सेच्वान र उत्तर युनान) र भुटानमा समेत पाइन्छ। यो प्रजातिको नेपालमा परम्परागत वा औषधीय प्रयोगको राम्रोसँग दस्ताबेजीकरण गरिएको नभए तापनि चीनमा विकार हटाउन, रगत सफा गर्न, जीउको दुखाइ कम गर्न, फोक्सो र घाँटीको दुखाइ कम गर्न, रक्तस्राव रोक्न, हड्डी मर्केको र भाँचिएको ठाउँमा र बाथको उपचारमा जरा प्रयोग गरिन्छ।
रयूम मूरक्रोफ्टियानम मध्य र पश्चिम नेपालको ३६ सयदेखि ४४ सय मिटरको उचाइमा पाइन्छ। यहाँबाहेक भारतको कुमाउ–गडवाल क्षेत्रमा पनि यो पाइन्छ। यो करिब १५–२० सेन्टिमिटर अग्लो हुन्छ। सुख्खा पातको धूमपान गरी पिनासको उपचारमा प्रयोग गरिने यो प्रजातिको जराको रस पित्तको समस्या, ज्वरो, बाथ र आउँमा प्रयोग गरिन्छ। डाँठ र काण्ड अचारको रूपमा खाने चलन छ।
रयूम नोबाइल पूर्वी नेपालका साथै भुटानमा पनि पाइन्छ। ३९ सयदेखि ४६ सयको उचाइमा पाइने यो प्रजातिको पदमचाललाई नेपालीमा चुल्ठी अमिलो र पूर्वमा केन्जो पनि भनिन्छ। अरू प्रजातिझैँ यो प्रजाति पनि अचारका रूपमा खानुका साथै विभिन्न रोगविरुद्ध प्रयोग गरिन्छ। यसका अतिरिक्त सुन्निएको ठाउँ र पेटमा रहेको विकारयुक्त तरल पदार्थ निष्कासन गर्न प्रयोग गरिन्छ।
रयूम स्पाइसिफर्मी सानो र यसको उचाइ १५ सेन्टिमिटरभन्दा कम हुन्छ। यो ३३ सयदेखि ५ हजारको उचाइमा पाइनुका साथै अफगानिस्तान, पाकिस्तान, भारत (काश्मीर, सिक्किम), भुटान र पश्चिम तिब्बत (सिङज्याङ)मा पनि पाइन्छ। यो प्रजातिको प्रयोग पनि अन्य प्रजातिजस्तै हुनाले यसलाई अरू प्रजातिका विकल्पका रूपमा प्रयोग गरिन्छ।
रयूम वेबबियनम ०.५ देखि १.५ मिटरसम्म अग्लो हुन्छ। यो नेपालको पश्चिम भू–भागमा मात्र पाइन्छ भने पश्चिम उत्तर भारत र पाकिस्तानको काश्मीर र तिब्बतको सिङज्याङ क्षेत्रमा उम्रन्छ। ३३ सयदेखि ५ हजारको उचाइ पाइने यो प्रजातिले पाचन र कब्जियतमा फाइदा पुर्याउँछ। पातको डाँठ भने अन्य प्रजातिझैँ अचारको रूपमा प्रयोग गरिन्छ। यसको प्रयोग पनि अन्य प्रजातिजस्तै भए तापनि कोलेस्ट्रोल कम गर्न, संक्रमण कम गर्न, क्यान्सरविरुद्ध, मिर्गौलाको उपचार र स्मरणशक्ति सुधारमा समेत प्रयोग गरिन्छ।
रयूम अस्ट्राले सबैभन्दा धेरै प्रयोग र व्यापार गरिने प्रजाति हो। वास्तविक नाम पदमचाल यही प्रजातिको हो। यो प्रजातिलाई आकाशे चुक, चुल्ठे, डाख्ले चुक, लट्टेचुक, मिरेचुक, पदमचाल्नु, पदमचाल्न्या, चुके डाङला, शङ्खातरा (खस भाषा), डोल, डोलु (भोटे भाषा), चुङ्बार, क्युङ्पाको रिम (तामाङ भाषा, खघ्यो, खघ्यु, पुन्जु (गुरुङ भाषा), ग्यसा (तिब्बती भाषा), अम्लवेतस:, अमलापर्णी, पीत्तामुलिका (संस्कृत भाषा) र रुबार्ब (अंग्रेजी भाषा) जस्ता नामले इंगित गर्ने गरेको पाइन्छ। ठाउँ र भाषाअनुसार फरक–फरक नामले चिनिने यो प्रजाति सामान्यता १.५ मिटर वा अलि अग्लो हुने गर्छ। ३२ सयदेखि ४२ सयसम्मको उचाइमा पाइने यो बिरुवा पूर्वदेखि पश्चिम नेपाल, लाहोलदेखि भुटान र दक्षिणी तिब्बतमा पाइन्छ।
मैले पीएचडी गर्दाताका अनुसन्धान गरी सन् २०१२ मा प्रकाशन गरेको मेरो एक लेखअनुसार यो प्रजातिलाई नेपाल, भारत, चीन र पाकिस्तानमा ५७ विभिन्न प्रकारका रोगविरुद्ध प्रयोग गरेको पाइएको थियो। यसमा ५७ किसिमका नै रासायनिक तत्त्वहरू पाइएका थिए। अहिले आएर उक्त तथ्यांक अद्यावधिक गर्ने हो भने प्रयोग र रसायनको संख्यामा पक्कै वृद्धि हुनेछ।
रयूम अष्ट्रालेमा पाइने महत्त्वपूर्ण रसायन क्रिसोफानोल, इमोडिन, एलोइ–इमोडिन, फाइसियोन, राइन, पिसेटानोल र रेजभेराट्रोल हुन्। यो प्रजातिका डाँठ, काण्ड र जरा वैज्ञानिकहरूले विभिन्न रोगविरुद्ध प्रयोग गरी अत्यन्त लाभदायक औषधिका रूपमा पेश गरेका छन्। मुसा वा जीवकोषिकामा प्रयोग गरेर यो प्रजाति डाइबेटिज, सुन्निने, सूक्ष्म जीव वा ढुसीको संक्रमण र क्यान्सरविरुद्ध लाभदायक हुनुका साथै कलेजो, मिर्गौला र प्रतिरक्षा प्रणाली सुधारमा प्रयोग गर्न सकिने प्रमाणित छ। यसको बहुउपयोगीता दर्साउन नेपाल सरकारले सन् १९८० मार्चमा रयूम अस्ट्रालेलाई रयूम इमोडी भन्दै रु. २.३० दरको हुलाकी टिकटसमेत प्रकाशन गरेको छ।
उपसंहार
नेपालमा पदमचालका जम्मा ७ प्रजाति छन् र ती सबैलाई परम्परागत र विभिन्न चिकित्सा प्रणाली (जस्तै: आयुर्वेद, चिनियाँ, होमियोप्याथिक, तिब्बती र युनानी प्रणाली) मा अत्यधिक प्रयोग गरेको पाइन्छ। औषधिका रूपमा उच्च मागका कारण पदमचालको अत्यधिक व्यापार हुन्छ। एकातिर निश्चित वासस्थानमा उम्रने र अर्कातिर धेरै प्रयोगका साथै व्यापार हुने भएकाले यसका सबै प्रजाति लोपोन्मुख छन्।
विशेषतः रयूम अस्ट्राले ज्यादा लोपोन्मुख भएको तथ्यांक विभिन्न अनुसन्धानले अघि सारेका छन्। तसर्थ स्थानीय र सरकारी निकायले पदमचालका प्रजातिको संरक्षणका लागि प्रभावकारी कदम चाल्नुका साथै विभिन्न प्रजातिको उचित पहिचान, वासस्थानको अवस्था, स्रोतको उपलब्धता, व्यावसायिक खेती गर्ने प्रविधिको विकास र जनचेतना बढाउने काम गर्न जरुरी छ। यसका अतिरिक्त प्राकृतिक अनुवंश जोगाउन ‘टिस्यु कल्चर’ प्रविधिलाई जोड दिन जरुरी छ।
व्यावसायिक खेती र ‘टिस्यु कल्चर’बाट उत्पादित बिरुवाको व्यवसायीकरण गर्न सके प्राकृतिक रूपमा लोपोन्मुख पदमचाल भविष्यका लागि हामीले जोगाउन सक्छौँ। यति मात्र नभएर प्राकृतिक वासस्थानबाट हामीले जुनसुकै कामका लागि संकलन गर्दा लगातार प्रत्येक वर्ष नगरेर ठाउँ फेरेर र केही वर्षको अन्तरालमा संकलन गर्नुपर्छ। यसो गर्न सके हामीले पदमचाललाई दिगो रूपमा प्रयोग गर्न र तुरुन्तै लोप हुनबाट जोगाउन सक्छौँ।
रोकाया इन्स्टिच्युट अफ बोटनी र ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट, चेक एकेडेमी अफ साइन्सेस, चेक रिपब्लिकमा वनस्पतिविद्का रूपमा कार्यरत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
