टीकापुर घटनामा रेशम चौधरीबाहेकलाई सजाय माफीविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश*

टीकापुर घटनाका दोषीहरूलाई कैद सजाय माफी दिने निर्णयविरुद्ध पीडित पक्षबाट दायर रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

काठमाडौँ– सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीबाहेक हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदीप चौधरीलाई पनि कैद सजाय माफी दिएको प्रकरणमा कारण देखाऊ आदेश दिएको छ। न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले बिहीबार सरकारका नाममा कारण देखाऊ आदेश गरेको हो। 

कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका उनीहरूलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न अवसरमा कैद सजाय माफी दिएका थिए। उनलाई कैद सजाय माफी दिने निर्णयविरुद्ध टीकापुर घटनाका पीडित शारदा कठायत बोहोरा लगायतले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश गरेको हो।

कठायत र मन्धरा देवी विष्ट कारागार कार्यालय धनगढी कैलाली, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौँ, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, हरिनारायण चौधरी, वीरबहादुर चौधरी तथा प्रदीप चौधरीलाई विपक्षी बनाई रिट निवेदन दायर गरेकी थिइन्। रिट निवेदकले टीकापुर घटनाका दोषीलाई आममाफी दिने निर्णय बदर गर्न माग गरेका छन्।

यसअघि टीकापुर घटनाका मुख्य दोषी ठहर भएका रेशम चौधरीको सजाय माफी मिनाहाविरुद्ध परेको अर्को रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै रिटलाई अग्राधिकार दिन आदेश दिएको थियो।

संविधानसभाबाट संविधान जारी गर्ने तयारी भइरहँदा कैलाली–१ को टीकापुरमा २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा एक नाबालक र आठ जना सुरक्षाकर्मीको ज्यान गएको थियो।

(*‘रेशम चौधरीविरुद्धको रिट’ भन्ने शब्दावलीलाई सच्याइएको छ–सम्पादक)