चितवनका मतगणनास्थलमा तारजाली र सीसीक्यामेरा

चितवनमा २०७४ सालको स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ। जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ।

फाइल तस्वीर

चितवन– चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सीसीक्यामेरा जडान गरिएको छ। जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सीसीक्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

चितवनमा २०७४ सालको स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ। जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ।

चितवन– १ को मतगणना खैहरनी माविमा गर्ने तयारी गरिएको छ । त्यहाँ चार ठाउँमा मतगणनाका लागि तयारी गरिएको छ। यस्तै २ नं क्षेत्रको मतगणना चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा गरिने अधिकृत थापाले जानकारी दिए। सो ठाउँमा शुक्रबार सरसफाइ र तारजाली लगाउने काम भएको उनले बताए।

यस्तै चितवन– ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणनाको तयारी गरिएको छ। यहाँ दुई ठाउँमा मतगणना गर्ने गरी संरचना निर्माण गरिएको छ। अधिकृत थापाले विगतमा मतपत्र च्यातिएर दाग लागेको भन्दै त्यसलाई मेटाउन सबै राजनीतिक दललाई आफूले अनुरोध गरेको बताए।

जिल्लाभर मतदान र मतगणनास्थल निर्माणको काम लगभग सकिएको थापाले जानकारी दिए। उनले सबै ठाउँमा आवश्यकतानुसार कर्मचारी खटाइएको बताए।