आइतबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा लगिएकाे तलेजु भवानीको मूर्ति गुह्येश्वरी जात्रा सकिएसँगै हुनमानढोका मन्दिरमै पुनःस्थापना गरिएको छ।
काठमाडौँ– पशुपति क्षेत्रमा गुह्येश्वरी जात्राका लागि निकालिएको तलेजु भवानीको मूर्तिलाई जात्रा सकिएसँगै हुनमानढोका मन्दिरमा पुनःस्थापना गरिएको छ।
भवानीको मूर्ति आइतबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा लगिएको थियो। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र पशुपति क्षेत्रमा भव्यरूपमा मनाइने यो जात्रामा बाह्य एवं आन्तरिक पर्यटकको पनि भिड लाग्ने गर्छ। दुई विश्व सम्पदा क्षेत्रमा जोडिएको जात्रा भएकाले पनि यसमा दर्शनार्थीको भीड लाग्ने गरेको छ।
जात्राका लागि तलेजु भवानीको मूर्ति बिहीबार गुह्येश्वरी मन्दिर लगिएको थियो। शुक्रबार राति मूर्तिलाई मन्दिरमा स्थापना गरिएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ। जात्राका क्रममा शुक्रबार बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिएको थियो।
यो जात्रामा गुठी संस्थान र गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा सम्यबजिलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चिजबिजसहित पूजा आराधना गर्ने परम्परा छ। गुह्येश्वरी र तलेजुलाई दिदीबहिनीका रूपमा पूजिने भएकाले दुवै मूर्ति उस्तै रहेको छ। गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रूपमा पूजिने गुह्येश्वरी मन्दिरका पुजारी जैन कर्माचार्यले बताए। तलेजु भवानीको मन्दिरबाट मूर्ति गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिन्छ।
बिहीबार रातभर गुह्येश्वरी मन्दिरमा बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिएको थियो। गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई मूलभट्टबाट विधिपूर्वक पूजा गराउने परम्परा छ। पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिन्छ। त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजा आराधना गरिन्छ। पूजा आराधनामा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ।
जात्राका लागि नेपाली सेनाको गुरुजुको पल्टनसमेत सहभागी हुने प्राचीनकालदेखिको परम्परा छ। नेपाली सेना, संस्थान, अमालकोट कचहरीलगायतले विधिपूर्वक छुट्टाछुट्टै पूजा गर्छन्। नवाली टोलमा निजी गुठीका गुठियारले पनि पूजा गर्ने अवसर पाउँछन्। नवालीटोलको पूजापछि रथलाई सिफल–ज्ञानेश्वर–कमलपोखरीमा पूजा आराधना गरिन्छ।
कमलपोखरीको विशेष पूजापछि कृष्ण पाउरोटी–तीनधारा पाठशाला–जमल–असन हुँदै शुक्रबार बेलुकी तलेजु भवानीको मन्दिरमा मूर्तिलाई लगिएको संस्थानले जनाएको छ। बिहीबार पनि यही मार्गबाट मूर्तिलाई गुह्येश्वरी मन्दिर लगिएको हो। यो जात्राका क्रममा धिमे बाजा, नायखी, बाँसुरी वादन गरिन्छ।
जात्रामा नियमित भजनकीर्तन गर्ने समूहका सदस्य पनि सहभागी हुने गर्छन्। जात्रा सकिएसँगै शुक्रबार गुह्येश्वरीमा ठड्याइएको लिङ्गो ढालिएको थियो। गुह्येश्वरी जात्राका लागि हनुमानढोकाबाट तलेजु भवानीको मूर्तिलाई गुह्येश्वरी लैजाने जिम्मा पशुपति सिर्जनशील युवा क्लबले पाएको थियो।
कार्यालय प्रमुख सुशीला शर्माका अनुसार जात्राका लागि तलेजु भवानीलाई दुई दिनसम्म गुह्येश्वरीमा राखिन्छ। गुह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिङ्गो ठड्याइएको हो। जात्राका लागि लिङ्गो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रुख काट्ने गरिन्छ।
जयप्रकाश मल्लको पालादेखि शुरू भएको यो जात्रा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमी र दशमीमा हनुमानढोका दरबारबाट पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरसम्म गरिन्छ। पशुपति क्षेत्रमा सञ्चालन हुने दर्जनौँ जात्रामध्ये गुह्येश्वरी जात्रा पनि एक हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
