झापामा तिहारको बेला एक करोडको सयपत्री फूल र १० करोडको झिलिमिली बत्ती बिक्री हुने गरेको छ। खुला सीमा भएका कारण भारतबाट सस्तो मूल्यका सयपत्रीका माला चोरी निकासी भएर भित्रिने गरेका छन्।
झापा– सयपत्री खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि मारमा परेका छन्। तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था छ।
बिर्तामोड– ९ का दलबहादुर अधिकारीले यस वर्ष एक बिघा पाँच कट्ठा जग्गामा सयपत्री फूलको खेती लगाएका थिए। गत वर्ष १० कट्ठामा मात्र फूलखेती गर्दा मनग्य आम्दानी भएपछि उत्साही बनेर यसपालि खेती विस्तार गर्दा लगानी नै नउठ्ने अवस्था आएको उनले गुनासो गरे।
तिहारको मुखैमा भारतबाट आयातित फूलको माला र थुँगाले बजार कब्जा गरेका कारण स्वदेशी सयपत्री फूलको उत्पादन बिक्री नभएको उनको भनाइ छ। “भारतबाट सयपत्री फूल र कागजको माला भित्र्याउन पाइँदैन भन्ने सुनिएको थियो,” उनले भने, “जब तिहारमा फूल बिक्री हुने दिन शुरू भयो, भारतबाट ल्याइएका सयपत्री फूलको माला मात्र होइन थुँगा नै बजारभर देखियो। हामी फुलाएका फूल बिक्दै बिकेनन्।”
अहिले उनको खेतमा करिब २५ क्विन्टल सयपत्री फुलेको छ। कोलकाताबाट झिकाइएको बाह्रमासे सयपत्रीले यसपालि राम्रो उत्पादन दिएको उनको भनाइ छ। हालको बजार भाउअनुसार तिहारमा कम्तीमा पाँच लाख रुपैयाँको फूल बिक्री हुने आशा गरेका थिए। तर, ७० हजार रुपैयाँको मात्र बिक्री भएको छ।
शुरूमा प्रतिकिलो २५० रुपैयाँमा फूल बोटबाटै बिक्री भएता पनि तिहारको मुख्य दिनमा ५० प्रतिकेजीका दरले बेच्न खोज्दासमेत ग्राहक नपाएको उनले सुनाए। “ताजा फूललाई गाडीमा राखेर ‘साउन्ड सिस्टम’बाट प्रचार गर्दै गाउँशहर डुलाउँदासमेत बिकेन,” उनले भने।
झापामा तिहारको बेला एक करोडको सयपत्री फूल र १० करोडको झिलिमिली बत्ती बिक्री हुने गरेको छ। खुला सीमा भएका कारण भारतबाट सस्तो मूल्यका सयपत्रीका माला चोरी निकासी भएर भित्रिने गरेका छन्।
स्थानीय व्यापारी भारतबाट आएको सयपत्री फूलको माला २५ प्रतिकेजीका दरले बिक्री भएको बताउँछन्। भन्सार अधिकारीका अनुसार नेपालको फूल उत्पादक संस्थाले भारतबाट सयपत्री आयातमा प्रतिबन्ध लगाएको प्रचार गरेता पनि सरकारी निकायबाट कुनै प्रतिबन्ध घोषणा भएको थिएन।
खेतमै खेर जाने अवस्थामा रहेका सयपत्री फूललाई आयुर्वेदिक औषधि उत्पादकले खरिद गरेर लैजान्छन् भनेर सुनेता पनि त्यस्तो कुनै संस्था सम्पर्कमा नरहेको बिर्तामोडका किसान दलबहादुर अधिकारीले बताए। चाडपर्व बितिसकेको हुँदा मालाका लागि फूल बिक्ने अब सम्भावना नरहेको उनको भनाइ छ।
सयपत्री फूललाई सात डिग्री सेल्सियस तापक्रममा राख्दा केही अवधि ताजा राख्न सकिन्छ। तर, बिर्तामोडका शीतभण्डारले अरू उत्पादन राखेका कारण सयपत्री फूलका लागि उचित तापक्रम मिलाउन गाह्रो पर्ने बताएको अधिकारीले बताए।
“शीतभण्डारमा राख्न पाइएन र कसैले किनेर लगेनन् भने खेतमै सयपत्री कुहिएर गएको टुलुटुलु हेर्नुपर्ने अवस्था आउँछ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
