दसैँ बिदामा छोटो दूरीको घुमफिर गर्न चाहनेलाई काठमाडौंदेखि २२ किलोमिटरकै दूरीमा रहेको नगरकोट सामुदायिक होम-स्टे, बाँस्तोला गाउँ उपयुक्त गन्तव्य बन्न सक्छ।
शरद ऋतुको पारिलो घाम। न धेरै चिसो न धेरै गर्मी मौसम। त्यसमाथि दसैँ बिदाको फुर्सदिलो समय। नयाँ ठाउँ घुम्ने परिवार र साथीभाइसँग रमाइलो क्षण बिताउने रहर कसलाई हुँदैन? बिदाको समय सदुपयोग गर्दै नयाँ ठाउँ घुम्न जाने रहर पूरा गर्न टाढा जानै पर्दैन।
काठमाडौँदेखि २२ किलोमिटरकै दूरीमा रहेको नगरकोट सामुदायिक होम-स्टे बाँस्तोला गाउँ उपयुक्त गन्तव्य बन्न सक्छ। काठमाडौँबासीलाई नगरकोट कहाँ हो भनेर चिनाइरहनै पर्दैन। धेरैको रोजाइमा पर्छ, नगरकोट। तर, त्यही बाटोमा तेलकोटबाट एक किलोमिटर वरको बाँस्तोला गाउँको होम-स्टेबारे धेरैलाई थाहा नहुन सक्छ।
२०६७ सालमा सुरु भएको होम-स्टेको सिको गर्दै चाँगुनारायण नगरपालिकामा मात्रै १३ वटा सामाजिक र निजी होम-स्टे सञ्चालनमा छन्। बाँस्तोला गाउँका १७ वटा घरमा होम-स्टे सञ्चालन गरिएको थियो। तर, २०७२ सालको भूकम्पले घरहरू भत्किँदा अहिले ७ वटा घरमा होम-स्टे बाँकी छन्। अरू घरहरू पुनर्निर्माणको क्रममा छन्।
प्राकृतिक र सांस्कृतिक सुन्दरताले भरिपूर्ण ग्रामीण बस्ती बाँस्तोला गाउँमा स्थानीय परिकार, वनजंगल र झरना मुख्य आकर्षण हुन्। प्राकृतिक र सांस्कृतिक सम्पदामा धनी बाँस्तोला गाउँमा पर्यटकहरू दिनप्रतिदिन बढिरहेका छन्। भजन गाउने, लामा झाँक्रीहरूका नाचगानसमेत हेर्न पाइन्छ। योग र ध्यानका कक्षासमेत सञ्चालन हुन्छन्।
पाहुनालाई ब्राम्हण तथा लामा जातिका सांस्कृतिक नाचगानले मनोरञ्जन गराउने नगरकोट होम-स्टेमा रातिको खाना र बिहानको खाजासहित एक जना बास बस्दा जम्मा १६५० रुपैयाँ खर्च हुन्छ। सस्तोमा पाहुनाहरूको स्वागत गरिने भएकाले विदेशी र स्वदेशी सबैको रोजाइ बन्दै गएको होम-स्टे सञ्चालक तथा होम-स्टे महासंघ नेपालका कोषाध्यक्ष सुरज बाँस्तोला बताउँछन्।
यहाँबाट मुहानपोखरीदेखि नगरकोटसम्मको प्राकृतिक पदमार्ग र तामाङ गाउँसम्म हाइकिङ जान सकिन्छ। साथै, चाँगुनारायण, मञ्जुश्री, नाला मन्दिर, पञ्चमहालक्ष्मी र साँखुसमेत पुग्न सकिन्छ।
बाँस्तोला गाउँको होम-स्टेमा एक सय जनासम्म अट्ने सामुदायिक भवन र संग्रहालयसमेत बन्दैछ। जहाँ स्थानीय जनजाति र विभिन्न समुदायका मानिसहरूका सांस्कृतिक चलनचल्तीका सामग्री, मानापाथी, औजार, पोशाक महत्त्वपूर्ण वस्तुहरू राख्ने तयारी भइरहेको छ।
काठमाडौँबाट नजिकैको रमणीय बाँस्तोला गाउँमा बसेर नगरकोटतिर उक्लिने र रमाइलो गरि फर्कंदा यात्रा थप रोचक बन्छ।
ग्रामीण परिवेश, शान्त वातावरण, अर्ग्यानिक खाना र न्यानो आतिथ्यमा खोज्नेहरू नगरकोट होम-स्टेमा पक्कै रमाउन सक्छन्। काठमाडौँको धुँवा-धुलो र तनावपूर्ण जीवनशैली बिर्सन चाहनुहुन्छ भने नगरकोटको बाँस्तोला गाउँ उपयुक्त गन्तव्य बन्न सक्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
