ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका छन्। यस क्षेत्रमा पाइने कुकुर अन्य ठाउँको भन्दा बलियो र टाठो हुने हुँदा धेरैले मन पराउने स्थानीयको भनाइ छ।
ढोरपाटन– पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि माथितिर लागियो भने अधिकांश घरमा कुकुर भेटिन्छन्। ती कुकुर साना आँखा, लामा–लामा रौँ र मोटाघाटा देखिन्छन्। स्थानीयवासीले घर हेरालुका रूपमा प्रयोग गर्ने कुकुर पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेका हुन्।
केही वर्ष पहिलेसम्म बागलुङमा आउने पर्यटकले यहाँ उत्पादन हुने भाँगो, आलु, भटमास, बुट्टेनली र चोयाबाट बनेका सामग्री कोसेलीका रूपमा लैजाने गर्थे भने अहिले भोटे कुकुर लैजान थालेका छन्। खास गरी ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका छन्। आगन्तुकले घरमा पालेको कुकुर किनेर लैजान थालेपछि स्थानीयवासीको आम्दानी पनि बढ्न थालेको छ। यस क्षेत्रमा पाइने कुकुर अन्य ठाउँको भन्दा बलियो र टाठो हुने हुँदा धेरैले मन पराउने गरेको ढोरपाटन–९ पाखाथरका ज्ञानबहादुर विकले बताए।
निसीखोला, ढोरपाटन र तमानखोलाको माथिल्लो क्षेत्रबाट हरेक वर्ष सयौँ माउ तथा बच्चा कुकुर बिक्री हुने गरेको छ। विशेषगरी बुटवल, पोखरा, काठमाडौँ, बागलुङ, धरानलगायत मुख्य शहरमा यहाँबाट कुकुर लैजाने गरेको पाइन्छ। कुकुरले एकै पटकमा पाँच वटाभन्दा बढी बच्चा जन्माउने र दुई–तीन महिना नहुँदै किनेर लैजाने गरेको विकले बताए।
ढोरपाटन क्षेत्रबाट हरेक महिना कुकुर बिक्री भइरहेको छ। पछिल्लो समय भोटे कुकुरको माग निकै बढेको छ। एउटा भोटे कुकुरको ५५ हजारदेखि ६० हजार र तीनका बच्चा १० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। बजारका कुकुरले भन्दा भोटे कुकुरले जंगली जन्तुसँग प्रतिकार गर्नाका साथै घर गोठको सुरक्षा गर्ने भएकाले आफूले पनि यस वर्ष आफूले चार वटा बच्चा बेचेको विकले बताए।
“पहिले गाउँमा कुकुर फालाफाल हुन्थे, एउटै घरमा चार–पाँच वटासम्म कुकुर पनि पालिन्थ्यो तर अहिले गाउँ घरमा कुकुर पाल्ने चलन कम भए पनि बजारमा भने पाल्नेको संख्या बढी छ,” उनले भने, “पाँच वर्ष अगाडिसम्म कुकुर बिक्री हुन्छ भन्दा अचम्म लाग्थ्यो, अहिले घरबाटै कुकुर बिक्री हुन्छन्।” लेकाली हावापानीमा हुर्केको हुँदा बलिया र घरको सुरक्षा गर्न सक्ने भएकाले बजार क्षेत्रबाट आउने धेरैजसोले स्याउ र आलुभन्दा कुकुर किनेर लान थालेका छन्।
निसी, ढोरपाटन र तमान क्षेत्रका धेरैजसो बासिन्दा पशुपालनमा आबद्ध छन्। उनीहरू लेकबेँसी गरेर पशुचौपाया पाल्ने गर्छन्। गोठ सार्दा कुकुर पनि सँगै लैजाने गर्छन्। गोठको छेउमै बाँधिएका कुकुरले पशु चौयापालाई वन्यतन्तुबाट बचाउने स्थानीयवासी वीरबहादुर रसाइलीले बताए।
कुकुर ज्ञानी र घर गोठको रक्षक भएकाले आफूले पनि विगत ५० वर्षदेखि अहिलेसम्म करिब १० वटा कुकुर पालिसकेको उनले सुनाए। पछिल्लो समय घुम्न आउने पर्यटकले गोठमै आएर कुकुर किन्ने गरेका छन्। पहिले–पहिले कुकुर पाल्न रहर हुनेले निःशुल्क नै लैजाने गर्थे। रसाइलीले अघिल्लो वर्ष सात वटा र यसवर्ष तीन वटा कुकुर बेचेका छन्। भोटे कुकुर अन्य जातभन्दा ठूलो, साहसिलो हुने र घरपालुवा जनावरसँगै गोठमा बस्ने भएकाले धेरैले मन पराउँछन्।
“बजारमा पाइने, बेलायती जात भन्छन्, अरू केके जातका थुप्रै कुकुर हुँदा रैछन्, तर ती कुकुरभन्दा भोटे कुकुरको आयु पनि धेरै हुन्छ,” रसाइलीले भने, “जहाँ पनि बस्नसक्ने गुण भएकाले अहिले त बजारबाट आएका मान्छेले मेरो गोठमै आएर कुकुर लग्छन्, कोहीले त अर्को पटक ब्यायो भने मलाई राखिदिनु है भनेर पहिले नै माग गर्ने भएकाले अहिले त कुकुर पुर्याउनै गाह्रो पर्छ।”
एकान्त घर, धेरै पशुचौपाया, फार्मजस्ता स्थानमा भोटे कुकुर राख्ने गरिए पनि पछिल्लो समय सोखका लागि भन्दै शहर बजारमा समेत लैजाने गरिएको छ। निसीखोलाको भल्कोट, सीप, पातीहाल्ने, ढोरपाटनको पाखाथर, छेन्तुङ, बोबाङ र अधिकारीचौर क्षेत्रमा बढी कुकुर पाल्ने गरिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
