अन्तर्दृष्टि पुरस्कारका लागि ३ जनाको नाम घोषणा

यस वर्षको अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार गोरखाको अमरज्योति जनता माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक किशोरकुमार श्रेष्ठलाई प्रदान गरिनेछ।

काठमाडौँ– अन्तर्दृष्टि पुरस्कार २०८० तीन जनालाई प्रदान गरिने भएको छ। डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित पुरस्कार तीन विधामा दिइँदै आइएको छ। 

देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने दृष्टिविहीन विद्यार्थीको सर्वेक्षणका आधारमा अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार तथा अन्तर्दृष्टि हातेमालो पुरस्कारका लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको हो।

होमनाथ अर्याल, डा. कमल लामिछाने, सुनिता थापा र सरिता लामिछाने सदस्य रहेको समितिको निर्णयका आधारमा गरिएको हो।

जसअनुसार यस वर्षको अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार गोरखाको अमरज्योति जनता माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक किशोरकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ।

अन्तर्दृष्टि हातेमालो पुरस्कार अमरज्योति माध्यमिक विद्यालयकै कक्षा ८ मा अध्ययनरत विद्यार्थी समीर गुरुङलाई प्रदान गरिनेछ।

यसैगरी, अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार उज्यालो रेडियो नेटवर्कमा कार्यरत पत्रकार अच्युत घिमिरेलाई प्रदान गर्ने निर्णय भएको पुरस्कार समितिका संयोजक होमनाथ अर्यालले बताए।

अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको पुरस्कारको राशि नगद २० हजार तथा अन्तर्दृष्टि हातेमालो र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार राशि जनही १० हजार रुपैयाँ छ।

पुरस्कार वसन्तपञ्चमीका दिन प्रदान गरिनेछ।