पोर्चुगललाई झस्काउने नाचोको त्यो गोल

रसिया विश्वकपकाे दाेस्राे दिन राेनाल्डाेकाे ह्याट्रिक गाेलमा जितउन्मुख पाेर्चुगलविरुद्ध स्पेनका डिफेन्डर नाचाेले उत्कृष्ट गाेल गर्दै टिमलाई हारबाट जाेगाएका थिए।

काठमाडौँ– रसिया विश्वकप फुटबलको दोस्रो दिन थियो। उक्त दिन तीनवटा खेल भएपनि विश्वभरका फुटबल समर्थकको नजर पोर्चुगल र स्पेनबीचको खेलमा गडिएको थियो।

स्टार खेलाडीसहितको दुई टोलीबीच हेर्नलायक प्रतिस्पर्धा भयो। अन्ततः खेल ३–३ को बराबरीमा सकियो। यो खेलपछि सबैभन्दा बढी चर्चा पोर्चुगलका कप्तान तथा स्टार फर्रवार्ड क्रिस्टियानो रोनाल्डोकै भयो। जसले ह्याट्रिक गोल गर्दै आफ्नो टोलीलाई अन्तिम १६ मा पुर्‍याइदिए।

रोनाल्डोसँगै अर्का खेलाडीको पनि एकाएक चर्चामा आए। जसको अधुरो सपना पूरा भएको थियो। खेलको पहिलो चार मिनेटमै ती खेलाडी खलनायक कहलिएका थिए। उनी हुन्, जोस इग्नासियो फर्नान्डेज इग्लेसियास। तर, फुटबल जगतमा उनलाई ‘नाचो’को नामले चिनिन्छ। खेल सकिएपछि नाचो पनि चर्चामा पुगे। कतार विश्वकप जारी रहँदा उनको उमेर २८ वर्ष थियो।

उनी विश्वको सबैभन्दा प्रतिष्ठित स्पेनिस फुटबल क्लब रियल मड्रिडका डिफेन्डर थिए। उनको फाउलका कारण पोर्चुगलले पेनाल्टी पायो। उक्त पेनाल्टीलाई  रोनाल्डोले सदुपयोग गर्दै गोलमा परिणत गरे। अनि स्पेनिस समर्थकमा निराशाको लहर दौडियो। तर, नाचोका लागि यो खेलले एक पल ल्यायो जुन उनी कहिल्यै बिर्सन चाहँदैनन्।

स्पेनको तर्फबाट फरवार्ड डियोगो कोस्टाले २४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। तर, हाफ टाइमअघि अर्थात् ४४औँ मिनेटमा रोनाल्डोले अर्को गोल गर्दै खेललाई २–१ मा पुर्‍याए। दोस्रो हाफको ५५औँ मिनेटमा कोस्टाले फेरि अर्को गोल गर्दै टोलीलाई २–२ को बराबरीमा ल्याए। उनको गोलसँगै स्पेनको खेमामा पुनः उत्सव चलिरहेको थियो। त्यसको तीन मिनेटपछि नै खेलको त्यो क्षण आयो, जसले नाचो र उनका समर्थकलाई नाच्न बाध्य बनायो।

दोस्रो हाफमा स्पेनिस टोलीले पोर्चुगलमाथि हावी हुँदै एकपछि अर्को आक्रमण गर्दै आएको थियो। सोही क्रममा खेलको ५८औँ मिनेटमा पोर्चुगलको गोल बक्सबाट बल बाउन्स भएर नाचोको खुट्टामा पुग्यो। टोलीका लेफ्ट ब्याक नाचोका लागि उत्कृष्ट मौका थियो। उनले डीबक्स बाहिरबाट नै हाफ भलि सटमा बललाई हावामा घुमाएर पोर्चुगलको दाहिने गोलपोष्टमा प्रहार गर्दै जालि चुमाए।

स्पेनिस खेलाडीले नाचोलाई अँगालो हालेर चुम्बन गरे। उत्कृष्ट गोल देखेर रंगशालामा उपस्थित स्पेनका समर्थकहरूको आँखा रसायो। यद्यपि, यो नाचोको आफ्नो देशका लागि पहिलो अन्तर्राष्ट्रिय गोल थियो। गोलको अन्त्यसम्म उत्सव मनाउन भने पाएनन्। पोर्चुगलका कप्तान रोनाल्डोले आफ्नो टोलीका लागि अन्तिम मिनेटतिर गोल गर्दै खेल ३–३ को बराबरीमा सकाए।

उनी खेलका ‘म्यान अफ द म्याच’ भए पनि नाचोको गोललाई समर्थकले लामो समयसम्म सम्झिरहनेछन्। धेरै फुटबल विज्ञले नाचोको गोल स्पेनका लागि सो विश्वकपको उत्कृष्ट घोषणा गरिदिए। नाचो फुटबलरका रूपमा स्पेनमा ठूलो नाम हो। उनका कान्छो भाइ एलेक्स पनि फुटबलर हुन्। तर, लामो समयसम्म नाचोले यो बिन्दुमा पुग्न कति कठिनाइको सामना गर्नुपर्‍यो भनेर संसारलाई बताउन चाहेनन्।

उनी १२ वर्षको उमेरदेखि मधुमेहसँग लडिरहेका थिए। एक रोग जसले उनको करियरलाई समाप्त गर्न पनि सक्थ्यो। त्यतिबेला उनी रियल मड्रिडको युवा टोलीमा प्रशिक्षण लिइरहेका थिए। चिकित्सकहरूले उनलाई अब कहिल्यै फुटबल खेल्न नसक्ने बताएका थिए। तर, उनले हिम्मत हारेनन्। उनले संघर्ष जारी राखे। नाचो ‘इन्सुलिन किट’ लिएर फिल्डमा जान्थे। अभ्यास गर्दै इन्सुलिन लिने र त्यसपछि अभ्यासमा व्यस्त हुन्थे।

२००२ तिर युवा टोलीबाट खेलेको ९ वर्षपछि रियल म्याड्रिडको सिनियर टोलीमा उनी स्थान बनाउन सफल भए। उनको खुसीको कुनै सीमा थिएन। युवावस्थामा नाचोले देखेको सपना साकार भएको थियो। नाचोको उदाहरण ती बालबालिकाका लागि पनि पाठ हो, जसले विभिन्न चिकित्सा अवस्थाका कारण आफ्नो सपना पूरा गर्न सक्दैनन्। नाचोले एकपटक भनेका थिए, “मधुमेहको अर्थ बालबालिकाले सामान्य जीवन जिउन सक्दैनन् भन्ने होइन, खेलकुदका कारणले मधुमेहलाई जित्ने मौका पाएँ।”

जब नाचो रियलको सिनियर टोलीमा आए, उनले तत्कालीन मुख्य पशिक्षक जिनेदिन जिदानको मूर्तिमा पूजा नै गरे। जिदानको प्रशिक्षणमा रियलबाट खेल्नु आफ्नो जीवनको उत्कृष्ट क्षणमध्ये एक रहेको उनी बताउँछन्। उनी फ्रान्सका पूर्वखेलाडी जिदानलाई आदर्श मान्छन्। २०११ देखि रियलको सिनियरबाट खेल्दै आएका उनले त्यसको दुई वर्षपछि स्पेनको सिनियर राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।

करिब ५ वर्षमा  स्पेनबाट २२ खेलका उनले गरेको त्यही पोर्चुगलविरूद्धको एक गोल हो। उनी कतार विश्वकप खेल्न जाने स्पेनिस टोलीसँग यसपटक हुने छैनन्। तर, समूह ‘ई’मा रहेको स्पनेसँग समूह ‘एच’मा रहेको पोर्चुगलको कतै न कतै नकआउट चरणमा भेट भए नाचोको उक्त गोलले रोनाल्डोलाई झस्काइरहने छ।