शान्तिप्रक्रियाका बाँकी काम छिटो टुंग्याउन तीन दल प्रतिबद्ध

प्रधानमन्त्री पुष्पकमल दाहालले १७ वर्षको अवधिमा शान्ति प्रक्रियाका अधिकांश काम सम्पन्न भएका र बाँकी रहेका केही कार्यभार पूरा गर्ने तीनवटै दल प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

काठमाडौँ– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ।

मंगलबार साँझ प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटवार्तामा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा छलफल भएको छ।

सरकार र तत्कालीन नेकपा माओवादीबीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो। उक्त सम्झौतापछि नेपालमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्व औपचारिक रूपमा अन्त्य भएको थियो। शान्ति सम्झौताको १७ वर्ष पूरा भए पनि द्वन्द्वपीडितले अझैसम्म न्याय पाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला उनीहरूबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर पोस्ट गर्दै १७ वर्षको अवधिमा शान्ति प्रक्रियाका अधिकांश कामहरू सम्पन्न भएका र बाँकी रहेका केही कार्यभार पूरा गर्ने तीनवटै दल प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

“विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिनको सन्दर्भमा आज शान्ति सम्झौताका मुख्य साझेदार दलका नेताहरूसँग महत्त्वपूर्ण छलफल भएको छ। शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न आवश्यक कानून निर्माण गर्ने कुरा हामी एकताबद्ध र प्रतिबद्ध छौँ,” उनले लेखेका छन्।