निःस्वार्थ भावले समाजको उन्नतिका लागि अग्रसर हुनुपर्नेमा राष्ट्रपतिको जोड

नेपाल संवत् ११४४ प्रारम्भ भएका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यलाई सबैले अनुसरण गर्नुपर्ने बताएका छन्। 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिएका छन्। 

नेपाल संवत् ११४४ प्रारम्भ भएका अवसरमा मंगलबार शुभकामना दिँदै राष्ट्रपति पौडेलले साख्वाले काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरेको परोपकारी कार्यलाई सबैले अनुसरण गर्नुपर्ने बताए। 

राष्ट्रपति पौडेलले चाडपर्व र यस खालका असल परम्पराले नेपाली समाजलाई सभ्य र सहिष्णु बनाउँदै लगेको उल्लेख गर्दै साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् मौलिक राष्ट्रिय संवत् रहेको बताएका छन्। यो संवत्‌ कात्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरू हुन्छ। 

राष्ट्रपति पौडेलले नेपाल संवत्‌ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास गरे।

यस्तै, उनले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामनासमेत व्यक्त गरेका छन्।