माओवादीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छ : अग्नि सापकोटा

माओवादी केन्द्रविरुद्धको घेरबन्दी चिर्न नैतिकतामा अडिएर पार्टीपंक्तिले मिहिनेत र परिश्रम गर्नुपर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाको भनाइ छ।

काठमाडौँ– नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीविरुद्ध चौतर्फी घेराबन्दी गरिएको आरोप लगाएका छन्।

नेकपा माओवादी केन्द्र शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिले पार्टी मुख्यालय कोटेश्वरमा आयोजना गरेको कार्यक्रममा उनले शान्तिप्रक्रिया टुंग्याउन प्रधानमन्त्रीले नचाहेको आरोप लगाइएको उल्लेख गर्दै आफ्नो पार्टीविरुद्ध घेराबन्दी गरिएको बताएका हुन्। पार्टीविरुद्धको घेरबन्दी चिर्न नैतिकतामा अडिएर पार्टीपंक्तिले मिहिनेत र परिश्रम गर्नुपर्ने उनको भनाइ छ।

“माओवादी आन्दोलनलाई हिंसा भन्ने, यो शान्तिप्रक्रिया रोकेको चैँ प्रधानमन्त्रीले हो भन्ने जस्ता कुरा गर्ने मान्छेले त सोचेको होला मैले खुब भने भनेर। तर त्यो त खसेको हो, तल गिरेको हो। यसैगरी थाहै नपाईकन हामी बिग्रिन्छौँ। चिप्लिन्छौँ। सबैभन्दा ठूलो कुरोचैँ के हो भने नैतिक बल, आचरण,” उनले भने, “अहिले हाम्राविरुद्ध सारा घेराबन्दी भइरहेको छ। यो चिर्नका लागि हामीले मिहिनेत र परिश्रम गर्नुपर्छ र हामी नैतिकतामा अडिग हुनुपर्छ।” 

उनले नैतिकतामा जति ठूलो तागत र ज्ञान आफूले नदेखेको बताए। उनले समाजवादको यात्रा कठिन नभएको जिकिरसमेत गरे।