चीनमा सबैभन्दा पहिले दैविक वैधानिकताका कुरा आएपछि राजतन्त्र र सम्भ्रान्तहरूको शासनको कुरा आयो। पुरोहित/पोप राजाको अवधारणा पनि त्यसैबाट आएको हो।
दशैँताका डा. सञ्जीव उप्रेतीसँगको भेटमा समसामयिक नेपालको सबैभन्दा ठूलो समस्या के हो भन्नेबाट कुरा उठ्यो। हामीमाझ गरिबी, भ्रष्टाचार, कुशासन, प्रदूषण, युवा पलायन, पित्तृसत्ता र हाम्रा जडतालगायत धेरै मुद्दा छन्। यी सबै लक्षण हुन्। जुन समाजमा असमानता र अन्याय व्याप्त हुन्छ, त्यस्ता समाजमा यस्ता लक्षणहरू स्वाभाविक रूपमा देखिन्छन्। यी लक्षण हुन् भने पहिले त असमानता र अन्यायको कारण खोज्नुपर्यो, त्यसपछि निवारणबारे छलफल गर्नुपर्यो। असमानता र अन्यायका सामान्यतः दुई कारण देखिन्छन्। एउटा, धर्म–संस्कृति। अर्को, अर्थ–राजनीति हो, यो स्रोत/व्यवस्थासँग जोडिएका अन्याय-असमानताको विषय हो। धर्म–संस्कृतिमा अर्थ–राजनीति मिसियो भने विस्फोटक मिश्रण तयार हुन्छ। कुनै समयमा क्रिश्चियानिटीमा यस्तै देखिएको थियो। इस्लाममा देखिएको थियो। सोही कारण क्रुसेड (धर्मयुद्ध)हरू भए। त्यसैगरी धर्म–संस्कृति र अर्थ–राजनीतिलाई मिसाएर हिन्दुत्वको जुन राजनीति देख्न थालिएको छ, यो त्यस्तै मिश्रण हो। जसले हामीलाई विस्फोटतिर बढाउँछ कि भन्ने मेरो अब्जर्भेसन (ठहर) छ। मलाई त्यस्तो लागेको छ र त्यस्तो देखिएको पनि छ। उप्रेतीजीले धर्मनिरपेक्षतासँग सम्बन्धित यस्तै बहस चलाउने कुरा गर्नुभयो। र, सोही प्रयोजनले हामी यहाँ जम्मा भएका छौँ। म लोक, लोकतन्त्र र लौकिकता विषयमा यहाँ आफ्ना धारणा राख्न गइरहेको छु।
मैथिलीमा 'लोक' शब्दले हिन्दु, मुसलमान, तथाकथित ठूलो तथा सानो जात, महिला पुरुष सबै बुझिन सक्छ। तर २०६२/२०६३ को आन्दोलनताका हामीलाई थाहा भयो कि नेपाली भाषामा चाहिँ लोक शब्द उति चलेको रहेनछ। यहाँ, एकथरि प्रजातन्त्रको कुरा गर्ने, अर्कोथरि जनतन्त्रको कुरा गर्ने, दुवै पक्षको 'कम्प्रमाइज'को रूपमा 'लोकतन्त्र' शब्द चयन गर्दा पनि उतिखेर संघर्ष गर्नुपरेको थियो। वामपन्थीहरू लोकतन्त्र नमान्ने, तथाकथित प्रजातन्त्रवादीहरू 'जनतन्त्र' नमान्ने। शब्द आफैँमा पनि शक्ति भएकाले यसलाई लिएर झगडाचाहिँ हुने रहेछ।
धर्म र संविधानले भन्दा पनि आचरणले बाँध्ने शब्द बुझिन्छ लोकतन्त्र। लोकलाई आचार नीतिले बाँध्छ। कसैको बिगार नगर्ने, सके जति राम्रो गर्ने। गीतामा जनकआदि कर्मद्वारा नै सिद्धिसम्म पुग्न सफल भए भन्ने उल्लेख छ। जो आफ्नो कर्तव्यप्रति सचेत छ, त्यो लोकसंग्रह गर्छ। यसका केही फरक व्याख्या छन्। भारतमा तिलकले लोकसंग्रहलाई यसरी अर्थ्याए, 'यो समस्त ब्रह्माण्ड लोक हो। यो एउटा सन्तुलनमा छ। आगो, पृथ्वी, वायु, जल, आकाश, सन्तुलनमा रहेर यो जीव चलेको छ।' सन्तुलनको निरन्तरतालाई लोकसंग्रहको अर्थमा भगवान् कृष्णले भनेका हुन् भनी तिलकले अर्थ्याए। सामान्य अर्थमा लोकको अर्थ आचार नीति (एथिक) सँग सम्बन्धित हो।
लोकतन्त्र वैधानिकताको प्रश्न हो। जनताको तन्त्र, राजाको तन्त्र या धनको तन्त्र, सम्भ्रान्तको तन्त्र, यो सबै बुझ्न सजिलो छ। तर जनतन्त्रको व्याख्या कठिन छ। जनताले आफैँलाई कसरी शासन गर्छन्? उतिखेर जनताको प्रतिनिधिका रूपमा गणले शासन गर्ने भनियो। त्यसो भएपछि जनतन्त्र गणतन्त्रको रूपमा देखा पर्यो।
अब लोकतन्त्रलाई कसरी व्याख्या गर्ने? एथिकल डेमोक्रेसी कस्तो हुने? किनभने डेमोक्रेसी आफैँमा एथिकल हो। सबैभन्दा पहिलो वैधानिकता बलियो मान्छेले शासन गर्छ भन्ने थियो। त्यही एथिकल हुन्थ्यो। त्यसको अर्थ पहिले शक्ति नै वैधानिकता थियो, जोसँग धेरै बन्दुक छ, जसको तरबार छिटो चल्छ, त्यही नै वैधानिकताको स्रोत हुन्थ्यो। अनि त्यसपछि मुखियातन्त्र या युद्ध सरदारको कुरा आयो। तर त्यो पनि साह्रै परिवर्तनशील हुन्थ्यो। एउटा बलियो व्यक्ति सधैँ बलियो नहुने भएकाले शक्ति छिटो परिवर्तन हुन थाल्यो। वृद्ध हुनबित्तिकै व्यक्तिको बल कम हुन्थ्यो। अर्को बलियो युवा आएर वृद्ध शासकलाई हटाएर आफैँ शासक बन्थ्यो। यो वैधानिकतामा समस्या आउन थालेपछि पण्डित र जान्ने–सुन्नेहरूले दैविक वैधानिकताको सिद्धान्त ल्याए। 'म्यान्डेट अफ हेभन' आयो। चीनमा सबैभन्दा पहिले दैविक वैधानिकताका कुरा आएपछि राजतन्त्र र सम्भ्रान्तहरूको शासनको कुरा आयो। पुरोहित/पोप राजाको अवधारणा पनि त्यसैबाट आएको हो।
सम्भ्रान्ततन्त्र र अल्पतन्त्र पनि त्यही अवधारणाबाट आएको हो, जोसँग शक्तिका विभिन्न स्वरूपमध्ये बन्दुक, धन, विद्या, बुद्धि, चलाखी हुन्छ, त्यसैले शासन गर्ने। यी सबैको सम्मिश्रण 'हामी मिलेर शासन गरौँ' भन्ने सम्भ्रान्त शासन अहिलेको नेपालको शासनसँग झन्डै मिल्न जान्छ।
संगठित धर्मले धर्मतन्त्र ल्यायो। धर्म र शक्ति जोडिएपछि मध्ययुगीन क्रुसेड सन् १०५० देखि १३०० इस्वीसम्म चल्यो। त्यसपछि रेनेसा (पुनर्जागरण), त्यसपछि रिफर्मेसन (मध्यस्थमार्फत नभई पुस्तकमा जे लेखेको छ, त्यहीअनुसार शासन चल्नुपर्छ भन्ने मान्यता) पछि सन् १६४८ मा वेस्टोफालियाको सन्धि भयो। त्यसपछि आएर भने सार्वभौमिकता छुट्टिन्छ। इहलौकिक राजाको हुने र पारलौकिकचाहिँ धर्मगुरुहरूको हुने ठहर गरियो।
बेलायतमा सार्वभौमिकता एउटै छ। त्यहाँको राजा धर्म र राज्यसत्ता दुवैको प्रमुख हो। यो सार्वभौमिकताको विभाजन भएपछि प्रबोधन युगमा संसार विज्ञानतर्फ लम्किएको छ। कृषि युगबाट धार्मिक राज्य हुँदै, सैन्यतन्त्र हुँदै, राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र हुँदै आयो।
लोकतन्त्रको अवधारणाचाहिँ भारतको संविधानको परिकल्पना हो। यो यथार्थपरक छैन। भारतमै पनि संविधान बनाउने बेला समाजवादीहरूको मत थियो, 'वैधानिकता जसरी ल्याए पनि शासक हुनासाथ व्यक्ति राजासरह भइहाल्छ। त्यसो हुँदा त्यस व्यक्तिले राजधर्मको पालन गरे पुग्ने भयो। निर्वाचनबाट आएको होस् या वंशका आधारमा तय भएको शासक होस्, शासक त आखिर शासक नै हो।'
त्यसैले प्रजाको पालन गर्ने काम नै राजधर्म हो। प्रजाको पालन गर्नु प्रजातन्त्र हो। तर भारतको संविधानको प्रस्तावना बढ्दा लोकतन्त्रको अवधारणा पाइन्छ। त्यहाँ 'हामी, भारतका जनता, भारतलाई एक सार्वभौम समाजवादी धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्रमा गठन गर्ने कुरामा दृढ संकल्पित छौँ' उल्लेख छ। कहीँ कमा छैन त्यस वाक्यमा।
फ्रान्सेली क्रान्तिपछि यस्तो रिपब्लिक, जुन अविभाज्य रूपले समाजवादी छ, अविभाज्य रूपले सार्वभौम छ र अविभाज्य रूपले सेक्युलर छ (यसलाई धर्मनिरपेक्ष अहिले नभनौँ), अविभाज्य रूपले प्रजातान्त्रिक छ। यस्तो परिकल्पना गरिएको गणतन्त्रका लागि भारतमा शब्दचाहिँ प्रयोग भएको छ- लोकतन्त्र।
हाम्रो संविधानको प्रस्तावनामा लम्बेतान लेखिसकेपछि अनेकौँ के–के हासिल गर्ने भनिसकेपछि 'रिपब्लिक सिस्टम अफ् गभर्नेन्स' भनिएको छ। रिपब्लिकलाई उद्देश्य बनाइएको छैन। नेपालको संविधानमा यथार्थमा धर्मनिरपेक्षता शब्द लेखिएको भए तापनि सनातन र हिन्दु धर्मका सबै मान्यतालाई स्वीकार गरेको हुनाले प्रकारान्तरले यो हिन्दुराष्ट्र नै हो।
लोकतन्त्र आदर्श हो। लोकतन्त्रलाई आदर्श मान्ने हो भने त्यहाँसम्म पुग्ने बाटाहरू के–के हुन सक्छन्? सैन्यतन्त्र लोकतन्त्रमा पुग्ने बाटो कुनै हालतमा हुन सक्दैन। अल्पतन्त्र (ओलिगार्की) लोकतन्त्रमा पुग्ने बाटो हुन सक्दैन। त्यस्तै धर्मतन्त्र पनि लोकतन्त्रतिरको बाटो होइन। राजतन्त्र पनि लोकतन्त्रतिरको बाटो होइन। राजतन्त्र र प्रजातन्त्रचाहिँ सँगसँगै जान सक्छ, संवैधानिक अथवा समारोहिक राजतन्त्रका रूपमा। बेलायत र जापानमा संवैधानिक राजतन्त्र र प्रजातन्त्र सँगै रहेको देखिन्छ। प्रजातन्त्रसम्मलाई राजतन्त्रले ठाउँ दिएको देखिन्छ।
तर राजतन्त्र र लोकतन्त्र सँगै जान कुनै हालतमा सक्दैन। लोकतन्त्रका लागि जनता या लोकको शासन प्राथमिक शर्त हो। लोकतन्त्र समानतामा आधारित हुन्छ। गणतन्त्रमार्फत लोकतन्त्रमा जान सकिएला, तर त्यो कठिन छ। गणतन्त्र भनेको 'रिप्रेजेन्टेटिभ डेमोक्रेसीको रिपब्लिक हो। अमेरिकाको आधारमा हेर्ने हो भने निर्वाचन प्रणाली नै यस्तो छ कि सामान्य मान्छे छानिएर प्रतिनिधि बन्नै सक्दैन। नेपालमा समेत वडाध्यक्ष जित्नलाई ५० लाख खर्च गर्नुपर्ने अवस्था यो व्यवस्थामा समानतामा आधारित छैन। त्यसैले गणतन्त्र बाटोसम्म हुनसक्छ, तर लोकतन्त्रको लागि यो व्यवस्था ग्यारेन्टी होइन।
सार्वजनिक नैतिकता र वेद
त्यसो भए लोकतन्त्र निर्माणका आधारहरू कसरी तयार गर्ने? त्यसको आधारमध्ये एक हो- सार्वजनिक नैतिकता। आचार व्यवहारलाई अंग्रेजीमा 'एथिक' भन्ने शब्दले बुझाउँछ, ठ्याक्कै त्यही आशय दिने शब्द संस्कृतबाट आएका हिन्दी, नेपाली मैथिली आदि भाषामा छैन। आचार र नीति शब्दलाई जोड्दाचाहिँ 'आचार नीति' शब्द बन्छ। एथिकको भाषिक रूपान्तरण आचार नीतिसम्म हुनसक्छ।
आचार नीतिको बिस्तारबाट लोकतन्त्रको आधार तयार गर्न सकिन्छ। दोस्रो, व्यक्तिगत नैतिकता (मोरालिटी)मार्फत पनि लोकतन्त्रको आधार तयार गर्न सकिन्छ। एथिक्स र मोरालिटीमार्फत लौकिकताको आधार तयार गर्ने नै हो भने भारत र नेपालको परिवेशमा त्यो कहाँ खोज्ने?
हाम्रो धर्म–संस्कृतिको पुरानो जड वेद र एक अर्थमा उपनिषद् हो। उपनिषद्लाई वेदकै निरन्तरता पनि मान्न सकिन्छ। वेद कहिले लेखियो भन्नेमा ठूलो विवाद छ। केहीले त भगवान्ले वेद वाचन गरेका हुन् र कसैले सुनेर त्यसको संकलन गरिएको हो पनि भन्छन्। तिनीहरूले त वेद लाखौँ र हजारौँ वर्ष पुरानो हो भन्छन्। एकथरि, जो ईश्वर नै मान्दैनन्, जसलाई तत्त्व मीमांसक पनि भनिन्छ। उनीहरू भन्छन् कि सार्वजनिक रूपमा प्रचलित मान्यता नै वेद हो। सोही मान्यतालाई एक ठाउँमा संकलन गरिएको मात्रै हो। कसैले वेद व्यासले वेद लेखे पनि भन्छन्। लिपिको समेत राम्रोसँग विकास नभएको युगमा एक जनाले मात्र सम्भवतः त्यो लेख्न सम्भव पनि थिएन होला। अहिलेसम्मको स्थापित मान्यता भनेको तीन हजार ५०० देखि चार हजार वर्षअघि वेदको संकलन गरिएको हो। गान्धारदेखि लिएर आसामसम्म, विन्ध्याचलदेखि लिएर हिमालयको कन्दरा, मानसरोबरसम्म तपस्या गरेर ऋषिमुनिले संकलन गरेका विभिन्न विचारहरू एकअर्कोलाई सुनाएर हजारौँ जनाको संकलन हुनुपर्छ वेद। पूर्ण संकलनको काम आजभन्दा तीन हजार ५०० वर्षअघि सकिएको हो।
वेदमा हिन्दु धर्म उल्लेख छैन। ईश्वर पनि अनेक छन्। एउटाको मात्र कुरा गरिएको छैन। पुस्तक पनि एउटा छैन। "एकम् सत् विप्रा बहुधा वदन्ति" (सत्य एउटै छ, तर विद्वानहरूले फरक फरक ढंगले पुकार्छन्) भनेर मानिएको छ। मुण्डे मुण्डे मतिर्भिन्ना (जति धेरै टाउका छन्, उति धेरै मत छन्) भनेर वेदमै बहुलतालाई पनि स्विकारिएको छ।
आस्तिक, नास्तिक र अज्ञेय
त्यसो हुँदा लौकिकताको एउटा आधार वेद हो। मोक्षको कुरा वेदले गर्छ, स्वर्ग र नर्कको गर्दैन। मोक्षको अर्थ हो अन्त्य या समाप्त। लौकिकताको स्रोत त्यो हुनसक्छ। वेद मान्नेलाई आस्तिक भनिएको छ। चलनचल्तीको भाषामा धर्म मान्नेलाई आस्तिक भनिन्छ। त्यो भनेको ईश्वरवादी (थेइस्ट) र अनिश्वरवादी (एथेइस्ट) हो।
दक्षिण एशियामा वेद नमान्ने धर्महरू जस्तै: जैन, बुद्ध धर्म, चार्वाक आदिचाहिँ नास्तिक परधर्म। उनीहरू वेदलाई मान्दैनथे तर इहलोक छ, मोक्ष या निर्वाणको अवधारणाचाहिँ स्वीकार गरे। आत्मा छ र परमात्मामा विलीन हुनु जीवनको अन्तिम लक्ष्य हो भन्ने ठान्थे।
तेस्रोचाहिँ मलाई मन पर्छन्। तिनलाई अज्ञेयवादी भनिन्छ। ईश्वर छ या छैन, थाहा छैन। हुन पनि सक्छ, नहुन पनि सक्छ। तर मलाई इहलोकमा मेरो जीवन चलाउन न त्यसले कुनै सहयोग गर्छ, न कुनै अप्ठ्यारो पारेको नै छ। एकअर्कासँग समाजमा बस्ने हाम्रो जो 'एथिकल लज्' (सार्वजनिक नैतिकताका नियमहरू) मान्नेहरूलाई पछि जर्मन दार्शनिक इमान्युयल कान्टले अझै राम्रोसँग व्याख्या गरे। उनले भने, 'साँचो बोल्नुपर्छ, भलै त्यसले तत्कालका लागि हानि नगरोस्। तर अन्ततः साँचो बोल्नुले पाइदा नै पुर्याउँछ।'
साँचो बोल्नु धर्म हो भन्ने कुरा सही होइन। साँचो बोल्नु सार्वजनिक नैतिकताको विषय हो। आफूप्रति जस्तो व्यवहारको अपेक्षा राखिन्छ, त्यस्तै व्यवहार अरूसँग पनि गर्नुपर्छ। एकथरि यस्ता अज्ञेयवादी भए।
स्ट्रङ सेक्युलरिटी
अघि हामी वैधानिकताको स्रोतको कुरा गर्दा फ्रान्सेली क्रान्तिमा रोकिएका थियौँ। फ्रान्सेली क्रान्तिमा इक्वलिटी, लिबर्टी र फ्याटर्निटी त धेरैले उल्लेख गर्छन्। चौथौँ आधार थियो, 'लासिते'। त्यसको अर्थ म बुझाउन खोज्छु। दुई वटा रियम् (क्षेत्र) हुन्छ, दुई वटा सार्वभौमिकता हुन्छ: एउटा सार्वभौमिकता व्यक्तिगत हुन्छ, अर्को सार्वभौमिकता सार्वजनिक हुन्छ। सार्वजनिक सार्वभौमिकताचाहिँ स्वभात: राजनीतिको हो। व्यक्तिगत सार्वभौमिकता धर्म मान्नु वा नमान्नु हो। यी दुइटालाई एकअर्कामा हस्तक्षेप गर्ने अधिकार छैन।
अनि यो लासितेलाई स्ट्रङ सेक्युलरिटी (बलियो धर्मनिरपेक्षतावाद) पनि भनिन्छ। सन् १९०५ मा लासितेलाई फ्रान्सले राज्यनीतिको आधार नै बनायो। जर्ज ज्याकब होलीयाक भन्ने बेलायती पत्रकार थिए। उनी पुस्तक र लेखहरू लेख्थे। सम्पादकलाई पत्र पनि लेखेको लेख्यै गर्थे। उनले सेक्युलरिजमको अवधारणा ल्याए, सेक्युलरिजमको चार खुट्टा पहिल्याए।
चार खुट्टामध्ये पहिलो, ईश्वरलाई मान या नमान, त्यो कुरा प्रमुख होइन। दोस्रो, सार्वजनिक नैतिकता सार्वजनिक जीवनको मूल आधार हुनुपर्छ। व्यक्ति यदि सार्वजनिक जीवनमा छ भने उसले धर्म या ईश्वरको नाम लिँदैमा हामी पत्याउनेवाला छैनौँ। हामी कर्मबाटै देख्छौँ कि व्यक्तिको कर्म सार्वजनिक नैतिकता अनुकूल छ या छैन। तेस्रो, वैज्ञानिकता। रोगको ओखती ईश्वरले गर्दैन, डाक्टरले गर्छ। समाजमा कुनै नराम्रो कुरा आएको छ भने ईश्वरले आफसे आफ ठीक गरिदिँदैन। त्यसलाई समाजलाई संगठित र जागृत गर्नुपर्छ। चौथो, जुन सत्यलाई तर्कमा पारख गर्न सकिँदैन, त्यो सत्यलाई हामी मान्न तयार छैनौँ। वैज्ञानिकताको आधार पनि यो हो। त्यो सत्य तबसम्म सत्य छ, जबसम्म प्रमाणहरूले त्यसलाई गलत साबित गर्दैन।
विज्ञान र मार्क्स सन्दर्भ
पहिले पृथ्वी चेप्टो भन्ने मान्यता थियो, तर प्रमाणले गोलो भन्यो। एउटा सत्य खारेज भयो, अर्को सत्य आयो। पहिले सूर्यले पृथ्वीको परिक्रम गर्छ भनिन्थ्यो, पछि पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तर्क बलियो ठहरियो। तर्क र अन्वेषणको कसीमा साबित भएपछि मात्रै सत्य स्थापित हुन्छ। १८५१ इस्वीमा यसरी सेक्युलरिजमको अवधारणा आयो। उतिखेर पश्चिममा सेक्युलरिजमको कुरा हुँदै थियो (अहिले पनि सेक्युलरको अर्थ धर्म निरपेक्षता होइन), यताचाहिँ हामी धर्म आधारित छुने नछुने, पानी चल्ने, नचल्ने, जातबाट च्युत गर्न मिल्ने, दास बनाउन मिल्ने, नमिल्नेमा श्रेणी बनाउँदै थियौँ।
१९औँ शताब्दीमा फेरि कार्ल मार्क्स आउँछन्। उनी दुई किसिमको कुरा गर्छन्। धर्मलाई अफिम भन्छन्, तर अफिम भए पनि त्यो आवश्यक छ भन्छन्। आत्माविहीन समाजको आत्माको रूपमा धर्मले काम गर्छ भन्छन्। उनी धर्मलाई हटाउने उपायको कुरा पनि गर्छन्, तर यसलाई ठ्याक्कै जुन किसिमले अर्थ्याइएको छ, त्यसबाट मार्क्सवादमा धर्मविहीनता नभएर एउटा धर्मलाई अर्को धर्मले प्रतिस्थापन गर्न खोजिएको बुझिन्छ, जुन सेक्युलरिटीको चार मान्यताअनुसार छैन।
कार्ल मार्क्सका लागि साम्यवाद एक किसिमको धर्म नै हुन जान्छ, जुन रुसमा स्टालिनवादको रूपमा देखियो, चीनमा माओवादका रूपमा देखियो। उत्तर कोरियामा जुछे विचारको रूपमा देखियो। आखिर धर्म पनि एक विचारधारा नै हो। कुनै विचारधारामा प्रश्न उठाउन पाइँदैन भन्नासाथ त त्यो पवित्र हुन गयो, धर्म हुन गयो। प्रोफानिटी (धर्मनिन्दा) को सट्टामा मार्क्सवादमा 'वर्गसत्रु' आयो। एक किसिममा यो आफैँमा धर्मको उत्पादन थियो।
त्यसो हुँदा कार्ल मार्क्स सेक्युलरिजमको कुरा गर्दैनन्। उनी धर्मको आलोचना मात्रै गर्छन्। तर रसियन क्रान्तिमा चाहिँ सेक्युलरिजम् देखिन्छ, सायद लेनिनवादलाई स्टालिनवादले प्रतिस्थापन नगरेको भए। लेनिन कतिपय अर्थमा मार्क्सको प्रगतिवादी व्याख्यालाई प्रस्तुत गर्छन्। उनी संघीयता स्विकार्छन्। बहुसंस्कृतिबेगर बहुराष्ट्रिय साम्यवाद र अन्तर्राष्ट्रिय सभ्यताको निर्माण सम्भव छैन भन्छन्। लेनिन धर्मको विरोध गर्छन्, तर साम्यवाद नै धर्म हो र बाँकी वर्गसत्रु हुन् भन्ने मान्न भने उनी तयार छैनन्।
सँगसँगै, सेक्युलर पनि होइन, लेसिते पनि होइन, धार्मिक स्वतन्त्रताको कुरा गर्ने अर्को अवधारणा आउँछ, जुन अमेरिकामा अल्लि देखिन्छ। जबकि अमेरिकामा रंगभेद र दासताका आफ्नै समस्या छन्। धर्मनिरपेक्षताभन्दा पनि धार्मिक स्वतन्त्रताको कुरा अर्थात् कानूनले धर्महरूबीच विभेद गर्न पाउँदैन र व्यक्तिलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता हुन्छ। यतिका लागि सेक्युलरिजमको चार खुट्टामै जानुपर्छ भन्ने छैन।
यसलाई भारतको स्वतन्त्र आन्दोलनताका लगभग सबैले स्वीकार गरे। गान्धीले भन्ने गरेको सर्वधर्म, समभाव हो त्यो। भारतीय संविधानको मूल अंग्रेजीको हो। त्यसको अनुवादचाहिँ हिन्दी छ। दुई वटाको बीचमा विवाद उत्पन्न भएमा त्यहाँको सर्वोच्च न्यायालयले अंग्रेजीलाई प्रमुख मानेर व्याख्या गर्ने भन्ने प्रावधान छ।
अंग्रेजी सेक्युलरिजमको हिन्दी अनुवाद गर्दा धर्मनिरपेक्षता राखियो। तर गान्धीलाई धर्मनिरपेक्षताको अवधारणा नै मन परेको थिएन। उनलाई त सेक्युलर भनेको पनि मन परेको थिएन। उनी भन्थे, 'जसले धर्म र राजनीति फरक हुनुपर्छ भन्छन्, तिनले न धर्म बुझेका छन्, न राजनीति बुझेका छन्।' समाजलाई संगठित गर्ने यी दुई वटा समानान्तर बाटा/पाङ्ग्रा हुन्। एउटा पाङ्ग्रा हटाउनासाथ समाजको रथ अघि जाँदैन, अड्कन्छ।
गान्धी भन्थे, 'मानव समाजमा कुनै न कुनै किसिमको असमानता सधैँ रहनेछ। असमानता रहनेछ भने असन्तुष्टि पनि रहनेछ। यदि सबै असन्तुष्टिको उपाय क्रान्ति खोज्ने हो भने सधैँ क्रान्ति भइरहनेछ। समाजमा शान्ति कहिल्यै आउने छैन। शान्तिलाई कायम गर्नका निम्ति केही न केही व्यक्ति एउटा कुनै सत्ता छ, जुन पारलौकिक छ।' गान्धीले सन् १९३४ मा बिहार–नेपालमा भुईँचालो जाँदा भने– ‘यो मान्छेहरूले आफन्त मान्छेलाई नै अछुत व्यवहार गरेको हुँदा ईश्वरले त्यसबापत सजाय दिएका हुन्।'
ईश्वरलाई उनले सजाय दिने सत्ताको रूपमा व्याख्या गर्छन्। धर्मनिरपेक्ष भन्ने शब्द जवाहरलाल नेहरूलाई पनि मन परेको थिएन। उनी भन्ने गर्थे, 'भारतमा सेकुलर भन्ने कुरा गर्ने हो र? सेक्युलरका लागि हिन्दीमा शब्द नै छैन। कहाँबाट ल्याएर धर्मनिरपेक्ष भनिदिएको छ। धर्मनिरपेक्ष पनि कोही हुन सक्छ? किनभने संविधानवाद पनि एक किसिमको धर्म हो। संविधानलाई मान्ने हो भने त्यो नै धर्म हो।' हुनुपर्ने के हो भने रिलिजियस मोरालिटी (धार्मिक नैतिकता) बाट संवैधानिक नैतिकतातिर जानुपर्छ, जुन पछि भारतको सर्वोच्च न्यायालयले व्याख्या पनि गर्यो।
मैले शुरूमै भने, नेपाल धर्मनिरपेक्ष छैन। किन छैन? किनभने धर्मनिरपेक्ष हुन गाह्रो छ। यो सेक्युलरभन्दा पनि एकदमै अगाडिको अवस्था हो। सबै व्यक्ति यति सचेत छन् कि आफ्नो अधिकार, कर्तव्य, अरूको अधिकार र कर्तव्यप्रति सबैमा जानकारी छ। सबै एकअर्काको अधिकार र कर्तव्यको सम्मान गर्छन्। आर्थिक, सामाजिक र सांस्कृतिक असमानता छैन। त्यस्तो समाज भयो भने धर्मनिरपेक्ष सम्भव हुन्छ। नेपालको संविधानमा भारतको हिन्दीको धर्मनिरपेक्षको नक्कल गरेर लेखेको भए पनि नेपालको संविधान धर्मनिरपेक्ष छैन।
किन छैन? किनभने संविधानमै सनातनलाई निरन्तरता दिन भनिएको छ। एकल भाषाको प्रभुत्व स्वीकार गरिएको छ। एक किसिमले एकल संस्कृतिको प्रभुत्व स्वीकार गरिएको छ। एउटा जनावरलाई पूजा गर्ने भनिएको छ। स्वेच्छाले पनि धर्म परिवर्तन गर्न पाइँदैन। मेरो आस्था हो, म जेसुकै मानौँ। राज्यलाई त्यसमा के लिनु दिनु छ र? तर, हैन। त्यसो पनि गर्न पाइँदैन। धर्मनिरपेक्षको कुरा छाडिदिऊँ, नेपालको संविधान सेक्युलर पनि छैन। यो सेक्युलर पनि छैन भने निकट भविष्यमा धर्मनिरपेक्ष बन्न सक्ने सम्भावना एकदमै न्यून देखियो। कुनै सुदूर भविष्यमा होला। तत्कालका लागि यदि यसलाई सेक्युलर बनाउने हो भने सेक्युलरका लागि हाम्रो शब्द के हुन सक्छ त? त्यो शब्दको खोजी गरौँ।
झन्डैझन्डै गौतम बुद्ध र महावीर जैनकै समकक्षी चार्वाकको एकै सिद्धान्त छ। कसैले चार्वाक ऋषि नै थिए भन्छन्। कसैकसैले बृहस्पति भन्ने ऋषिले लेखेको दर्शनलाई चार्वाक सिद्धान्त या दर्शन भन्छन्। कसैकसैले त्यो त वात्सायनको सिर्जना हो भन्छन्। चार्वाकलाई नास्तिक र विधर्मी भनियो। यिनका सबै पुस्तक जलाइयो। जब आदि शंकराचार्यपछि वैदिक र वेदान्त धर्मको पुनरुत्थान भयो, हिन्दु पुनर्जागरणको बेला तिनका पुस्तक जलाइएका हुन्। तिनका सिद्धान्त केमा देखिन्छ? आलोचनामा देखिन्छ। बुद्ध र जैनका किताब र पुराणमा समेत आलोचना छ। हिन्दु व्याख्याताहरूको पनि आलोचना छ।
हरेक धर्म– चाहे इस्लाम होस्, क्रिश्चियानिटी, बुद्ध वा हिन्दुमा दुईतीन वटा कुरामध्ये एउटा कुनै हुनुपर्छ। इहलोक र परलोकको कुरा वा स्वर्ग अथवा नर्कको अवधारणा। त्यसलाई भूलोक र स्वर्गलोक भन्न सकिन्छ। हिन्दु धर्ममा एउटा सृष्टिकर्ता ब्रह्मा छन्। क्रिश्चियानिटीमा ईश्वरको सन्तानको रूपमा इसामसिह छन्। पैगम्बर छन् इस्लाममा। तर, चार्वाक दर्शनवालाहरू न स्वर्गमा विश्वास गर्छन्, न नर्कमा। आत्मा परमात्मामा पनि विश्वास गर्दैनन्। पञ्चमहाभूतमध्ये आकाशमा पनि विश्वास गर्दैनन्। पृथ्वी, जल, तेज र वायुमा विश्वास गर्छन्, आकाशमा विश्वास गर्दैनन्। यसलाई हेर्ने हो भने लौकिकता यही संसारमा प्रकट हुन्छ। सार्वजनिक नैतिकता प्रदर्शन गरेर हामीले शान्त रूपले आफ्ना समस्याहरूको समाधान लोकतान्त्रिक प्रक्रियाबाट गर्न सकौँ। लोकसम्मतिबाट गर्न सकौँ। लोकायत यदि उद्देश्य बनाउने हो भने लोक र लोकतन्त्र बलियो हुँदै जान्छ।
बिहीबार बृहत् नागरिक आन्दोलनले आयोजना गरेको 'लोक, लोकतन्त्र र लौकिकता (धर्मनिरपेक्षता बहस)' मा राजनीतिक विश्लेषक सीके लालले व्यक्त गरेको धारणाको सम्पादित अंश।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
