कोरोना महामारीयताको पारिश्रमिक माग्दै वसुन्धरास्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालका चिकित्सक, नर्ससहित २७ जना कर्मचारी आन्दोलनमा उत्रिएपछि अस्पतालबाट प्रवाह हुने सम्पूर्ण सेवा ठप्प छ।
काठमाडौँ– ‘पहिला पुरानो तलब त्यसपछि मात्र नयाँ म्यानेजमेन्ट’, ‘श्रम शोषण गर्न पाइँदैन पसिना खान पाइँदैन’। यी वसुन्धारास्थित महेन्द्रनारायण निधि मेमेरियल अस्पतालको भित्तामा टाँसिएका पर्चामा लेखिएका नारा हुन्।
एक महिना अघिसम्म बिरामी, चिकित्सक तथा कर्मचारीले चहलपहल देखिने अस्पताल अहिले सुनसान छ। अस्पतालमा न चिकित्सक देखिन्छन् न बिरामी, अस्पतालमा भेटिएका कर्मचारीहरू पनि निराश देखिन्थे।
लामो समय अस्पताल व्यवस्थापन पक्षकहाँ धाउँदा पनि तलब नपाएपछि यहाँका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी सम्पूर्ण सेवा ठप्प पारेर संघर्षमा उत्रिएका छन्। भित्तामा पर्चा टाँसेर संघर्षमा उत्रिएका अस्पतालका कर्मचारीमध्ये एकले २०७६ सालको अन्त्यतिर कोरोना महामारी शुरू भएयता तलब नपाएकाले आन्दोलन गर्न बाध्य भएको सुनाए।
ती कर्मचारीका अनुसार अस्पतालका चिकित्सकसहित २७ जनाले कोरोना महामारीयता तलब पाएका छैनन्। आफूहरूले पाउनुपर्ने तलब नदिई अस्पताल नयाँ व्यवस्थापनलाई जिम्मा लगाइएको उनको भनाइ छ।
कृष्ण वस्ती, भानुभक्त ढकाल, कृष्ण अधिकारी, कमल ढकाल र ओम घर्तीमगर लगायतले संयुक्त रूपमा सञ्चालन गर्दै आएको अस्पतालको व्यवस्थापनको जिम्मेवारी यही कात्तिक ३ गते हेराल्ड कलेजले लिएको थियो। लामो समयदेखि रोकिएको तलब पाउने आसमा काम गरिरहेका कर्मचारी अस्पताल व्यवस्थापनको जिम्मेवारी उक्त कलेजले लिएको थाहा पाएपछि झनै आक्रोशित छन्।

आन्दोलनरत कर्मचारीले भोलिपल्ट कात्तिक ४ गते आफ्नो मागपत्र अस्पतालको नयाँ व्यवस्थापन समितिलाई बुझाएका थिए। तर, आफूहरूसँग वार्ता गर्नुको साटो व्यवस्थापन पक्ष सम्पर्क बाहिर रहेको आन्दोलनरत कर्मचारीले आरोप छ। माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरूको भनाइ छ।
“काम गरेको २२ महिना बितिसक्दा पनि तलब पाएका छैनौँ। तलब नपाएसम्म अस्पताल घेराउ गर्नेछौँ,” ती कर्मचारीले भने, “वार्तामा आएर सबैको तलब दिए पुनः काममा आउन सबै कर्मचारी राजी छौँ।”
अस्पतालको महासंरक्षक पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, संरक्षक पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ हुन्। आन्दोलनरत पक्षले उनीहरूलाई पनि बोधार्थ स्वरूप आफ्ना मागपत्र पठाएका छन्।

“नयाँ म्यानेजमेन्ट आएको कुरा पनि थाहा थिएन हामीलाई। रातारात म्यानेजमेन्ट टिम बदलिन्छ हामीलाई थाहा होस् पनि कसरी?,” आन्दोलनरत अस्पतालकी एक नर्सले भनिन्, “कोभिडको महामारी जस्तो विषम परिस्थितिमा काम गरेको समेत तलब नपाएर यो निर्णयमा पुग्न बाध्य भएका हौँ।”
आन्दोलनरत पक्षले मंगलबार अस्पतालमा प्रदर्शनसहित ताला लगाउने तयारी गरेको थियो। तर, अस्पतालको नयाँ व्यवस्थापन समितिले दुई दिनभित्र वार्ता गर्ने भन्दै ताला नलगाउन अनुरोध गरेपछि उनीहरू रोकिएका थिए। तर व्यवस्थापन पक्षको अनुरोध आफूहरूले स्वीकार गरे पनि वार्ताका लागि पहल नभएको आन्दोलनरत कर्मचारीले बताए।
महिनौँ दिनदेखि तलब नपाएपछि केही कर्मचारीले काम छोडिसकेको आन्दोलनरत कर्मचारी बताउँछन्। यता शुल्क नतिरेका कारण नेपाल विद्युत् प्राधिकरणले अस्पतालको लाइनसमेत काटिदिएको छ। यस्तो अवस्थामा उपचार सेवा दिन असम्भव भएको कर्मचारी बताउँछन्।
अस्पतालका लगानीकर्तामध्येका एक कृष्णप्रसाद बस्तीले आन्दोलनरत कर्मचारीको माग सम्बोधनका लागि अस्पताल व्यवस्थापनले गृहकार्य गरिरहेको र केही दिनमा समस्या समाधान हुने दाबी गरे।
“अस्पतालमा जे भइरहेको छ, त्यस विषयलाई लिएर हामी गम्भीर छौँ। हामीले यसबारे छलफल शुरू गरिसकेका छौँ। निष्कर्ष निकाल्न केही दिन लाग्छ,” उनले भने, “केही दिनमा हामीले आन्दोलनरत पक्षको मागको सुनुवाइ गर्ने छौँ। यो विषयबारे उहाँहरूलाई स्पष्ट पारेका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
