सातौँ दक्षिण एशियाली कराते च्याम्पियनसिप मंसिर तेस्रो सातादेखि

नेपाल कराते महासंघले आयोजना गर्ने सातौँ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा दक्षिण एशियाका ६ राष्ट्रको सहभागिता रहने छ।

काठमाडौँ– नेपाल कराते महासंघले सातौँ दक्षिण एशियाली कराते च्याम्पियनसिप आयोजना गर्ने भएको छ। मंसिर तेस्रो साता हुने प्रतियोगितामा दक्षिण एशियाका ६ राष्ट्रको सहभागिता रहने छ। 

महासंघले आगामी मंसिर १२–१७ गतेसम्म एकेएफ रेफ्री सेमिनार र सातौँ दक्षिण एशियाली कराते च्याम्पियनसिप आयोजना गर्ने जानकारी दिएको हो।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल कराते महासंघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य–सचिव युवराज लामाले जानकारी गराए।

नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले दुईदिने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्। प्रतिबन्धमा रहेकाले श्रीलंकाको भने एनओसी टिम सहभागी हुने जनाइएको छ।

प्रतियोगितामा नेपालबाट ६८ खेलाडीले चुनौती प्रस्तुत गर्ने छन्। नेपाली खेलाडीको प्रशिक्षणका लागि ६ प्रशिक्षक र २ व्यवस्थापकको व्यवस्था गरिएको छ।

नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्वसदस्य–सचिव युवराज लामाले यस प्रकारको प्रतियोगिता २५ वर्षपछि आयोजना गर्न लागेको बताए। उनले प्रतियोगिताले करातेको गरिमा बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

एशियन कराते फेडेरेसन (एकेएफ) र राखेपबाट स्वीकृति पाएको प्रतियोगितालाई विश्व कराते महासंघ (डब्लूकेएफ) र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको कराते महासंघले जनाएको छ।

प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ। खेल खेलाउन ३ टाटामी (म्याट) प्रयोग गरिने छ। आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १ करोड १० लाख रुपैयाँ खर्च हुनेछ।